तेस्रो सन्तानको पर्खाइमा रहेका दिपकलाई बज्रपातः ‘नर्मल डेलिभरी’ पछि पत्नी र बच्चाको मुत्यु

काठमाडौं । दैलेखमा स्वास्थ्य सेवा कार्यालयमा कार्यरत दीपककुमार नेपाली र उनकी पत्नी लक्ष्मीकुमारी नेपाली तेस्रो सन्तानको स्वागत गर्न आतुर थिए । सुरक्षित प्रसूतिको लागि उनीहरूले देशको प्रतिष्ठित निजामती कर्मचारी (सिभिल) अस्पताललाई रोजेका थिए, जहाँ लक्ष्मीले नियमित गर्भ परीक्षणसमेत गराउँदै आएकी थिइन् ।

असार २ गते अन्तिम गर्भजाँच भयो । असार १७ गते बच्चा जन्मिने मिति तोकिएको थियो । ३१ वर्षीया लक्ष्मी असार ९ गते अस्पताल आइन् । श्रीमान् दीपक कामको सिलसिलामा दैलेखमै थिए । उनले श्रीमतीको हेरचाहका लागि भाइ बुहारीलाई पठाएका थिए । असार ९ गते दिउँसो ३ बजे लक्ष्मी अस्पताल भर्ना भइन् ।

लक्ष्मी आफैँ हिँडेर अस्पताल पुगेकी थिइन् । उनी स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन । असार १० गते बिहान ७ बजेसम्म श्रीमान् दीपकसँग उनको फोनमा कुरा भइरहेको थियो । चिकित्सकले ‘अपरेसन गर्नु पर्दैन, नर्मल डेलिभरी हुन्छ’ भनेको सुनाएपछि दीपक ढुक्क थिए । तर, बिहान ८ बजे दीपकले खबर पाए, लक्ष्मीले नर्मल डेलिभरीबाट बच्चा जन्माइन् । उनको मन खुसीले उफ्रियो । तर, त्यो खुसीको आयु क्षणिक थियो । एक छिनमा अर्को फोन आयो, ‘लक्ष्मीलाई उच्च रक्तस्राव भयो ।’

दीपकले ‘बी नेगेटिभ’ जस्तो दुर्लभ समूह भएकाले समस्या पर्न सक्छ भनेर दुई पिन्ट रगत जम्मा गरिसकेका थिए । खबर पाउने बित्तिकै परिवारले थप चार पिन्ट रगत पनि जम्मा ग¥यो । डा।सिर्जना र डा. पुनमको टोली उपचारमा संलग्न थियो । १० गते करिब बिहान पौने ११ बजे डाक्टरले दीपकलाई फोनमा भने, ‘रक्तस्राव रोकिएन, पाठेघर नै अप्रेसन गरेर फाल्नुपर्छ, अनि मात्र ज्यान बच्छ ।’

‘जसरी हुन्छ ज्यान बचाइदिनुस्, जे गर्नुपर्छ गर्नुस्,’ दीपकले आँखाभरि आँसु पार्दै सहमति दिए । चिकित्सकले बच्चाको अवस्था पनि राम्रो नभएको, श्वासप्रश्वासमा समस्या रहेको बताए ।

दीपकको मनमा चिसो पस्यो, ‘अघिल्लो दिनसम्म सबै ठिकठाक थियो, आमा र बच्चा दुवै स्वस्थ थिए, एकै पटक कसरी यस्तो भयो ?’

त्यसपछि अचानक प्रहरीले आफन्तलाई फोन गरेर दीपककी श्रीमतीको अवस्था नाजुक रहेको जानकारी गराए ।

फेरि साढे १२ बजेतिर चिकित्सकले आफन्तलाई भने, ‘अप्रेसन सफल भयो, अहिले सबै ठिक छ ।’ तर, बिरामीसँग कसैलाई भेट्न दिइएन ।

दिउँसो ३–४ बजेतिर चिकित्सकले भने, ‘भोलि मात्र होस आउँछ ।’ तर, त्यो भोलि कहिल्यै आएन । साँझ ५ बजेपछि अस्पतालले लक्ष्मीको मृत्यु भएको खबर सुनायो ।

अस्पताल भन्छ- ‘एम्नियोटिक फ्लुइड एम्बोलिजम’ ले मृत्यु

दैलेखबाट प्लेनको टिकट काटेर रुँदै काठमाडौं एयरपोर्टमा झरेका दीपकले परिवारबाट श्रीमतीको मृत्युको खबर सुने । अस्पताल पुगेर चिकित्सकसँग भेट्दा उनीहरूले एउटै जवाफ दिए, ‘हामीले बचाउन सकेनौँ, उच्च रक्तस्रावले मृत्यु भयो ।’

घटनापछि अस्पताल प्रशासन, पीडित परिवार र सांसदसहितको उपस्थितिमा असार ११ गते दुई बुँदे सहमति भयो:

