संसद्मा भारी बहुमत छ, कांग्रेससँगको सहकार्य ०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कांग्रेस एमालेको समीकरण ०८४ को चुनावसम्म जाने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरु मिलेर सरकार बनाएको बताए।

उनले भने, ‘विपक्षमा रहेका दलहरुलाई स्थिरता कति अप्रिय लागेको हो ? प्रमुख दल कांग्रेस र एमाले मात्रैको संसद्मा भारी बहुमत छ, त्यसमाथि अन्य दलहरु समेत यस सरकारमा सहभागि छन्। सरकार बनाउने संसद्को गणितले हो। बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटिरहनेजस्तो अस्थिरताको यो पक्षपोषण केका लागि? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन, र हुन सक्दैन । म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ ।’

लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोगेको स्मरण गर्दै यो प्रणाली ज्यान सरह प्रिय रहेको पनि बताए। उनले थपे, ‘अङ्ग्रेजी साहित्यमा एउटा प्रसिद्ध कथा छ– सोलोमनको न्याय ! दुई महिलाले एउटै बच्चालाई आफ्नो छोरो भएको दाबी गर्छन् । दावी–प्रतिदावीबाट हैरान सोलोमनले सबैलाई अचम्मित पार्ने फैसला सुनाउँछन्– यो बच्चालाई ठाडो चिरेर दुवै महिलाहरुलाई आधा–आधा दिनू ! तीमध्ये एउटी महिला आधा भए पनि ठीकै छ भन्छिन्, तर अर्की आत्तिँदै र रुँदै भन्छिन्, ‘भो ! मलाई चाहिएन । बच्चा उसैलाई देऊ, तर मर्न नदेऊ !’ त्यसपछि न्यायमूर्ति सोलोमनले तिनै महिला साँचो आमा भएको थाहा पाउँछन् र बच्चा उसैलाई दिन्छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *