मापदण्ड मिचेर एसपी र डीएसपीको सरुवा, ११ कार्यालय प्रमुख हुँदा एकमात्र महिला

काठमाडौं । प्रहरी कर्मचारीको सरुवा र बढुवालाई व्यवस्थित गर्ने अवधारणाअन्तर्गत विभिन्न कार्यविधि र मापदण्ड बनेका छन् । तर, जहाँबाट मापदण्ड तोकियो, त्यहीँबाट उल्लंघन हुने क्रम जारी छ । मङ्गलवार प्रहरीका ९ एसपी र ४१ डीएसपीको हेरफेर हुँदा दुवै दर्जामा त्यस्तो त्रुटि भेटिएको छ ।

सरुवा मापदण्डले कुनै पनि ‘क’ श्रेणीको कार्यालय प्रमुख भएको अधिकृत त्यही दर्जामा फेरि सोही श्रेणीको कार्यालय प्रमुख हुने कुरालाई वर्जित गरेको छ । त्यसमाथि एक कार्यालय प्रमुखबाट लगत्तै अर्को कार्यालय प्रमुखका रूपमा सरुवा हुने कुरा पनि रोकिएको छ । तर, यी दुवै मापदण्ड मिचेर एकजना एसपी लाभान्वित भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी गणको कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका एसपी सरोज पौडेल मङ्गलवारको बढुवामा जिल्ला प्रहरी कार्यालय, बर्दियाको प्रमुखमा सरुवा भएका छन् । उनी एसपी दर्जामै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीको कार्यालय प्रमुख रहिसकेका थिए । उक्त कार्यालय ‘क’ श्रेणीको हो । अहिले सरुवा भएको जिल्ला प्रहरी कार्यालय, बर्दिया पनि सोही श्रेणीको हो ।

डीएसपी दर्जाको सरुवामा पनि त्यस्तै भएको छ । वैशाख १० को सरुवामा जिल्ला प्रहरी कार्यालय, डोल्पाको कार्यालय प्रमुखका रूपमा सरुवा भएका डीएसपी डा। हेमबहादुर केसी मङ्गलवारको सरुवामा जिल्ला प्रहरी कार्यालय, सल्यानको प्रमुखका रूपमा पुगेका छन् । यी दुवै सरुवाले नेपाल प्रहरीले अवलम्बन गरेको सरुवासम्बन्धी मापदण्डको दोहोरो उल्लंघन गरेको छ ।

सरुवा भएको सामान्यतया एक वर्षमा कसैको सरुवा नहुने व्यवस्था विपरीत उनी चार महिनामै अर्को जिल्लाको कार्यालय प्रमुखमै सरुवा भएका छन् ।

वैशाखको सरुवामा डोल्पा गएका डीएसपी डा. केसी हाजिर भएको एक हप्तामै विवादमा मुछिएका थिए । उनले त्यहाँ कार्यरत एक जुनियर अधिकृतविरुद्ध जातीय विभेदको व्यवहार गर्दा उनी छानबिनका निम्ति प्रधान कार्यालय तानिए । छानबिनपछि फेरि त्यहीँ पठाइए । उनैलाई अहिले अवधि नपुगी अर्को जिल्लामा कार्यालय प्रमुखका रूपमा सरुवा गरिएको छ ।

डोल्पामा कर्णाली प्रदेशका डीआईजीको सचिवालयबाट अर्का डीएसपी रुकबहादुर खड्का सरुवा भएका छन् ।

डा. केसीलाई डोल्पा जानासाथ काण्ड लागेपछि फेरि उनी त्यहाँ हाजिर त भए । तर, मातहतका कर्मचारीसँग सुमधुर सम्बन्ध बनाउन नसक्दा काजमा लुम्बिनी प्रदेशअन्तर्गतको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, बर्दघाट सुस्ता पश्चिम, नवलपरासीस्थित रामनगर, जर्गाहमा काजमा बसे । त्यहीँबाट अर्को काजमा सल्यान पुगेका उनका लागि मङ्गलवारको सरुवामा दरबन्दी मिलान गरिएको हो ।

सरुवा भएका ९ मध्ये ४ जिल्लामा प्रहरी नेतृत्व फेरिएको छ । त्यसमध्ये तनहुँमा टेकबहादुर कार्की क्षेत्री, धादिङमा भेषराज रिजाल, उदयपुरमा राजन चापागाईं र बर्दियामा पौडेल सरुवा भएका हुन् ।

तनहुँमा रहेका एसपी वीरेन्द्रबहादुर शाही भोटाहिटीस्थित साइबर ब्युरोमा भएका छन् । धादिङका एसपी दीपेन्द्र शाही बढुवा भएर एसएसपी भएपछि रिक्त हुँदा रिजाल गएका हुन् । उदयपुरमा रहेका एसपी हरिहरनाथ योगी सरुवा भएर हेडक्वार्टर जाने भएपछि त्यहाँ चापागाईं पठाइएका छन् । बर्दियामा रहेका केदार खनाल पनि एसएसपीमा बढुवा हुँदा पौडेल पठाइएका हुन् ।

४१ डीएसपीको सरुवा हुँदा ७ जना कार्यालय प्रमुख हेरफेर भएका छन् । त्यसमध्ये ५ जिल्लामा कार्यालय प्रमुख हुने डीएसपी हेरफेर भएका छन् । सरुवामा कार्यालय प्रमुख हुने डीएसपीमध्ये सबभन्दा आकर्षक मानिने पोखरास्थित वडा प्रहरी कार्यालय, बैदाममा नमराज भट्टराई गएका छन् । उक्त कार्यालयले अत्यधिक पर्यटक आवतजावत हुने पोखराको ड्यामसाइड, लेकसाइडदेखि पार्दीसम्मको क्षेत्रलाई सुरक्षा दिन्छ ।

राजमार्गमा पर्ने कारण आकर्षक मानिने रौतहटस्थित इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरमा रुपा लाबुङ सरुवा भएकी छन् । त्यहाँका डीएसपी राजकुमार राई प्रधान कार्यालय जाँदैछन् ।

अर्को आकर्षक मानिने काठमाडौंस्थित प्रहरी बृत्त, सिंहदरबार (अनामनगर) मा प्रल्हाद कार्कीको दरबन्दी कायम भएको छ । उक्त दरबन्दीमा रहेका डीएसपी गंगाप्रसाद पौडेल केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) मा कार्यरत छन् ।

डीएसपी दर्जाका जिल्ला प्रहरी प्रमुखमध्ये डोल्पामा खड्का, सल्यानमा डा. केसीसहित अछाममा ओमप्रकाश खनाल, खोटाङमा प्रकाश बुढाथोकी र भोजपुरमा राजु लामा सरुवा भएका छन् ।

तेलको कुपन विवादका कारण बारास्थित इलाका प्रहरी कार्यालय सिमराबाट तानिएकी डीएसपी शुभद्रा लामा वाइवाको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दरबन्दी कायम भएको छ । उनी एकमात्र महिला प्रमुख हुन् । उनको सट्टामा सिमरामा खटाइएका डीएसपी बेदप्रकाश जोशी अहिले पनि काजमा त्यहीँ रहने गरी काभ्रेस्थित बागमती प्रदेश प्रहरी कार्यालयमा दरबन्दी कायम गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *