काठमाडौं । आगामी भदौ २० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को टिम मुख्य कलाकारबिनै प्रचारमा लागिपरेको छ । दयाहाङ राई, अर्पन थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, माओत्से गुरुङ, बुद्धि तामाङलगायत प्रमुख कलाकारबिनै ‘रिमै’ टिम प्रचारमा प्रचारमा होमिएको हो ।
गत शनिबार राजधानीमा आयोजित ३१ औं विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँमा सम्पन्न र्यालीमा चलचित्रको टिम ‘रिमै’ लेखिएको टिसर्ट लगाएर पुगेको थियो । रंगीन पोशाक, परम्परागत भेषभूषा र सांस्कृतिक झाँकीसहितको र्यालीमा सिनेमा ‘रिमै’ टिमले आफ्नो उपस्थितिलाई विशेष बनाएको थियो ।
प्रचारकै क्रममा निर्देशक खिलबहादुर गुरुङले चलचित्रमार्फत् आदिवासी समुदायको वास्तविक कथा, संस्कृति र चुनौतीलाई दर्शकसम्म पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
चलचित्रले प्रचार सुरु गरिसक्दा पनि चलचित्रको मूल अनुहार दयाहाङ राई लगायत कलाकारहरु उपस्थित नहुनुको पछाडि भने पारिश्रमिकको विवाद हो । ‘रिमै’को निर्माण टिमले प्राविधिकदेखि कलाकारसम्मको पारिश्रमिक पूर्ण रुपमा तिरिसकेको छैन । यही कारण दयाहाङ, पटकथा लेखक उपेन्द्र सुब्बा लगायतले चलचित्रको पोस्टर र टिजरसम्म सेयर गरेका छैनन् ।
चलचित्रका निर्माता वीरबल गुरुङले तिर्दै जाने, चाँडोभन्दा चाँडो तिरिसक्ने नेपालप्रेसलाई बताएका छन् । यता दयाहाङ भने निर्माताले प्राविधिक र कलाकारलाई तिर्न बाँकी रकम पूर्ण रुपमा नतिरेसम्म चलचित्रको प्रमोसनमा नलाग्ने, टिजर र पोस्टर सेयर नगर्ने अडान लिएर बसेका छन् ।
बरु दयाहाङ र उपेन्द्रले आज सार्वजनिक भएको ‘जारी २’को टिजर भटाभट सेयर गरेका छन् । ‘जारी २’को लेखक तथा निर्देशक उपेन्द्र हुन् भन् दयाहाङ र मिरुना मगर मु्ख्य भूमिकामा छन् । ‘जारी २’ असोज ३ गतेबाट प्रदर्शन हुँदैछ भने ‘रिमै’ भदौ २० गतेबाट । तर, मुख्य कलाकारले सर्त राखिदिँदा ‘रिमैको निर्माण टिमलाई अप्ठ्यारो परेको देखिन्छ ।
जतिचाँडो ‘रिमै’को निर्माण टिमले प्राविधिक र कलाकारको बाँकी पारिश्रमिक दिन्छ त्यति चाँडो आफू प्रचारमा लाग्ने दयाहाङको तर्क छ । यता निर्माता वीरबल पनि जतिसक्दो चाँडो सबै पैसा तिर्नलाई लागिपरेको बताउँछन् ।

Leave a Reply