डिंगरनगर दूरगामी सहकारी प्रकरणः राजनीतिक दवावमा अध्यक्ष र सचिवलाई संरक्षण गरिएको बचतकर्ताको आरोप

रुपन्देही। रुपन्देहीको तिलोत्तमा ३ शान्तिचोकस्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारीमा अध्यक्ष र सचिवले व्यवस्थापकलाई साढे ७ करोड बढी रकममा तमसुक गराएको खुलेको छ ।

बचतकर्ताको करोडौँ रकम अपचलन रहेको यो सहकारीको विवाद आन्तरिक रुपमा मिलाउन अध्यक्ष र सचिवले व्यवस्थापकलाई साढे ९ करोड रकम अपचलन गरेको तमसुक बनाए पनि स्वतन्त्र लेखा परीक्षणबाट उनले अपचलन गरेको १ करोड ८७ लाख मात्रै खुलेको छ ।

प्रहरीले सहकारीको रकम अपचलनका विषयमा गठित स्वतन्त्र लेखा परीक्षकले तयार पारेको लेखा परीक्षक प्रतिवेदनको अध्ययनमा छ ।
यसको समन्वय गरेका मीनराज भारद्वाजका अनुसार यो प्रतिवेदनका आधारमा १३ करोड ८ लाख २८ हजार ८३१ रुपैयाँ रकम हिसाबमा नदेखिएकोमध्ये १ करोड ८७ लाख व्यवस्थापक वसन्त पराजुलीको नाममा र अरू बाँकी अध्यक्ष र सचिवको नाममा खर्च भएको देखिएको हो ।
अहिले व्यवस्थापक पराजुली दैनिक जमानीमा छुटेका छन् ।

उनले अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्रीले आफूलाई जबरजस्ती कागजमा हस्ताक्षर गराएको दाबी गर्दछन् । ‘सहकारी चलाउनुपर्ने, केही हुँदैन यसमा हस्ताक्षर गरेपछि हामी धितो राखेर रकम खोज्छौँ भनेपछि मैले गरेको हुँ तर उहाँहरूले त्यही कागज सार्वजनिक गरेर फरार हुनुभयो, मेरो तीन करोडको घर धितो छ मैले १ करोड ८७ लाख तिर्न छ, अनि मेरो बदनामी किन भयो ? त्यो त लेखा परीक्षणको कागजले नै बोलेको छ’ उनले नेपाल प्रेससँग भने ।

पराजुलीले आफ्नै भिनाजु रहेका सहकारीका उपाध्यक्ष बलाराम न्यौपाने र कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले अध्यक्ष र सचिवका कमजोरीमा साथ दिएर यो समस्या आएको र आफूलाई फसाइएको आरोप लगाएका छन् ।

‘मेरो आफ्नै भिनाजु हो उपाध्यक्ष तर यसरी मलाई फसाउनुभयो, मैले बाध्य भएर सबै विषय भन्दै छु’ उनले भने । पराजुलीले सहकारीका अध्यक्ष र सचिव ठूला पार्टीको नेताकै संरक्षण रहेकाले पक्रा नपरेको आरोप लगाउँदै सहकारीको समस्या समाधान गर्न सञ्चालक समिति सबै यसको जबाफदेही हुनुपर्ने जनाएका छन् ।

अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध किटानी जाहेरी

दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध सहकारी ठगीको आरोपमा किटानी जाहेरी परेको छ ।
सहकारीका बचतकर्ताहरूद्वारा गठित छानबिन व्यवस्थापन र समन्वय समितिको तर्फबाट इलाका प्रहरी कार्यालय बुटवलमा तीन जनाविरुद्ध किटानी जाहेरी परेको हो ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुलीविरुद्ध किटानी जाहेरी परेपछि अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

‘अनुसन्धान अगाडि बढेको छ, अनुसन्धान टुङ्गिएपछि अभियोजन गर्छौँ’–डिएसपी रानाले भने । यसअघि पनि बचतकर्ताले उनीहरुविरुद्ध छानविनको माग गर्दै उजुरी दिएका थिए ।

अहिलेको उजुरी सहकारी ठगीमा आएकाले अब यसै अनुसार कारबाही अगाडि बढाइने उनले बताए । व्यवस्थापक वसन्त पराजुली तीन साता प्रहरीको हिरासत बसेर दैनिक हाजिरीमा छुटिसकेका छन् भने अध्यक्ष र सचिवविरुद्ध पनि रुपन्देही जिल्ला अदालतले दुई साताअघि नै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरू अहिलेसम्म पक्राउ नपर्दा बचतकर्ताले राजनीतिक संरक्षणको आशङ्का गरेका छन् ।

