स्वमूल्याङ्कन कार्यविधिको विपक्षमा एमाले पनि, भन्यो- यो दलहरूको आन्तरिक विषय हो

काठमाडौं । नेकपा एमालेले पनि निर्वाचन आयोगले पठाएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ माथि असहमति प्रकट गरेको छ। एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्य स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको भन्दै असहमति जनाएका हुन्।

उनले भने, ‘नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनैतिक दलसम्बन्धी व्यवस्था छ । राजनैतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था राजनैतिक दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्याङ्कन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो ।’

सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति एमालेको असहमति रहेको बताए।

आयोगले आजसम्म सुझाव दिन भनी स्वमूल्याङ्कन कार्यविधि पठाएको थियो। यही कार्यविधिको आपत्ति जनाउँदै हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमालेबाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक राखेर यसको प्रतिवाद गर्ने निर्णय गराएका थिए।

बैठकले साना दल मास्ने षड्यन्त्रस्वरुप कांग्रेस एमालेको चाहनाअनुरूप कार्यविधि आएको निष्कर्ष निकालेको थियो। तर, आज एमालेले पनि यो कार्यविधिको विपक्षमा उभिएको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *