काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का बोर्ड सदस्य प्रदीप मजगैंयाले ३ वर्षअघि आयोजित नेपाल टी- २० प्रतियोगितामा खेलाडीहरूले पैसा नपाएको स्वीकारोक्ति गरेका छन् । प्रतियोगितामा सहभागी ६ टीममध्ये दुई वटा टिमका खेलाडीहरूको पैसा चुक्ता हुन बाँकी रहेको उनको भनाइ छ ।
यसअघि मजगैंयाले नेपाल प्रेसलाई अन्तरवार्ता दिँदै नेपाल टी-२० लिगमा क्यानलाई २ करोड नाफा भएको दाबी गरेका थिए । प्रतियोगितामा सबै विवाद हल भइसकेको र क्लीन चिट पाएको उनले बताएपछि राष्ट्रिय क्रिकेटर करण केसीले सामाजिक सञ्जालबाट प्रतिवाद गरे । खेलाडीहरूले अझै पनि नेपाल टी २० को पैसा नपाएको उनले लेखेपछि तरंग उब्जेको छ ।
आज फेरि सामाजिक सञ्जालमा स्टाटस लेख्दै मजगैंयाले करण केसीको दाबी स्वीकार गरेका छन् । आफूले बुझे अनुसार दुई टिमका खेलाडीहरूको ६५ लाख तिर्न बाँकी रहेको उल्लेख गर्दै उनले नेपाल टी- २० बाट भएको २ करोड ३० लाख नाफाबाट तिर्नुपर्ने बताएका छन् ।
उनी लेख्छन्, ‘आज मैले बुझे अनुसार नेपाल टी-२० लिग ६ टिममध्ये काठमाडौं नाइट्सका खेलाडीहरूले २५% र सुदूरपश्चिम टीमका खेलाडीहरू ले ३५% पैसा पाउन देखिएकाले क्यानको एजीएम र बोर्ड निर्णय अनुसार नेपाल टी-२० लिगको दुई करोड ३० लाख नाफाबाट खेलाडीहरूको करिब ६५ लाख तिर्नुपर्ने रहेकोले उक्त रकम तुरुन्त दिनुपर्छ ।’
बजगाईँले करणको दाबी स्वीकार गरेका छन्, तर त्यसबेला आफू बोर्डमा नरहेको हुँदा आफूलाई जिम्मेवार ठहर्याउने नमिल्ने उनी बताउँछन् ।
खेलाडीहरूलाई प्रायोजित रूपमा प्रयोग गरेर आफूलाई नेपाल टी-२० लिगमा जोडेको मजगैंयाको आरोप छ । सामाजिक सञ्जालमार्फत आफ्नो फोटो प्रयोग गरी अनावश्यक रूपले लिगमा जोडेको भन्दै उनले आपत्ति जनाएका छन् ।
‘खेलाडीहरूलाई प्रायोजित रूपमा प्रयोग गरी मेरो फोटो समेत प्रयोग गरी मलाई यो विषयमा अनावश्यक रूपले ल्याउनु गम्भीर र आपत्तिजनक छ । किनकि नेपाल टी-२० लिग म क्यानमा आउनुभन्दा पहिले भएको हो,’ उनले लेखेका छन् । यद्यपि, खेलाडीले उठाएको प्रश्न उचित रहेको मजगैंया बताउँछन् ।
उनले लेखेका छन्, ‘म सधैँ खेलाडीको न्यायको लागि लड्ने मान्छे भएकोले तत्काल क्यान र पोखरा साधारण सभाको निर्णय कार्यान्वयन होस भन्न चाहन्छु ।’
क्यानको पोखरा साधारण सभाबाट नेपाल टी-२० लिगको बाँकी रकम खेलाडीहरूलाई दिने निर्णय भएको मजगैंयाले उल्लेख गरेका छन् । उनले उक्त निर्णय किन कार्यान्वयन नभएको भन्दै क्यानलाई प्रश्नसमेत गरेका छन् ।
‘क्यानको पोखरा एजीएममा हामीले नेपाल टी २० को सम्पूर्ण बाँकी रकम खेलाडीहरूलाई दिने निर्णय गराउन लडेका थियौं र त्यो प्रस्ताव जिल्ला प्रदेशका साथीहरूको सहयोगमा पारित पनि भयो । त्यसपछि म सम्मिलित नयाँ बोर्डको बैठकमा फेरि यो विषय उठाएँ र खेलाडीलाई पैसा दिने निर्णय पनि गरियो । बारम्बार खेलाडीलाई पैसा दिन आग्रह हामीले गरेको हो ! हामीलाई लागेको थियो खेलाडीले पैसा पाएको होलान् !’ उनले लेखेका छन् ।
यही कारण आफूले निरन्तर पारदर्शिता र जबाफदेहिताको कुरा उठाइरहेको मजगैंयाको भनाइ छ । उनी थप्छन्, ‘संस्था व्यक्ति होइन, विधि र विधानमा चल्नु पर्छ । बोर्डले र हाम्रो सर्वोच्च निकाय एजीएमले पास गरेको निर्णय किन कार्यान्वयन भएन ? खेलाडीको पैसा दिने निर्णय पारित गरिसकेको धेरै भयो, अब कार्यान्वयन नगर्ने र खेलाडीको हकको पैसा कहाँ र कसरी अड्किएको छ ?’

Leave a Reply