–अस्पतालले एक हप्ताभित्र घटनाको आन्तरिक छानबिन गरी प्रतिवेदन परिवारलाई बुझाउने ।

–जन्मेको बच्चाको सम्पूर्ण उपचार र मृतकका अन्य दुई छोरासहित तीनै सन्तानलाई १२ कक्षासम्म निःशुल्क आवासीय शिक्षाको लागि अस्पतालको विकास समितिमा प्रस्ताव लैजाने ।

अस्पतालले पछि छानबिन प्रतिवेदन परिवारलाई बुझायो । अस्पतालको केस रिपोर्टअनुसार: लक्ष्मीलाई गर्भावस्थामा देखिने चिनी रोग, नेगेटिभ रक्त समूह र बच्चा खेल्ने पानीको मात्रा बढी जस्ता जोखिम थिए । त्यसैले उनलाई निर्धारित समयभन्दा अगाडि नै बेथा लगाएर बच्चा जन्माउने निर्णय भएको थियो । बिहान सवा ८ बजे नर्मल डेलिभरी भयो । तर, त्यसपछि अत्यधिक रक्तस्राव र ‘सर्भिकल टियर’ देखियो ।

उपचारका क्रममा चिकित्सकले पाठेघर खुम्च्याउने औषधि दिने, पिसाबको पाइप राख्ने, रगत चढाउने सबै प्रक्रिया पूरा गरे । तर, रक्तस्राव नियन्त्रण नभएपछि पाठेघर फाल्ने अप्रेसन गरियो । यति गर्दा पनि बिरामीको अवस्था सुध्रिएन ।

अस्पतालको निष्कर्ष छ- लक्ष्मीको मृत्युको मुख्य कारण ‘एम्नियोटिक फ्लुइड एम्बोलिजम’ हो । यो एक दुर्लभ र ज्यादै खतरनाक अवस्था हो, जहाँ बच्चा खेल्ने पानी आमाको रक्तनलीमा पस्दा रगत जम्ने प्रक्रिया नै अवरुद्ध हुन्छ । यसले गर्दा अनियन्त्रित रक्तस्राव भई मृत्यु भयो ।

अस्पतालका निर्देशक प्रा.डा. मोहनचन्द्र रेग्मी भन्छन्, ‘म आफैँ पनि अप्रेसनमा संलग्न थिएँ । यो एक अकस्मात् र दुर्लभ समस्या हो । हामीले सबै प्रयास गर्दागर्दै पनि उहाँलाई बचाउन सकेनौँ ।’

प्रतिवेदनमा कुनै चिकित्सकीय कमजोरी नदेखिए पनि मानवीय संवेदनाका आधारमा बच्चाको सम्पूर्ण उपचार खर्च बेहोरेको र आमाको उपचार खर्च पनि मिनाहा गरेको रेग्मीले बताए ।

शिशु पनि रहेनन्

आमाको मृत्युपछि नवजात शिशुलाई एनआईसीयूमा राखिएको थियो । करिब एक महिनापछि गत साउन १० गते एनआईसीयूमा उपचाररत शिशुको पनि मृत्यु भयो । त्यसपछि अस्पतालले दीपकलाई पत्र लेखेर र प्रहरीमार्फत फोन गरेर शिशुको शव बुझ्न आउन भन्यो । पत्रमा अस्पतालले आफ्नो तर्फबाट कुनै कमजोरी नभएको र मानवीय आधारमा सबै सहयोग गरेको जनाएको छ ।
तर, दीपक भने आक्रोशित छन् । उनको आशंका छ, आमा र बच्चाको एकै पटक मृत्यु भएको घटनालाई लुकाउन अस्पतालले एक महिनासम्म बच्चालाई भेन्टिलेटरमा राखेर ढिलो घोषणा गर्‍यो ।

‘आमाको मृत्यु उच्च रक्तस्रावले भयो होला, तर बच्चाको कसरी भयो ?’ उनले भने, ‘निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएसम्म म बच्चाको शव बुझ्दिनँ ।’

दीपकले श्रीमतीसँगै नवजात सन्तान पनि गुमाए । भक्तपुरको नयाँ ठिमीमा बसेर आफ्ना दुई छोरालाई पढाउँदै आएकी थिइन् लक्ष्मी । छोराहरूले आमा खोजिरहेका छन् ।

अस्पतालको प्रतिवेदनले घटनालाई दुर्लभ चिकित्सकीय जटिलता भनेको छ । दीपकले भने चिकित्सकको लापरबाही ठानिरहेका छन् । आइतबार आफन्तसहित अस्पताल प्रशासनसँग छलफल गरेपछि पनि उनको चित्त बुझेन । अब नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएर निष्पक्ष छानबिनको माग गर्ने उनले बताए ।

Comments

2 responses to “तेस्रो सन्तानको पर्खाइमा रहेका दिपकलाई बज्रपातः ‘नर्मल डेलिभरी’ पछि पत्नी र बच्चाको मुत्यु”

  1. Samjhana magarati ( Basel) Avatar
    Samjhana magarati ( Basel)

    निष्पक्ष छानबिन होस्, दोषीलाई कारबाही होस् 😔😔😠

  2. samir Avatar
    samir

    गाह्रो छ अस्पताल र डाक्टरलाई धेरै !

Leave a Reply

Your email address will not be published. Required fields are marked *