काठमाडौं । नेकपा एमाले बाह्रदशी गाउँपालिकाले सरकारका कार्यहरुको नागरिकस्तरसम्म प्रचार गर्ने अभियानमा जुटेको छ । यसै क्रममा सोमबार स्थानीय नेता–कार्यकर्ता र नागरिक समाजमा अन्तरक्रिया आयोजना गरिएको छ ।
सोमबार गाउँपालिकाको ज्येष्ठ नागरिक भवनमा आयोजित अन्तरक्रियामा एमालेका गाउँपालिका अध्यक्ष अनिल सापकोटाले सामाजिक सञ्जालको हल्लाभन्दा पनि यथार्थमा रहेर विश्लेषण गर्नुपर्ने बताए ।
उनले आफ्नै गाउँमा के कस्ता विकासका कार्य भइरहेका छन्, के कस्ता शीर्षकमा कसरी बजेट विनियोजन भइरहेका छन् भन्ने हेरेर मात्रै प्रस्तुत हुनुपर्ने बताए । उनले भर्खरै मात्रै गाउँपालिकाका विभिन्न बाटो निर्माणका लागि संघीय सरकारबाट बजेट विनियोजन भएको उदाहरण दिँदै भएका कामको प्रशंसा गर्न सक्नुपर्ने बताए । ‘आलोचनाको संस्कृतिबाट माथि उठेर गाउँ विकासमा लाग्नुपर्छ’, उनले भने, ‘यदि हिजो र आजको अवस्थालाई स्वतन्त्र भएर मूल्यांकन गर्ने हो भने गाउँ गाउँमा सिंहदरबारको अनुभूति हुन्छ ।’
नेकपा एमाले र सरकारका विरुद्ध फुर्सदिलाहरुले सामाजिक सञ्जालमा गरेको पोस्ट र कमेन्टले धरातलीय यथार्थ चित्रण गर्न नसक्ने सापकोटाको भनाइ थियो । यद्यपि केही कमजोरी भएको खण्डमा भने आवाज उठानउ भने पछि पर्न नहुने उनको भनाइ छ ।
उनका अनुसार पार्टी र सरकारका विरुद्धमा छरिएका भ्रम चिर्नलाई सर्वप्रथम नेताहरुबाट यथार्थ कुराहरु बुझ्न कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पार्टीका अगुवा कार्यकर्ताहरुले सरकारको आलोचनालाई सुझाव र जिज्ञासाको रुपमा लिनुपर्ने धारणा राखेका थिए ।
त्यस्तै, कार्यक्रममा के सरकारले रवि लामिछानेमाथि साँधेको हो ? गिरीबन्धु काण्ड के हो ? भिजिट भिषा प्रकरण तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले जानाजान नै अवरोध गरेको हो त जस्ता सबाललाई प्रष्ट पार्नुपर्ने पनि कार्यकर्ताहरुको आग्रह थियो ।
कार्यकर्ताको जिज्ञासालाई एमालेका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य हरि बहादुर राजवंशी, जिल्ला उपाध्यक्ष शिव ढुङगेलले पार्टीको नीति र विधिबारे प्रष्ट्याएका थिए ।
पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम बहादुर गिरीले अन्तरक्रियाको सहजीकरण गरेका थिए भने जिल्ला सचिव तुलसी कार्की, जिल्ला सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply