‘झलनाथ खनालले पार्टी छाडेर जाने ठाउँ छैन’

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष र माधव नेपालीबीचको अन्तरसंघर्ष चर्किरहेको छ । सम्मानित नेता झलनाथ खनाल एमालेबाट विद्रोह गरेको चार वर्षसम्म पनि औचित्य पुष्टि गर्न नसकेको अभिव्यक्ति दिएपछि दुई नेताबीच वाकयुद्ध चलिरहेको छ ।

उनीहरूले एकले अर्कालाई पार्टी छाडेर एमालेमा जान भनिसकेका छन् । खनालको यो अभिव्यक्तिपछि सिंगो पार्टीपंक्ति नै विभाजित बनेको छ । अध्यक्ष नेपालमाथि पतञ्जलीको जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि दुई नेताबीचको तिक्तता सतहमा आएको थियो । नैतिकताको आधारमा नेता नेपालले अध्यक्ष पद छाड्नुपर्ने खनालको मत छ ।

तर, प्रतिशोध राखेर आफूलाई मुद्दा लगाइएको जिकिर गर्दै अध्यक्ष पद छाड्न तयार छैनन् नेपाल । खनालको एमाले फुटाउनुको औचित्य पुष्टि नभएको अभिव्यक्तिलाई लक्षित गर्दै हिजो पनि नेपालले भने, ‘मिडियामा जाने पार्टीको बदख्वाइँ गर्ने, मिडियामा जाने विद्रोहको औचित्य छैन भन्ने । किन आउनुपर्‍यो विद्रोह ठिक लागेन भने ? केपी ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि !’

नेपालले एमालेमा जान सुझाएपछि नेता खनालपनि रोकिएनन् । लगत्तै जबज मान्ने सबैभन्दा ठूलो शक्ति एमाले नै भएको र अध्यक्ष नेपालले पनि जबज छोड्न नसकिने अडान लिएको भन्दै एमालेमा फर्किन उचित हुने भन्दै जवाफ फर्काए ।

खनालले नेपाललाई जवाफ दिँदै भने, ‘अहिले बहुदलीय जनवादको मुख्य गढ भनेकै नेकपा एमाले नै हो नि ! बहुदलीय जनवाद नै भन्नुहुन्छ भनेपनि यो त सानो बहुदलीय जनवाद हो । यो भन्दा यत्रो ठूलो हेडक्वाटरै जत्रो बहुदलीय जनवाद छ । अनि माधव कमरेड बरु आफैँ उतै गए राम्रो हुँदैन र ?’

अध्यक्ष नेपालसँग चिढिएका आजैखनालले  हालै पार्टीमा भित्रिएका नेता वामदेव गौतमसँग अर्थपूर्ण भेट गरे । माधव-झलनाथबीच विवाद चर्किएपछि स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ ।

दुई नेताबीचको अन्तरसंघर्ष, समाजवादी मोर्चाको औचित्य, माओवादीसँग एकताको चर्चालगायतको विषयमा केन्द्रित रहेर नेकपा एसका उपाध्यक्ष जगन्नाथ खतिवडासँगको कुराकानी नेपाल टकमा-

– अध्यक्ष र सम्मानित नेताबीच सार्वजनिक रूपमै चलेको आरोप-प्रत्यारोपलाई कसरी लिनुभएको छ ?

यो पार्टीमा छलफल गरेपछि मिलिहाल्ने विषय हो । नमिली दुवै नेताहरूलाई सुख छैन । चाँडै मिलिहाल्छ भन्ने रूपमा मैले बुझेको छु ।

– तर, उहाँहरूबीच विवाद एकले अर्कालाई पार्टी छाडेर जानू भन्ने स्थितिसम्म पुगिसक्यो ?

झलनाथसँग पनि विकल्प छैन । माधव नेपाल त अध्यक्ष नै भइहाल्नुभयो । त्यसैले उहाँहरूले एक अर्कालाई घोचपेच गर्न बन्द गर्दा पार्टीको लागि राम्रो हुन्छ ।

– नेता खनालले भनेझैँ एमालेबाट विद्रोह गर्नुको औचित्य नै पुष्टि नभएको हो ?

उहाँले भन्न नहुने कुरा भन्नुभयो । उहाँ पनि पार्टीको सम्मानित नेता हुनुहुन्छ । त्यसैले पदमा बसेर भन्न हुने कुरा भन्नुभएको होइन । औचित्य पुष्टि भइसक्यो भनेर एक होइन अनेकचोटि भाषण गरिसक्नुभएको छ ।

आम निर्वाचनको अगाडि पछाडि पनि, पार्टी राष्ट्रिय पार्टी नबनेको अवस्थामा पनि, उहाँले विद्रोहको सैद्धान्तिक, राजनीतिक, व्यवहारिक कारणले देखाएर पटक पटक औचित्य पुष्टि भइसक्यो भनेर बोलिसक्नुभएको छ ।

अहिले त्यो होइन भने पहिले आफैँले बोलेको कुरालाई पहिले खण्डन गर्नुपर्‍यो। त्यसैले यो उहाँको अभिव्यक्ति बोल्दा बोल्दै चिप्लिएको हो जस्तो मलाई लागेको छ ।

– उहाँ एमालेसँग नजिक भएकै कारणले पार्टीभित्र अन्तरसंघर्ष ल्याउन खोजेको पनि चर्चा छ नि ?

उहाँ एमालेसँग नजिक भएको आधार मैले देखेको छैन । उहाँ जनताको बहुदलीय जनवादबाट टाढा भएको मान्छे हो । एमालेले जबजलाई छाड्न चाहँदैन । अनि उहाँ कसरी एमालेसँग नजिक हुन सक्नुहुन्छ ? मैले त त्यस्तो कुनै ठाउँ देख्दिनँ ।

– त्यसो त अध्यक्ष नेपालले पनि जबज छाड्न नसकेको भन्दै वैचारिक रूपमा समेत प्रश्न उठाउनुभएको छ ?

अध्यक्षले व्यक्तिगत रूपमा के छाड्नुहुन्छ हुन्न त्यो उहाँको कुरा हो। तर राष्ट्रिय महाधिवेशनले जबज हाम्रो कार्यक्रम होइन, पार्टीको राजनीतिक कार्यक्रम नै होइन । वैज्ञानिक समाजवाद हाम्रो कार्यक्रम हो भनेर निर्णय गरेपश्चात्, माधव नेपालले चाहिँ जबज मानेको, आफूले चाहिँ समाजवाद मानेको भन्ने हक उहाँलाई छैन ।

हामी सबै समाजवादी कार्यक्रम बनाएर हिँडेका मान्छे हौँ । समाजवाद हाम्रो पार्टीको मूल लक्ष्य हो । त्यो लक्ष्यमा हामी सबै प्रतिबद्ध छौँ । झलनाथ र माधव नेपाल दुवै त्यसैमा हुनुहुन्छ । कसैलाई चित्त नबुझेको भएपनि पार्टीले पारित गरेको कागज हेरेर बोल्नुपर्छ। त्यसैले उहाँले माधव नेपालमाथि आरोप लगाउनुपर्ने कुनै कारण देख्दिनँ।

– उहाँले सचिवालय बैठकमा राख्नुभएको लिखित दस्ताबेजमा पनि छलफल हुन्छ ?

उहाँले माग गरिरहेको विषयमा पार्टीभित्र छलफल हुनसक्छ । उहाँले पहिला पनि त्यस्तो गरेको भए राम्रो हुन्थ्यो । भित्रै छलफल गरौँ भन्नुभएको कुरालाई सकारात्मक रूपमा लिनुपर्छ ।

– तपाईँहरू समाजवादी मोर्चामा पनि हुनुहुन्छ तर झलनाथ खनाल त्यसप्रति सकारात्मक सुनिनुहुन्न ?

उहाँले समाजवादी मोर्चाको कार्यक्रममा गएर पटक पटक मन्तव्य राख्नुभएको छ । यसलाई बलियो बनाउनुपर्छ भन्नुपनि भएको छ । बाहिर कार्यक्रममा बोल्ने अनि यसलाई बलियो होइन, दुब्लो बनाउनुपर्छ भन्ने ढङ्गले बोल्न उहाँ जतिको मान्छेले मिल्दैन । उहाँलाई त्यस्तो चित्त नबुझेको कुरामा त बसेर छलफल गर्दा भइहाल्छ नि !

– तपार्ईहरूले मोर्चाको गन्तव्य चाहिँ कहाँसम्म देख्नुभएको छ ?

हामीले आफ्नो पार्टी र मोर्चालाई सँगै चलाइरहेका छौँ । राष्ट्रिय मुद्दामा एकैठाउँमा बसेर काम गरौँ भनेर मोर्चा बनाएका हौँ । यो मोर्चाको विषयलाई लिएर धेरै विवाद गर्नुपर्छ भन्ने मलाई लाग्दैन । मोर्चा सानो ठूलो जस्तो होस् अघि बढिनै रहन्छ । हामी सामूहिक कार्यक्रम गरिरहन्छौँ पनि ।

– पछिल्लो समय माओवादीसँग एकताको चर्चा पनि चल्दैछ, छलफल सुरु भएरै हो ?

