रुपन्देही । रुपन्देही क्षेत्र नं ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदार आकांक्षीहरूको सूचीमा रहेका एक पात्र हुन् पार्थिवेन्द्र उपाध्याय । सिद्धार्थनगर नगरपालिका वडा नं ७ भैरहवा निवासी उनी रास्वपाले सार्वजनिक गरेको ९ जना आकांक्षीमध्ये दोस्रो नम्बरमा छन् ।
पार्थीबेन्द्र एमाले पृष्ठभूमिका हुन् । उनका बुवा धनपति उपाध्याय एमालेका नेता थिए । धनपति सोही क्षेत्रमा एमालेबाट दुई पटक उम्मेदार बनेका थिए । ०४८ मा पराजित भए पनि ०५१ मा उनी विजयी बने । तर, ०५३ मा उनको मृत्यु भयो । धनपतिको मृत्युपछि उनकी श्रीमती पुष्पाञ्लजी उपाध्याय श्रीमानको बिँडो थाम्ने प्रयासमा एमालेका सक्रिय बनिन् । तर, केही समययता अस्वस्थ भएर उनी पार्टीको कुनै जिम्मेवारीमा छैनन् यद्यपि एमालेमै छन् ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा लागेका पार्थिबेन्द्र ०५७ पछि भने अध्ययन तथा प्राध्यापन क्षेत्रतिर मोडिए । नेतृ उमा अधिकारीसँग उनको विवाह भयो । उमा पनि एमालेकै राजनीतिमा छिन् । एमाले रुपन्देहीको सदस्य रहेकी उनी अहिले सिद्धार्थनगर नगरपालिकाको उपमेयर पदमा छन् । मेयरमा फराकिलो मतान्तरले पराजित भएको एमालेबाट उनले सहजै जित निकालेकी थिइन् ।
अहिले आएर पार्थिबेन्द्रले पारिवारिक विरासत भत्काउँदै रास्वपा रोजेका छन् । रास्वपाले उम्मेदवारीका लागि खुला आव्हान गरेपछि उनले रुपन्देहीको पुरानो रुपन्देही क्याम्पसको प्रमुखबाट राजीनामा दिएर आवेदन गरे । अंग्रेजी साहित्य र पछि कानून विषय पढेका पार्थिबेन्द्रले पारिवारिक विरासतको राजनीति छाडेर किन वैकल्पिक धारको राजनीति रोजे त ?
नेपाल प्रेसको जिज्ञासामा उनी पुराना दलबाट परिवर्तन संभव नभएर नै विकल्प खोजेको दाबी गर्छन् ।
‘मलाई प्राध्यापनबाटै राम्रो भएको थियो तर मूल नीति बनाउने राजनीति सुधार्न र केही काम गरेर देखाउन नयाँ धार रोजेको हुँ,’ उनले भने, ‘मेरो परिवार एमालेको राजनीतिमा छ, तर म फरक धारमा उभिएको छु ।’
उपाध्याय यसअघि ०७४ सालमा पनि विवेकशील पार्टीबाट यही क्षेत्रको उम्मेदार बनेका थिए । त्यो बेला पनि आफूले पढाउने कलेजबाट राजीनामा दिएर मैदानमा उत्रेका हुन् । पछि नयाँ प्रकृयाबाट फेरि प्राध्यापनमा लागे र क्याम्पस प्रमुख भए ।’
अहिले रास्वपाबाहेक नयाँ धारको राजनीति कसैले पूरा गर्ने नदेखेर यसलाई रोजेको उपाध्याय बताउँछन् ।
‘विवेकशीलबाट पनि अगाडि बढ्ने आधार देखिएन, अब नयाँ धारको नेतृत्व रास्वपाबाटै हुने देखेर आएको हुँ ।’ उनले भने ।
रास्वपाले कुनै पनि सरकारी सेवा वा शैक्षिक संस्थामा रहेकाले सदस्यता नपाउने प्रावधान राखेकाले राजीनामा दिएको उनले बताए ।
बुवाको लिगेसी तथा आमा र पत्नीको फरक बाटोले तपाईँलाई नयाँ धारको राजनीतिमा चुनौती हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘हाम्रो परिवारमा राजनीतिक संस्कार छ । घरमा पारिवारिक कुराकानी भए पनि राजनीतिक कुराहरु धेरै हुँदैनन् । सबैलाई स्वतन्त्रता छ । श्रीमतीजी आफ्नो क्षेत्रमा प्रतिवद्ध भएर लाग्नुभएको छ । केही समस्या हुँदैन । म पहिलेबाटै वैकल्पिक धारको अभियानमा जोडिएको सबैले बुझ्नुभएको छ नि !’
उपाध्यायले आफूले अध्ययनका क्रममा विदेशमा पनि राजनीतिमा चासो राखेको तर यहाँजस्तो बढी राजनीतिक दम्भ नपाएको बताए ।
‘मैले नर्वेमा अध्ययन गरेँ । त्यहाँ चुनाव भएको बाहिर हल्ला नै नहुने रहेछ । यहाँ कामभन्दा बढी हल्ला भएको छ, चासो त हुनुपर्यो । धेरै चासो भएजस्तो लाग्छ मलाई त,’ उनले भने ।
साउन २१ मा क्याम्पसबाट राजीनामा दिएको सार्वजनिक गर्दै उनले लेखेका छन् ‘मैले रूपन्देही क्याम्पसको जिम्मेवारीबाट राजीनामा दिएको छु । यो निर्णय सहज थिएन । यहीँबाट मैले विद्यार्थी जीवन सुरू गरेँ, यही पढाएँ, अनि लगभग एक दशकसम्म जिम्मेवारी वहन गरेँ । क्याम्पस प्रमुखको रूपमा काम गर्नु मेरो लागि गौरव र कर्तव्य दुवै थियो । अब म एउटा नयाँ बाटोतर्फ लाग्दैछु । कता पुगिन्छ, समयले बताउनेछ ।´

Leave a Reply