काठमाडौं । सामाजिक सञ्जालमा चर्चित झाँक्री प्रकाश भुजेलले एकाएक आफूलाई ‘डाक्टर’ घोषणा गरेका छन् । नपत्याए उनको फेसबुकमा हेर्नुस् ।
झाँक्रीले केही तस्बिरहरु फेसबुकमा पोस्ट गर्दै हिजो आफ्नो नामअघि डा. थपे । उनले पोस्ट गरेका तस्बिरहरु भारतका विभिन्न संस्थाले दिएका सम्मानहरुसँग सम्बन्धित छन् ।
त्यसमध्ये ‘इन्स्टिच्युट अफ इन्टरप्रिनरसीप एन्ड म्यानेजमेन्ट स्टडिज’ नामको संस्थाबाट उनलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको रहेछ । त्यसको प्रमाणपत्र उनले फेसबुकमा हालेका छन् ।
प्रमाणपत्रमा भुजेललाई ‘परम्परागत उपचार तथा सामाजिक कार्य’ मा मानार्थ विद्यावारिधि उपाधि दिइएको उल्लेख छ । यो उपाधि उनले हिजै पाएका हुन् ।
यतिमात्र नभएर ‘नरेन्द्र मोदी विचार मञ्च’ नामक संस्थाले भुजेललाई विश्वशक्ति महारत्न अवार्ड समेत दिएको छ । अर्को एउटा संस्थाबाट अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार उनले पाएका छन् ।
यो उपाधि पाएर भुजेल निकै पुलकित छन् । यो अवार्ड आफूले मात्र नभएर सिंगो देशले पाएको र अब आफू एकदम जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ ।
‘आज जीवनकै अबिस्मरणिय दिन यो शिलालेखमा लेखेर राख्ने छु,’ उनले भनेका छन् । समाजका विभिन्न क्षेत्रमा योगदान दिएकाहरुलाई शैक्षिक संस्थाले मानार्थ विद्यावारिधि दिने चलिआएको अभ्यास हो ।
तर, मानार्थ विद्यावारिधि उपाधि पाउनेले नामअघि डा. लेख्नु चै नौलो हो । भुजेलले डा. लेखेपछि फेसबुकमा सयौंले बधाइ दिएका छन् । कतिपयले चाहिँ उनले हालेका प्रमाणपत्रहरु सक्कली भएकोमा शंका व्यक्त गरेका छन् ।


Leave a Reply