अर्थ समिति बैठकमा सांसद श्रेष्ठ र सभापति चालिसेबीच चर्काचर्की

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठ र समितिका सभापति सन्तोष चालिसेबीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक’ माथिको दफावार छलफलका क्रममा चर्काचर्की परेको छ । सोमबार बसेको समितिको बैठकमा सांसद श्रेष्ठले विधेयकले सूचना प्रविधि (आइटी) क्षेत्रलाई पर्याप्त ध्यान नदिएको भन्दै प्रश्न उठाएपछि सुरु भएको बहस घोचपेचमा परिणत भएको हो ।

छलफलका क्रममा सांसद श्रेष्ठले आइटी क्षेत्रलाई विधेयकमा समेट्न माग गरेका थिए । उनको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री विष्णु पौडेलले विधेयकको सुरुवातमै ‘सूचना प्रविधि पार्क’ को अवधारणा समेटिएको र विधेयकले आइटी क्षेत्रलाई ध्यान दिएको दाबी गरे ।

उनले भने, ‘आइटीको कुरै भएन नि भन्नु भएको छ । आइटीको कुरा सुरुमै लेखिएको छ । सूचना प्रविधि पार्क भनिएको छ । यसले आइटीलाई ध्यान दिएन, यो विधेयक किन चाहियो भन्नु भन्दा पनि यसले ध्यान दिएको नै छ । माननीयज्यूले त्यहाँ आँखा लगाउनु होला ।’

बाहिरबाट स्रोत व्यवस्थापन गरेर पूर्वाधारका आयोजनाहरू निर्माण गर्ने र ती आयोजनाहरूले प्रतिफल दिनुपर्‍यो भन्ने नै उद्देश्य रहेको अर्थमन्त्रीले बताए । उनले पूर्वाधार निर्माण गर्न अप्ठ्यारो परिरहेको अवस्थामा यो विधेयक साँच्चै नै मुलुकको आर्थिक क्रान्तिमा ठूलो क्रान्ति गर्ने जिकिर गरे ।

अर्थमन्त्रीको जवाफपछि सभापति सन्तोष चालिसेले विषयलाई थप स्पष्ट पार्न खोजे । तर, उनको प्रस्तुतिमा सांसदहरूको अनुपस्थितिप्रतिको आक्रोश झल्किन्थ्यो ।

‘अस्ति दुई जना विज्ञसँग चार घण्टा छलफल गर्‍यौँ । माननीयज्यूहरू कोही पनि आउनुहुन्न । हामी ८–९ जना मात्रै थियौँ’ उनले भने, ‘यस विषयमा व्यापक छलफल भएर पीपीपी मोडलमा अगाडि लैजानका लागि निजी क्षेत्रको पैसा कहाँ खर्च गर्ने भन्ने कानून छ त ? वैकल्पिक उपाय खोज्नका लागि कोष खडा गर्न खोजिएको हो । यसमा व्यक्ति, निजी क्षेत्र, राज्य सबैले हाल्न पायो । यही कोषबाट बनाउन खोजौँ भनिएको हो । जसका लागि कानून खोल्न खोजिएको हो ।’

सभापति चालिसेले निजी क्षेत्रको लगानी परिचालन गर्न र वैकल्पिक उपाय खोज्न कोष स्थापना गर्न लागिएको बताए । ‘१८ खर्ब, २० खर्बको बजेटबाट राज्य चल्दैन । बाहिरबाट पैसा ल्याउनुपर्‍यो, त्यसलाई सञ्चालन गर्न कानून चाहियो’, सांसद श्रेष्ठतिर प्रश्न तेर्साउँदै उनले अगाडी भने, ‘१८ खर्बबाट देखाइदिनु त कहाँ कसरी खर्च गर्न सकिन्छ ? वैकल्पिक पैसा चाहियो ? त्यसका लागि कोष चाहियो, कोष बनाउनका लागि कानून चाहियो । सिधा कुरा यति हो । यसबारे जानकारी पाउन बैठकमा भाग लिनुपर्‍यो । यति ठूलो विधेयकबारे छलफल भइरहेको छ, बैठकमा ८ जना सहभागी हुन गाह्रो छ ।’

उनले बैठकमा उपस्थित भएर विषयबारे जानकारी लिन सांसदहरूलाई आग्रह गरे । सभापति चालिसेको टिप्पणीपछि आक्रोशित बनेका सांसद श्रेष्ठले आफूहरू कोरम नपुगेको अवस्थामा सहयोग गर्न आएको बताए । उनले सभापतिलाई अर्थमन्त्रीको जस्तो जवाफ नदिन आग्रह गर्दै भने, ‘पैसा मात्र भएर हुँदैन, त्यसअनुसारको सोच, बुद्धि र कानून पनि हुनुपर्‍यो । तपाईँ सभापति हो, अर्थमन्त्री भएर बोल्नु भएन ।’

आफूले विधेयकबारे स्पष्ट हुन पाउनुपर्ने अधिकारको रक्षा गर्दै श्रेष्ठले थपे, ‘समितिमा मैले बुझिनँ भन्दा ‘आएन’ भनेर घोचपेच गर्ने होइन ।’ आफू जनता र पार्टीलाई जबाफदेही हुनुपर्ने भएकाले विषयमा स्पष्ट हुनुपर्ने उनको तर्क छ । उनले छोटो समयमा बाटोमा विधेयक पढेर बैठकमा सहभागी भएको समेत बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *