काठमाडौं । युवतीलाई होटलमा काम लगाइदिने भनी भारत लगेर मिर्गौला बेच्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले उक्त कारबाही गरेको हो ।
गत जेठ महिनामा परिवर्तित नाम २६ बबरमहल (४५४) लाई कोटेश्वर आकाशेपुल नजिकबाट कलंकी हुँदै भारतको चण्डीगढस्थित अपार्टेन्टमा पुर्याउने गिरोहका तीनजनालाई नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका काभ्रेपलाञ्चोक पाँचखाल न.पा.-१० का ३५ वर्षीय कुमार भन्ने राजकुमार परियार, नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं.९ का २४ वर्षीय समीर नेपाली र बेलकोटगढी नगरपालिका वडा नं.-४ का ४७ वर्षीय राकेश नेपाली रहेका छन् ।
उनीहरूले युवतीलाई भारतको होटलमा १० देखि २० हजारसम्मको काम पाइने भनेका थिए । तर, चण्डीगस्थित अपार्टेन्टमा पुर्याएको भोलिपल्ट एक क्लिनिकमा लगी मेडिकल चेकअप गराए । प्रतिवादीहरु समीर र राकेशले युवतीलाई रेखदेख गरी करिब १ महिना राखे । पछि मिर्गौला निकालेबापत ६ लाख नेपाली रुपैयाँ दिने भनेका थिए । युवतीले अस्वीकार गरिन् ।
युवतीलाई त्यसबेलासम्म खर्च भएको रकम व्यहोर्नुपर्ने भन्दै मानसिक तनाव दिएपछि साउन ९ गते बायाँ मिर्गौला झिकियो ।
युवतीसहित उनीहरू १५ गते काठमाडाैं आईपुगे ।
युवतीले मानव बेचविखन तथा ओसारपसार सम्बन्धी कसूर गरेको भनी दिएको जाहेरीले पीडकलाई पक्राउ गरिएको मानव बेचबिखन अनुसन्धान व्युरोका प्रवक्ता एसपी नरेन्द्र चन्दले जनाएका छन् ।
उनीहरूले नेपाल र भारत बसेर मिर्गौलाको अवैध कारोबार गर्ने गरेको चन्दले बताए । उनीहरूले कमजोर आर्थिक स्थितिको फाईदा उठाउँदै विभिन्न प्रलोभन देखाई मानिस पहिचान गर्ने गरेका चन्दले जनाए । यसक्रममा मानिस ओसारपसार गर्ने, मेडिकल चेकजाँच गर्ने र भारतमा बसी आवश्यक सबै प्रबन्ध मिलाई मिर्गौला निकाल्ने काम उनीहरूले गर्थे ।

Leave a Reply