आजकै दिन २०७१ साल साउन २५ गते अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको थियो । श्रेष्ठको ४७ वर्षको उमेरमा भारतको गंगाराम अस्पताल, नयाँ दिल्लीमा निधन भएको थियो ।
त्यसवेला श्रेष्ठ अभिनेत्री स्वेता खड्कासँग भर्खरै विवाह बन्धनमा बाँधिएका थिए । विवाहपछि उनीहरु भारत गएका थिएँ । जहाँ श्रेष्ठको स्वास्थमा समस्या देखा परेको थियो । तत्कालै अस्पताल भर्ना भएका उनलाई निमोनिया र हड्डीको क्यान्सर भएको पत्ता लागेका थियो । यही रोगको उपचारका क्रममा श्रेष्ठको भारतमा निधन भएको थियो ।
श्रेष्ठको निधन हुँदा नेपालमा भने उनको चलचित्र ‘कोहीनुर’ प्रदर्शन भएको दुई दिन मात्रै भएको थियो । निधनपछि श्रेष्ठलाई काठमाडौं ल्याएर आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो । उनको अन्त्योष्टिमा हजारौं सुभेच्छुक र दर्शकहरुको सहभागिता रहेको थियो भने नेपाल सरकारलाई राष्ट्रिय सम्मान प्रदान गरेको थियो ।
श्रेष्ठको निधनमा हजारौं दर्शक भावविह्वल बन्दै पशुपति आर्यघाट पुगेका थिए । नपुगुन् पनि कसरी ! नेपाली चलचित्र क्षेत्रका श्रेष्ठ यस्ता अभिनेता हुन्, जसले अधिकांश हिट र सुपरहिट चलचित्र दिए । उनले खेलेका भण्डै तीन दर्जन चलचित्रमध्ये ‘भुमरी’,(डेव्यु), ‘कसम’, ‘कोहीनूर’, ‘कहाँ भेटिएला’, ‘नाता रगतको’, ‘भरोसा’, ‘पाहुना’, ‘अजम्बरी नाता’, ‘प्रेम युद्ध’, ‘जीवन रेखा’, ‘हामी तीन भाइ’, ‘सुख दुःख’, ‘ए मेरो हजुर’, ‘यस्तै हुन्छ पिरती’, ‘उपकार’, ‘वर पीपल’, ‘गुरुचेला’, ‘आफन्त’, ‘आफ्नो मान्छे’ ‘गोर्खाली,’ ट्रक ड्राइभर’जस्ता दुई दर्जन हाराहारी चलचित्र त तत्कालीन समयमा सुपरहिट नै भएका थिए ।
नृत्यमा पनि उत्तिकै पोख्त रहेका श्रेष्ठले खेलेका चलचित्रको संख्याका आधारमा सबैभन्दा धेरै हिट चलचित्र दिने उनी एक्ला अभिनेता हुन् । उनीपछि दोस्रो नम्बरमा भुवन केसीले खेलेकामध्ये धेरै हिट चलचित्र दिएका छन् । उनै श्रेष्ठले खेलेकामध्ये उत्कृष्ट पाँच चलचित्रहरु हेर्नुहोस् युट्युबमा ः–
कोहीनूर
यो चलचित्र श्रेष्ठको अन्तिम चलचित्र हो । यता हलहरुमा चलचित्र चलिरहँदा श्रेष्ठ भारतको अस्पतालमा अन्तिम सास लिइरहेका थिए । यो चलचित्र चेलिबेटी बेचबिखानको कथामा आधरित छ । चलचित्रमा गरिबीको फाइदा उठाउँदै आर्थिक प्रभलोपन पारेर मुम्बाइका कोठीहरुमा बेचिन बाध्य नेपाली महिलाहरुको कथालाई समेटिएको छ ।
मुम्बाइको कोठीमा बेचिएकी युवती कोहीनूरको प्रेममा परेका नेपाली युवक अभिषेक खरेल(बाबु)ले बेचिएका युवतीहरुलाई बचाउन गरेको संघर्ष चलचित्रको केन्द्रिय विषयवस्तु हो । यो चलचित्रले ११ वर्षअघि ऐतिहासिक रुपमा १४ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । जुन कलेक्सन तत्कालीन समयमा धेरै नै ठूलो थियो । अहिले पनि यो चलचित्र सबैभन्दा धेरै कमाउने सर्वकालीन नेपाली चलचित्रहरुको सूचिमा नवौं नम्बरमा छ ।
