काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले अरु दल र नेतामाथि आरोप लगाउने रास्वपाका सबै नेताहरु भ्रष्टाचार र अनैतिकताको आहालमा डुबेको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद न्यौपानेले देशभर २८ हजार भन्दा बढी कैदी बन्दी जेलमा रहेकोमा एकजना रवि लामिछानेको लागि मात्र विलासिताको सुबिधा चाहियो भनेर मिडियाबाजी गरिएको बताइन् ।
सांसद न्यौपानेले रास्वपाका सभापति लामिछाने सहकारी ठगीमा जेलमा रहेको र आफ्नो भागको बिगो जमानी राखेर उनले ठगी स्वीकार गरेको आरोप समेत लगाइन् । उनले रास्वपाका नेताहरु नै भिजिट भिसा प्रकरणका मुख्य अभियुक्त रहेको र यो पार्टीको जन्म नै भिजिट भिसाबाट भएको दावी गरिन् ।
न्यौपानेले भनिन्–पार्टीका सभापति नै भिजिट भिसामा गएर नेपालको नागरिकता त्यागेका व्यक्ति । कार्यवाहक सभापति (डोलप्रसाद अर्याल) भिजिट भिसामा मान्छे पठाउने,ठग्ने अनि दोष अरुलाई दिन मिल्छ ? कतिपल्ट प्रश्न उठाउने ? म उहाँहरुको पार्टीका नेताहरुका पारिवारिक जीवनमा पनि जान चाहान्न तर सामाजिक संजालमा देखेकै हो मर्दै गरेको पत्रकारले रुँदै आफ्नो मृत्युवरणमा रवि लामिछानेलाई दोषी देखाएको छ । अर्कोतिर सोही पार्टीका नेता (सोविता गौतम) यदि बलात्कार कार्य गर्दा कुनै महिलालाई चोट लागेको छैन भने त्यो बलात्कार होइन भनेर सामाजिक संजलमा बोलेको छ । सोही पार्टीबाट उपसभामुख भएको व्यक्तिले आफूसँगै ६ जना व्यक्ति भिजिट भिसामा लैजान चाहेको कुरा बाहिर आएकै हो । उहाँहरुका सबै मान्छे यस्तै काण्ड गर्ने अनि दोष चाहिँ अरुमाथि लगाएर संसद बहिस्कार गर्ने कुरा लज्जास्पद छ ।

Leave a Reply