काठमाडौं । आफ्नै पार्टीका सांसदहरूले साथ नदिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले राप्रपालाई फकाउन थालेका छन्।
निवर्तमान मुख्यमन्त्री बहादुर लामा पक्षले आफ्नो अडान नछाडेपछि मुख्यमन्त्री बानियाँले बैकल्पिक रणनीति स्वरूप राप्रपालाई फकाउन थालेका हुन्।
लामासहित कांग्रेसका १४ सांसद यति बेला काठमाडौंमै छन्। उनीहरू मुख्यमन्त्री बानियाँको सम्पर्कमा छैनन्। लामाले आफू मुख्यमन्त्री हुँदा नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउनुपर्ने अडान राखेका छन्।
लामाले साउन १४ गते गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए। सभापति शेरबहादुर देउवाले निर्देशन दिँदा पनि माग सम्बोधन नभएको भन्दै लामा समूह गलेनन्।
स्रोतले भन्यो, ‘मुख्यमन्त्री आज विश्वासको मत लिनबाट रोकिनुहुन्न। उहाँहरू विकल्पमा सोचिराख्नुभएको छ। राप्रपासँग पनि कुरा भइरहेको छ।’
मुख्यमन्त्रीको प्रस्तावपछि अहिले राप्रपाको संसदीय दलको बैठक बसिरहेको छ। बैठकले बानियाँको पक्षमा मत दिने निर्णय गरे बहादुर पक्षका १४ सांसदबिना नै बहुमत पुग्छ।
राप्रपा स्रोतका अनुसार दलको बैठकले समर्थन गर्ने सम्भावना कम छ।
स्रोतले भन्यो, ‘कांग्रेस सभापति देउवा र अध्यक्ष राजेन्द्र लिङ्देनकै तहमा छलफल भयो भने अर्काे निर्णय हुनसक्ला। तर यथास्थितिमा समर्थन गर्ने सम्भावना न्यून छ।’
प्रदेशसभामा एमालेका २७ र कांग्रेसका ३७ गरी ६४ सांसदको समर्थनमा बानियाँ मुख्यमन्त्री बनेका थिए। प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादीका २१, राप्रपाका १३ (सभामुख सहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्। बानियाँलाई कांग्रेसका १४ सांसदकाे अनुपस्थितमा बहुमत पुर्याउन थप ५ सांसद आवश्यक पर्छ ।

Leave a Reply