चलचित्रमा श्रेष्ठ र स्वेता खड्का मुख्य भूमिकामा थिए भने निर्देशक तथा कथाकार आकाश अधिकारी थिए ।
हामी तीन भाइ
सन् २००४ मा प्रदर्शन भएको यो चलचित्रमा त्यसवेलाका सुपरस्टारहरु श्रेष्ठ, राजेश हमाल र निखिल उप्रेती मुख्य भूमिकामा थिए । उनीहरुसँगै रेखा थापा, झरना थापा र नन्दिता केसी पनि मुख्य भूमिकामै थिए । टुहुरो तथा सडक बालक हरि (राजेश हमाल)ले अर्का दुई टुहुरा राम र लक्षण(श्रेष्ठ र उप्रेती)लाई भेटाउँछ । दुवैलाई आफूसँगै राख्छ, शिक्ष प्रदान गर्छ । पछि लक्ष्मण धनी व्यापारीको छोरा भएको पत्ता लाग्छ, जसको पितालाई मुख्य भिलेनहरुले मारेका थिए ।
परिवार, सम्बन्ध, भावनाको मिश्रण रहेको यो चलचित्र त्यसवेलाक सुपरहिट भएको थियो । यो चलचित्रमा समावेश सबै गीतहरु सुपरहिट भएका थिए । ‘तिर्खा लाग्यो निरमाया’, ‘पिरती मिसाउँदै’, ‘मलाई यो जिन्दगीले’, ‘कल कल खोला’, ‘बाजा घन्काउँदै’ गीतहरु अहिले पनि दर्शकहरुले उत्तिकै चासोका साथ सुन्ने गर्छन् ।
अजम्बरी नाता
प्रदीप श्रष्ठ निर्देशित यस चलचित्रमा श्रेष्ठको अलवा राजेश हमाल, रेखा थापा, निरुता सिंह लगायत कलाकार पनि मुख्य भूमिकामा थिए । चलचित्रमा अभिसेक (श्रीकृष्ण श्रेष्ठ)ले चिया बगानको फ्याक्ट्रीमा गाडी चलाउँछ । चाँदनी (निरुता सिंह) त्यही फ्याक्ट्रीमा मजदुरी गर्छिन् । चाँदनीमाथि फ्याक्ट्रीको म्यानेजरले गिद्धे नजर लगाउँछ । अर्कातिर कर्ण (राजेश हमाल) पैसाका लागि जे पनि गर्ने गुण्डा हो । काजल (रेखा थापा)ले कर्णलाई मन पराउँछे । यसरी नै चलचित्रको कथा अगाडि बढेको छ ।
यस चलचित्र पनि त्यसवेला सुपरहिट भएको थियो भने ‘आकाश र चाँदनीको’ बोलको गीत सवंकालीन हिट गीत हो । ‘चियाको बोटैमा’, ‘मुटुभरि वेदना’ लगायत गीत पनि सर्वाधिक चलेका थिए ।
ट्रक ड्राइभर
२०५१ सालमा प्रदर्शित यस चलचित्रमा श्रेष्ठ, शिव श्रेष्ठ, करिश्मा मानन्धर नै मुख्य भूमिकामा छन् । मदनकृष्ण श्रेष्ठ पनि यस चलचित्रमा निर्णायक भूमिकामा छन् ।
चलचित्रको कथामा हाइवे छेउको रेस्टुरेन्टमा काम गर्ने युवतीसँग ट्रक डाइभर प्रेममा पर्छ । तर, युवतीका पिता अत्यान्तै क्रुर हुन्छन्, व्यापारको लागि विवाह गरेर टाढा जान दिँदैनन् । यता दुर्घटनामा परेर ट्रक डाइभरको मृत्यु हुन्छ । केटीले पनि आत्महत्याको कोसिस गर्छे । तर, एक युवाले उसलाई बचाउँछ । अनि युवतीको पेटमा रहेको बच्चालाई आफ्नो नाम दिएर उनीहरु सहरमा छिर्छन् ।
यो चलचित्रको ‘सम्झना बिर्सना’, ‘चिठ्ठी आएन’ जस्ता गीत कालजयी छन् ।
वर पिपल
२५ वर्ष अगाडि प्रदर्शन भएको यस चलचित्रमा श्रेष्ठ र पूजा चन्द मुख्य भूमिकामा छन् । वनस्पतिबारे अध्ययन गरिरहेका युवक (श्रीकृष्ण) प्राक्टिकलका लागि जंगलमा अध्ययन गर्न जाँदा स्थानीय युवती (पूजा)सँग प्रेममा परेपछि उत्पन्न हुने घटनाक्रममाथि निर्मित छ यो चलचित्र ।
लक्ष्मीनाथ शर्मा निर्देशित यस चलचित्रको ‘जनम जनम जिउँला सँगै’ गीत अहिले पनि उत्तिकै लोकप्रिय छ ।

Leave a Reply