काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागमा गाभिएको कार्यक्रमको शुल्क घटाउनुपर्ने माग राखेर १९ दिनदेखि त्रिविको ढोकामा धर्ना दिइरहेका अखिल क्रान्तिकारीका विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।
सोमबार अपरान्ह साढे ४ बजेतिर धर्नामा रहेका विद्यार्थी त्रिवीका रेक्टरको कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले रोक्न खोजपछि झण्ड भएको अखिल (क्रान्तिकारी)ले जनाएको हो ।
झडपका क्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवम त्रिवि जिल्ला इञ्चार्ज ममता जोशी त्रिवी क्याम्पस जिल्ला सचिव सुरक्षा पहारी र आरआर क्याम्पस उपाध्यक्ष सुशिल नेपाली घाइते भएका अखिलका उपाध्यक्ष दिपा जैशीले नेपाल प्रेसलाई जानकारी दिइन् ।
उनका अनुसार आफूहरुले शान्तिपुर्ण धर्ना दिइरहेको र रेक्टरको कार्यालयमा जान खोज्दा प्रहरीले दमन गरेपछि झडपको अवस्था सृजना भएको हो । घाइतेलाई कीर्तिपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
उनका अनुसार झडपपछि अखिल (क्रान्तिकारी)का उपाध्यक्ष अटल आचार्य, उपमहासचिव एवम उपत्यका प्रदेश इन्चार्ज निरोज श्रेष्ठ, संगठनका सचिव युन्छोहाङ माबो लिम्बु र जितेन्द्र भण्डारी, केन्द्रीय सदस्य उमेश सेन्चुरी, त्रिवी क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारी, त्रिवि जिल्ला कार्यवाहक अध्यक्ष शिबराज भट्ट, प्रविन दाहाल, धर्ना आन्दोलनको संयोजक मनिष चौलागाई लगायत एक दर्जन विद्यार्थी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई नियन्त्रमा लिएर जिल्ला प्रहरी परिसरमा लगिएको उपाध्यक्ष जाेशीले जानकारी दिइन् ।


Leave a Reply