अहिलेसम्म पार्टीभित्र छलफल भएको छैन । औपचारिक छलफल त केन्द्रीय कमिटीमा गर्ने हो । बैठक त हामीले बोलाएका छौँ तर यो बैठकमा पार्टी एकीकरणमा जाने भन्नेबारे एजेन्डा पनि छैन । अहिले सहकार्यको विभिन्न आयामहरूमाथिको छलफल मात्रै हो । एकीकरणको छलफल होइन ।

– तर, माओवादीसँग एकताको लागि अध्यक्ष त नरम नै सुनिनुहुन्छ ?

सबै कम्युनिस्टहरू एकैठाउँमा आउँदा माओवादीसँग एकता गर्नुपर्छ भन्ने कुरालाई गलत मान्नु हुँदैन । मोर्चाका सबै घटकलाई एकैठाउँमा ल्याएर पार्टी बनाऔँ भन्ने परिस्थिति भयो भने त्यो नराम्रो कुरा हुँदैन । तर, अहिले त्यहाँसम्म कुरा पुगेकै छैन ।

– भनेपछि सम्भावना चाहिँ छ ?

अहिले सम्भावना नभएपनि भविष्यमा के हुन्छ भन्ने आशा हुनसक्छ । तर, तत्काल हुन्छ भन्ने विश्वास कसैले गरेको छैन ।

– माओवादीसँग एकता हुने परिस्थिति बने एमालेमा फर्किन्छौँ भनेर नेताहरू संवादमा जोडिएको पनि सुनिन्छ ?

केन्द्रीय सचिवालयभित्रका नेताहरूले एमालेसँग त्यस्तो कुनै संवाद गरेको भन्ने कुरालाई मलाई थाहा छैन । तर, व्यक्तिगत संवाद त हरेकको हरेकसँग भइनै रहन्छ । विगतमा एउटै पार्टीमा बसेका नेता कार्यकर्ता हौँ । तर औपचारिक ढङ्गले सिंगो पार्टीको पोलिसिलाई नै अर्कोतिर तान्नेगरी कसैले छलफल गरेको छैन ।

– वामपन्थी एकताको कुरा गर्दै गर्दा आगामी दिनमा एमालेसँग पनि सहकार्यको सम्भावना देख्नुहुन्छ ?

छलफल, विचार विमर्श, सहकार्य र संवाद अहिलेसम्म केही पनि छैन। त्यसैले आज त्यो सम्भावनाबारे गरिने चर्चा पनि शून्य नै छ ।

– रामकुमारी झाँक्रीलाई पार्टीले सोधेको स्पष्टीकरणबारे के हुँदैछ ?

उहाँले लिखित आत्मालोचना गर्नुभयो भन्ने हामीले जानकारी पाएका छौँ । आत्मालोचना गरेका भाषा, शब्द, दृष्टिकोण, भविष्यमा यस्ता गल्ती नगर्ने कुराको सुनिश्चितताका बारेमा धेरै छलफल गरेर मात्रै यसमा पार्टीले निर्णय लिन्छ ।

– रामकुमारी झाँक्री प्रकरण नसेलाउँदै अध्यक्षसँग नेता खनालको अन्तरसंघर्षले पार्टी विभाजनतिर धकेलिएको हो ?

यो कुरामा कुनै सत्यता छैन, पार्टी विभाजनतिर कुनै हालतमा जाँदैन । विभाजन गरेर कोही हिँड्ने वाला पनि छैन ।

– अध्यक्षसँग चिढिएका नेता खनालले वामदेव गौतमसँग भेटवार्ता गर्नुभएको रहेछ ?

त्यसबारे पार्टीलाई जानकारी छैन, त्यो उहाँहरूबीचको व्यक्तिगत भेटघाट हो ।

Comments

One response to “‘झलनाथ खनालले पार्टी छाडेर जाने ठाउँ छैन’”

  1. ksp pyl Avatar
    ksp pyl

    माओवादी, समाजवादी भनेका भन्नाका कम्युनिष्ट हुन् । असलीमा विदेशीका दलाल हुन् । यिनलाई देश बनाउनु छैन । यिनको मुख्य काम विदेशीले भने बमोजिम एमालेलाई कमजोर बनाउने मात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *