काठमाडाैं । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी’ फ्रेन्चाइजको पाँचौं श्रंखला दशैंको भोलिपल्टै फ्लोरमा जाने पक्का भएको छ । निर्माण टिमका एक सदस्यले दिएको जानकारी अनुसार दशैंको भोलिपल्टै चलचित्र फ्लोरमा जानेछ ।
‘अहिले स्क्रिप्टको फाइनल छाँटकाटको काम भइरहको छ,’ ती सदस्यले भने, ‘कलाकारहरुमा दयाहाङ राई र सौगात मल्लको अलवा बुद्धि तामाङ, विजय बराल मुख्य भूमिकामा हुनेछन् । तर, हिरोइन को हुने भन्ने चाहिँ पक्का भइसकेको छैन ।’
दयाहाङ कबड्डी श्रंखलाको सुरुवातदेखि नै थिए भने सौगात मल्ला ‘कबड्डी २’ र ‘कबड्डी ४ ः फाइनल म्याच’मा थिए । निर्माण पक्षले फाइनल म्याचलाई अन्तिम श्रंखला भने पनि पुनः पाचौं श्रंखला बनाउने तयारीमा जुटेको हो । यससँगै कबड्डी श्रंखला कहाँ पुगेर टुंगिन्छ, यकिनका साथ भन्न सकिने अवस्था छैन । ‘कबड्डी ४’ले २१ करोड ४० लाख ग्रस गरेको थियो ।
तर, ‘कबड्डी ५’को सेड्युअलले दयाहाङका अन्य चलचित्रको निर्माता र निर्देशकहरुलाई भने अप्ठ्यारोमा पारेको छ । अशोक शर्माको ‘डबल त्रिपल’ भदौमा सुट हुने तालिका थियो । तर, अर्का अभिनेता खगेन्द्र लामिछाने ‘क्याप्टेन साब’मा व्यस्त भएपछि ‘डबल त्रिपल’को सुटिङ मंसिरमा धकेलिएको छ ।
‘डबल त्रिपल’सँग माओत्से गुरुङको ‘पेन्सन पट्टा’ र अनिल बुढाको ‘मित ज्यु’मा पनि दयाहाङ नै छन् । यी तिनै चलचित्रले मंसिर ताकिरहेका छन् । अब दयाहाङले यी तीनमध्ये कुन चलचित्र छनोट गर्छन्, त्यही चलचित्रको सुट मंसिरमा हुनेछ ।

Leave a Reply