काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन वर्षभित्र काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गरिसक्ने घोषणा गरेका छन् । बुधबार नाइमा अटो एक्स्पोको उद्घाटन कार्यक्रममा पौडेलले टुकुचादेखि पश्चिमको भृकुटीमण्डप परिसरमा रहेका अस्थायी संरचनाहरू भत्काएर आधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनीस्थल निर्माण गरिने बताए ।
चालू आर्थिक वर्षको बजेटमा नै भृकुटीमण्डपमा प्रदर्शनीस्थल बनाउने विषयलाई उच्च महत्वका साथ समावेश गरिएको र बजेटसमेत विनियोजन भइसकेको पौडेलले बताए ।
‘सके दुई वर्षभित्र, नभए पनि तीन वर्षभित्र यो भृकुटीमण्डपमा आधुनिक र अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भइसक्नेछ । यसका लागि आवश्यक परे अन्तर्राष्ट्रिय स्तरका परामर्शदाता र निर्माण व्यवसायीलाई समेत सामेल गराउन सकिनेछ’, उनले भने ।
पौडेलले गुणस्तरीय सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै पूर्व-पश्चिम राजमार्ग, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गको स्तरोन्नति तथा निर्माण कार्यलाई तीव्रता दिइएको जानकारी दिए ।
‘हरेक क्षेत्रमा सुधार भएको छ । यो सुधारमा हामी ढुक्क भएर बस्न सक्दैनौं । आर्थिक क्षेत्रमा तिव्र सुधार गर्नेछौं । यसमा लागि निजी क्षेत्रको पनि साथ सहयोगको अपेक्षा गरेका छौ’, अर्थमन्त्री पौडेलले भने ।

Leave a Reply