मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र सिन्धुलीकाे गोलञ्जोर गाउँपालिकाबीच सम्झाैता

काठमाडाैं । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र गोलञ्जोर गाउँपालिका, सिन्धुलीबीच आज एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।

स्वास्थ्य विज्ञान शिक्षालाई प्रयोगात्मक बनाउने र गाउँस्तरसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने अभिप्रायका साथ यो दीर्घकालीन सहकार्य सुरु भएको हो ।

गोलञ्जोर गाउँपालिकाको गोलन्जर आधारंभूत अस्पताल, ग्वाल्टरमा आयोजित समारोहमा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. प्रदीप ज्ञवाली र गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष श्री शंकरराज बरालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

उक्त समारोहमा समुपस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाइँले यस सम्झौताले ग्रामीण स्वास्थ्य सेवा, शैक्षिक तालिम, अनुसन्धान, प्राविधिक सहयोग र नीति निर्माणसम्बन्धी पक्षहरू समेटेको र स्थानीय सरकार र प्रादेशिक शैक्षिक संस्थाबीचको यो साझेदारीले नेपालका अन्य स्थानीय तहका लागि समेत अनुकरणीय अभ्यासको बाटो खोल्ने विश्वास व्यक्त गरे ।

सम्झौताअनुसार अब मदन भण्डारी प्रतिष्ठानका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरूले गोलञ्जोर आधारभूत अस्पतालमा प्रत्यक्ष अभ्यास गर्ने अवसर पाउनेछन् । यसबाट एकातिर विद्यार्थीहरूको ज्ञानलाई व्यवहारमा उतार्ने वातावरण बन्नेछ भने अर्कातिर गाउँपालिकाका सर्वसाधारणले विशेषज्ञ चिकित्सकको सेवा गाउँमै प्राप्त गर्न सक्नेछन् ।

विद्यार्थी र प्राध्यापकहरूको टोलीले अस्पतालमा मात्र नभई गाउँपालिकाका सातै वडामा स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा सञ्चालन गर्नेछ ।

प्रतिष्ठानले अस्पतालमा आवश्यक परेमा प्राविधिक कर्मचारी पठाउने, तालिम दिने, डिजिटल स्वास्थ्य सेवा (जस्तैः टेलिमेडिसिन) को प्रयोगलाई प्रोत्साहन गर्ने र अनुसन्धानका आधारमा स्वास्थ्य नीति निर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ ।

यसका साथै मातृशिशु स्वास्थ्य, नसर्ने रोग, सरसफाइ र पोषणका क्षेत्रमा संयुक्त अनुसन्धान गरी तथ्यमा आधारित नीति निर्माणका लागि सिफारिस गरिने बताइएको छ ।

गाउँपालिकाले भने शैक्षिक अभ्यास तथा अनुसन्धानका लागि आवश्यक समन्वय, स्थान, आवास र भोजनको व्यवस्था गर्नेछ । यसका साथै, प्रत्यक्ष समुदायसँग काम गर्ने टोलीलाई सुरक्षा, सूचना तथा स्थानीय स्रोत परिचालनमा पूर्ण साथ दिनेछ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्री बरालले यो सम्झौतालाई ऐतिहासिक उपलब्धि भन्दै यसले गाउँपालिकाको स्वास्थ्य सेवामा गुणात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले अब सेवा मात्र होइन, स्वास्थ्य प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउने अभ्यास सुरु गरेका छौँ। यो सहकार्य त्यसतर्फको पहिलो र दूरगामी कदम हो ।’

त्यस्तै, प्रतिष्ठानका तर्फबाट सहभागी उपकुलपति डा. प्रदीप ज्ञवालीले भने, ‘स्वास्थ्य शिक्षालाई चार पर्खालभित्र सीमित नराखी समुदायसम्म पुर्‍याउने हाम्रो अभियानलाई यो साझेदारीले मूर्तरूप दिनेछ। हाम्रो उद्देश्य समुदायसँग जोडिएर शिक्षण, सेवा र अनुसन्धान एकैसाथ अघि बढाउनु हो ।’

सम्झौतामा स्वास्थ्य सेवा प्रवाहसँगै गाउँपालिका र प्रतिष्ठानले संयुक्त रूपमा चिकित्सक, नर्स, अहेव लगायतका स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने समेत उल्लेख छ। यसबाहेक मानव स्रोत आदानप्रदान कार्यक्रममार्फत गोलञ्जोर अस्पतालमा प्रतिष्ठानका विशेषज्ञहरू खटाइनेछन् भने गाउँपालिकाबाट केही स्वास्थ्यकर्मीलाई प्रतिष्ठानले तालिमका लागि आमन्त्रण गर्नेछ।

यो सहकार्य पाँच वर्षका लागि रहनेछ र आवश्यकताअनुसार पुनः नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

स्वास्थ्यमा सामाजिक न्यायको अवधारणालाई व्यवहारमा उतार्न प्रतिष्ठानले अपनाएको दृष्टिकोण र गाउँपालिकाले देखाएको उत्साह दुवै प्रशंसायोग्य छन् ।

राजधानी र सहरी क्षेत्रका शिक्षण संस्था तथा अस्पतालहरूले देखाएको उपेक्षा र ग्रामीण स्वास्थ्य प्रणालीको कमजोरीको मारमा परेका नागरिकका लागि यो सहकार्य एक उज्यालो किरणको रूपमा आएको छ। यसको प्रभाव आगामी दिनमा मात्र होइन, लामो समयसम्म अनुभूत हुने अपेक्षा गरिएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर कार्य सम्पन्न हुनु अघि प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. प्रदीप ज्ञवाली, रजिस्ट्रार भीमसागर गुरागाइँ र गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष शंकरराज बरालले पालिकाको नवनिर्मित अस्पताल भवनको अवलोकन गरेका थिए ।

उक्त अस्पताल भवन ब्याक टु लाइफ ई भी जर्मनीको आर्थिक सहयोगमा स्थानीय गैरसरकारी संस्था सि एस डी एसले भर्खरै निर्माण सम्पन्न गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *