इटहरीका मेयरमाथि लाञ्छना लगाएकी विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर छाड्यो

विराटनगर । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेललाई सामाजिक सञ्जाल टिकटकमा आलोचना गर्ने युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको छ । ताजिना विष्टलाईआइन्दा व्यक्तिगत लाञ्छना नलाउने गरी प्रहरीले कागज गराएर छाडेको हो ।

मेयर हेमकर्ण पौडेलको सचिवालयले दिएको उजुरीका आधारमा मङ्गलवार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले दुवै पक्षका बीचमा सहमति भएपछि विष्टलाई छाडिएको बताए ।

उनले भने,‘दुवै पक्षका बीचमा भएको छलफलमा सहमति भयो । विष्टले पनि भिडियो हटाउनु भयो । छलफलमा मेयरको सचिवालयका साथीहरू आउनु भएको थियो ।’

भिडियो विष्टकाविरुद्ध मेयर पौडेलको सचिवालयको तर्फबाट नीराजन पाण्डेको नामबाट इलाका प्रहरी कार्यालय इटहरीमा मङ्गलवार उजुरी परेको थियो ।

उजुरी पाउन साथ इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोली विष्टलाई खोज्दै घरै पुगेको थियो । पछि उनी आफैँ प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्।

छलफलको क्रममा विष्टले लोकतान्त्रिक गणतन्त्रमा विकृति विसङ्गतिविरुद्ध बोल्ने अधिकार सबै नागरिकमा रहेको बताउँदै आफ्नो आवाजलाई नियोजित रूपमा दबाउन खोजेको भन्दै प्रतिवाद गरेकी थिइन् ।

विष्टले इटहरी २ पिपलचौंक पूर्वतर्फको ग्राभेल सडक बर्सेनि बर्खा याममा डुबान हुने र हिँड्न नै नसक्ने अवस्था पुगेको विषयलाई उजागर गर्न खोज्दा प्रहरी लगाई मेयरको सचिवालयले तानासाही व्यवहार देखाएको आरोप लगाइन् ।

उनले बाटो मर्मतका विषयमा पटक पटक गाउँ र टोलमार्फत मेयर पौडेललाई भेट्न उपमहानगरपालिका जाँदा भेट नदिएपछि भिडियो बनाएको दाबी गरिन् । उनले भनिन्,‘यो वडा मेयर पौडेलको आफ्नै वडा हो । समस्याका विषयमा पौडेलले भेट नदिएपछि सुनुवाइका लागि मैले भिडियो बनाएर अपलोड गरेको हुँ ।’

के छ भिडियोमा ?

भिडियोमा विष्ट बाढी कुदिरहेको सडकमा हिँडिरहेकी छन् । हिँड्दै उनले भन्छिन्,‘ १४ जिल्ला ७७ जिल्ला मध्येमा इटहरीका मेयर फटाहा हुन् मेरो नजरमा । तपाइको नजरमा कस्तो हुनुहुन्छ ? प्रतिक्रिया दिन नभुल्नु होला हैत दर्शक वृन्द । भैँसी अहालमा बस्ने पानी जस्तोमा हिँड्नु परेको छ । यो बाटोमा के गर्नु ? पढायो पढायो पाठ सोह्र दुना आठ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *