प्रहरी बढुवाविरुद्धको उजुरी ‘फर्स्यौट’, आजै फुली लगाउने तयारी

काठमाडौं । बढुवामा असन्तुष्ट एक एसपीको उजुरीका कारण रोकिएको ३५ जना प्रहरी अधिकृतको बढुवा प्रक्रिया अगाडि बढ्ने भएकाृ छ ।

बढुवामा विभेद भएको भन्दै एसपी विमल बस्नेतले गृह मन्त्रालयमा दिएको अनलाइन उजुरीमाथिको छानबिन समाप्त भएपछि बढुवा प्रक्रिया अगाडि बढ्न लागेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार गृहमा उक्त उजुरी फर्स्यौट भएको खबर प्रहरी प्रधान कार्यालयमा पुगेको छ । ‘पत्र आउन बाँकी छ, आउने बित्तिकै फुली लगाउने कार्यक्रम तय हुन्छ’, उनले भने ।

गृह मन्त्रालयस्रोतका अनुसार एसएसपी बढुवा समितिले गरेको मूल्यांकनमा आवश्यक अंक नपुगेका कारण बढुवा वञ्चित भएका एसपी घिमिरेमाथि कानुनतः कुनै अन्याय भएको ठहर नहुँदा उक्त उजुरीलाई ‘फर्स्यौट’ गरिएको हो । प्रहरीको एसएसपी दर्जाको बढुवा, सरुवा र पदस्थापन गृह सचिव स्तरमा हुने गर्दछ ।

गृह मन्त्रालयले साउन ५ गते एसएसपी र सोही मितिमा नेपाल प्रहरी प्रधान कार्यालयले एसपी र डीएसपी बढुवा सूची प्रकाशित गरेको थियो । उक्त बढुवामा एसपी घिमिरे एसएसपी बढुवा हुनबाट रोकिएका थिए । २०५३ पुस ५ गते तत्कालीन नेपाल गुप्तचर विभाग (हाल राष्ट्रिय अनुसन्धान) को अधिकृतस्तरमा नियुक्त भई उनी २०५८ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरका रूपमा तालिमप्राप्त अधिकृत हुन् । हाल संसदको प्रमुख मर्यादापालकका रूपमा कार्यरत उनी छुट्टी लिएर अमेरिका घुम्न गएका छन् ।

साउन ५ को बढुवा सिफारिसमा एसपीहरु तुलबहादुर कार्की, राकेश सिंह, राजीवबहादुर बस्नेत, कमल थापा, प्रवीण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्रप्रसाद फुयाँल, दीपक पोखरेल, दयानिधि ज्ञवाली, दीपेन्द्र शाही र केदार खनाल एसएसपी बढुवा भएका थिए ।

सोही दिनको सिफारिसबाट डीएसपीहरु अनिलकुमार खड्का, महेश थापा, दीपेन्द्र पञ्जियार थारु, दीपक खड्कासहित ११ जना एसपी बढुवाका निम्ति सिफारिस भए थिए ।

इन्स्पेक्टरहरु वसन्त गौतम, पञ्चलाल गोले, होमप्रकाश चौधरी, अनिल पण्डित, प्रकाश थापा, दिलीप क्षेत्री, शेखरजंग मल्लसहित १३ जना डीएसपी बढुवा सिफारिस भएका थिए ।

गृह मन्त्रालयबाट कार्यालय समयभित्र पत्र प्राप्त भएमा आजै उनीहरुलाई दर्ज्यानी चिह्न (फुली) लगाउने कार्यक्रम हुनसक्ने प्रवक्ता घिमिरेले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *