काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा. रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्।
मंगलबार अमेरिका पुगेका काेइरालाले आज सामाजिक सञ्जाल एक्समार्फत राजीनामा पत्र सार्वजनिक गर्दै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको घाेषणा गरेका हुन् ।
उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा २५ वर्षदेखि कार्यरत थिए ।
‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले राजीनामा पत्रमा लेखेका छन् ।
उनले अमेरिका पुगेकाे फाेटाे सार्वजनिक गर्दै ‘देश, पेशा, जीवन र भूमिका:अब सब फरक’ भन्दै लेखेका छन् ।
उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्तिका लागि आवेदन दिएका थिए । सर्टलिस्टमा समेत परेका कोइराला र बिक्रम श्रेष्ठ मध्ये कांग्रेस संस्थापनले श्रेष्ठलाई रोजेपछि उनले नियुक्ति पाएनन् । श्रेष्ठ मंगलवार नियुक्त भएगत्तै बुधवार कोइरालाले राजीनामा गरेका हुन् ।


Leave a Reply