‘करोडौँ रकम ठगी हुँदा पनि पक्राउ गरेर अनुसन्धानमा नल्याइनु राजनीतिक संरक्षण नभै अरू होइन, दलीय आडमा सहकारी ठगी गर्नेलाई जोगाउने षडयन्त्र भइरहेको छ’–समन्वय समितिका एक जना सदस्यले भने । सहकारीका अध्यक्ष तिवारीसहित अधिकांश स्थानीय काँग्रेस नेता हुन् । काँग्रेस नेता भएकैले जोगाउने षडयन्त्र गरिएको बचतकर्ताको आरोप छ ।

उक्त सहकारीबाट १३ करोड ८ लाख हिनामिना र २५ करोड रुपैयाँ अपचलन भएको पुष्टि भएको छ । त्यस्तै सहकारीमा नीतिगत अपचलन भने करिब ८५ करोड भएको अडिट रिपोर्टले देखिएको छ । सहकारीमा अपचलन भएपछि यसको सत्य तथ्य पत्ता लगाउन ७ जना स्वतन्त्र लेखा परीक्षकहरु खटिएका थिए । उनीहरूले अन्तिम रिपोर्ट तयार गर्दै छानबिन विशेष समितिलाई बुझाएको दुई साता नाघिसकेको छ । समितिले उक्त अडिट रिपोर्ट सोही दिन प्रदेश सहकारी रजिस्टार कार्यालयमा बुझाएको थियो ।

अडिट रिपोर्टअनुसार सहकारीले विभिन्न व्यक्तिका नाममा ३४ करोड ७ लाख ५५ हजार ८१४ रुपैयाँ गैर कानुनी ऋण प्रवाह गर्दा ९ करोड २८ लाख ३० हजार बराबरको मात्र धितो राखेको छ । यस हिसाबले सहकारीको कुल ऋणमध्ये २१ करोड ७४ लाख ६६ हजार ५४९ रुपैयाँ जोखिममा छ ।

त्यस्तै सञ्चालक समितिले ८ करोड २७ लाख ३१ हजार ४७६ रुपैयाँ अनियमितता गरेको र उक्त रकम समितिले जिम्मा लिनुपर्ने सुझाव पनि अडिट रिपोर्टमा दिइएको छ । सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री लामो समयदेखि फरार रहेकाले बचतकर्ताहरू अन्यौलमा परेका छन् । उनीहरूले आफूहरूको बचत फिर्ता गर्न माग गर्दै दिनहुँ बैठक र छलफल गरिरहेका छन् ।

कहाँ लगे यति ठूलो रकम 

सहकारीको रकम अध्यक्ष तिवारीले घडेरी, होटेल तथा चुनढुङ्गा खानीमा लगानी गरेको पाइएको छ । उनले तिलोत्तमाको जानकी नगरमा होटेल एचके र जोगिकुटी चोकमा घर खरिद गरेका छन् भने सहकारीको रकमबाटै उनी र सचिव रामबहादुर थापा मिलेर ढुंगाखानी खरिद गरेको व्यवस्थापक पराजुलीले बताएका छन् । यो केही प्रतिवेदनले पनि देखाएको छ ।

अध्यक्ष तिवारीले संस्थाको झन्डै ६ देखि ८ करोड र सचिव थापाले ३ करोडभन्दा बढी रकम अपचलन गरेको भेटिएको छ । यो उनीहरू भेटिएपछि कुन रकम कुनले चलाएको भन्ने पुष्टि हुनेछ । त्यस्तै, सहकारीको कार्यसमिति सदस्य सनत गौतमले १ करोड २५ लाखभन्दा बढी रकम अपचलन गरेको भेटिएको छ ।

माइन्यूट नै च्यातेर फरार भएपछि उनीहरूले अरू रकम पनि हिनामिना हुने सक्ने आशङ्का बढेको सहकारी सदस्यहरू बताउँछन् । लेखा परीक्षकले दिने अन्तिम रिपोर्टपछि मात्र कति हिनामिना भएको यकिन हुने सहकारीका कोषाध्यक्ष सुरेन्द्र बज्राचार्यले बताए ।

सहकारी ऐन, निर्देशन तथा मापदण्डअनुसार सहकारीका सञ्चालकले बचत रकमको पाँच गुणा वा बढीमा पाँच लाखमध्ये जुन कम हुन्छ सो बराबरको रकम मात्र बिना धितो ऋण लिन सक्छन् । यसरी बिना धितो कर्जा प्रवाह गर्दा कम्तीमा दुई जना सदस्यहरूको जमानी लिनुपर्ने व्यवस्था छ ।

तर, यो सहकारीमा ऐन विपरीत बचत अपचलन भएको छ । सहकारीका व्यवस्थापक, अध्यक्ष र सचिवले सहकारीको सफ्टवेयरमा नै मिलाएर आफूखुसी बचतकर्ताको रकम दुरुपयोग गर्ने गरेको भेटिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *