जलिरहेकाे शवबाट औँलाको टुप्पो निकालेकाे घाटेकाे बयान, किन्ने व्यक्ति खाेज्दै प्रहरी

काठमाडौं । पशुपति आर्यघाटमा गत शुक्रबार काभ्रे, बनेपा -९ का राम शाहीको जलाउँदा जलाउँदैको शवबाट मासु र हड्डी चोरिएको आरोपपछि दुई आरोपी प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएका छन् । उनीहरुले मासुको टुक्रा र खरानी दिइएका व्यक्तिको खोजीमा प्रहरी जुटेको छ ।

जलिरहेको शवबाट किन अंग झिकियो ? झिकिएको अंग कसलाई र किन दिइयो ? आइतबार नेपाल प्रेसले उक्त समाचार सम्प्रेषण गरेपछि यस्तो जिज्ञासामात्रै व्यापक बनेन, घटनाको अनुसन्धानका निम्ति जिल्ला प्रहरी परिसर, काठमाडौंका कार्यालय प्रमुख एसएसपी विश्व अधिकारी आफैँ प्रहरी वृत्त गौशाला पुगे । उनले आरोपीसँग दुई घण्टा कुराकानी गरेपछि उनीहरुबाट खरानी र मासुको टुक्रा लैजाने व्यक्तिको पहिचान नगरी घटनाको वास्तविकतामा पुग्न नसकिने निष्कर्षमा प्रहरी पुगेको छ ।

एसएसपी अधिकारीका अनुसार, पक्राउ परेका घाटे ब्राह्मण गणेश ढकाल र उनका सहयोगीले एक व्यक्तिलाई जलिरहेको शवबाट कान्छी औँलाको टुप्पोको सानो भाग र खरानी दिएको स्वीकार गरेका छन् ।

तर, ती व्यक्तिले ‘भगवानको पूजा गर्नुपर्ने’ भन्दै ४ सय रुपैयाँ दिएर खरानी र औँलाको टुप्पो मागेको उनीहरुले बताए । तर, कुन भगवानको पूजा गर्न मृत शरीरको अंग र खरानी चाहिन्छ ? यसबारे न घाटे ब्राहम्णले केही बताउन सकेका छन्, न त प्रहरीले नै कुनै अनुमान गर्न सकेको छ ।

‘४ सय रुपैयाँको लोभमा उनीहरुले मागेको चिज दिए, तर त्यो मान्छे उनीहरुले पनि चिनेका रहेनछन्’, अधिकारीले भने । विभिन्न किसिमका अनुसन्धान विधिबाट ती व्यक्तिको खोजीमा प्रहरी जुटेको उनले बताए ।

घाटे ब्राह्मण र उनका सहयोगीले सानो कपुरको बट्टामा हालेर ती व्यक्तिलाई औँलाको टुप्पोको अंग र खरानी दिएका हुन् । त्यो दृश्य शव जलिरहेको बेलामा मृतकका आफन्तले देखेका थिए । तर, उनीहरुले घाटे ब्राह्मणसँग सोध्ने बेलामा ती व्यक्ति हिँडिसकेका थिए । त्यसपछि दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । तर, नलीखुट्टा र मासु नै बेचेको भन्ने कुरा निराधार भएको उनले बताए ।

आइतबारसम्म सार्वजनिक बिदा भएका कारण आज उनीहरुविरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप गरिँदैछ ।

पशुपति आर्यघाटको व्यवस्थापन पशुपतिक्षेत्र विकास कोषले गर्छ । त्यहाँ खटिने सम्पूर्ण कर्मचारीको रेखदेख र नियन्त्रण पनि सोही कोषबाट हुन्छ । कोषका कोषाध्यक्ष नाारयणप्रसाद सुवेदीका अनुसार उक्त घटनाको वास्तविकता पत्ता लागेपछि जलाउन बाँकी र जलिरहेका शवको सुरक्षाबारे आवश्यक योजना बनाइने भएको छ ।

‘त्यस्तो कसरी भयो भनेर हामी पनि चकित परेका छौँ’, उनले भने ‘अब आउने शवको सुरक्षा र संवेदनशीलताबारे प्रहरीको अनुसन्धानबाट आउने निचोडपछि केही न केही योजना बनाउने छौँ ।’

घाटे ब्राह्मण काभ्रे, मण्डन देउपुरका ६१ वर्षीय गणेशप्रसाद ढकाल र उनका सहयोगी उदयपुर, कटारीका २४ वर्षीय विनायक मैनाली हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *