दशौं साधारण सभा र मर्जरसम्बन्धी निर्णय सच्याउन माग गर्दै ग्रामीण विकासका शेयरधनी महिलाले गुहारे गभर्नर

रुपन्देही । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.का संस्थापक शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी गर्न पुगेका छन् ।

संस्थापक शेयरधनी महिलाहरुले संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले अख्तियारीको दुरुपयोग गरी सम्पन्न गरिएको साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी गर्न पुगेका हुन् ।

संस्थापक शेयर सदस्य रहेका महिलाहरुले गत असार २८ गते सम्पन्न दशौं साधारण सभामा गरिएको निर्णय, आफूहरुमाथि गरिएको दुव्र्यवहार र अपमानविरुद्ध आन्दोलन गर्दै आएका छन् । साधारण सभा परिसरमा शक्ति प्रयोग गरेर प्रहरी परिचालन गरी सभाहल प्रबेशमा रोक लगाउँदा आफूहरुलाई अन्याय भएको उनीहरुको भनाई छ ।

विगतमा महिलाहरुको बैंक भनेर चिनिएको यो ग्रामीण लघुवित्तमा संचालक समितिमा कुनैपनि महिला सदस्य नराखिनु, साधारण सभामा संस्थापक शेयर सदस्यहरुलाई खबर नगरिनु, संस्थाले थेग्नै नसक्ने गरी आर्थिक भार पार्नु आदि कारणले संस्था धरासायी भएको र राष्ट्र बैंकसमक्ष संस्थालाई बचाइदिन मागसमेत गरेको संस्थापक शेयर सदस्य मिना भट्टराईले बताइन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर शेयरधनी महिलाहरुले संस्थाको संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले गरेको ज्याजतिप्रति आवश्यक छानविन र कडा कारबाहीको माग गरेका हुन् ।

संचालक समिति र प्रमुख कार्यकारी अधिकृतले संस्थापक शेयरधनी महिलाहरुलाई गुमराहमा पारेर साधारण सभा गरेको, सभास्थल पटकपटक फेरेको, सभाहलमा पुगेका शेयरधनी महिलाहरुलाई दुब्र्यवहार र अपमान गरिएको र समस्त शेयरधनी, कर्मचारी र ग्राहकहरुको हित विपरीत मर्जरको निर्णय भएकोले आन्दोलनको कदम चाल्न वाध्य भएको उनीहरुले बताएका छन् ।

ज्ञापनपत्रमा मर्जरको निर्णय खारेजीको माग गरेका छन् । यसअघि उनीहरुले संस्थाको प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी कटुवाललाई ध्यानाकर्षण गराएका थिए ।

लगत्तै नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवा पुगेर ध्यानाकर्षण पत्र बुझाएका पीडित शेयरधनी महिलाहरुले यहाँबाट पनि कुनै सुनुवाई नभएपछि राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेका हुन् ।

गभर्नर पौडेलले आवश्यक छानविन गरी दोषी ठहर भएमा कारबाही गरिने आश्वासन दिएको संस्थापक शेयरधनी कल्पना शाक्यले बताइन् ।

संस्थापक महिला शेयरधनी तथा पुर्व संचालक जमुना ढकालले राष्ट्रियस्तरको लघुबित्त संस्थालाई ३ जिल्ला कार्यक्षेत्र भएको सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तीय संस्था लि.सँग गाभ्ने साधारण सभाको निर्णय गलत भएको भन्दै तत्काल खारेज गर्नुपर्ने बताइन् ।

लुम्बिनी प्रदेशसभा सदस्यसमेत रहेकी ढकालले अधिकांश महिला शेयरधनीहरुको भावनामाथि खेलवाड गरी गरेको साधारण सभाको निर्णय तत्काल सच्याउन माग गरिन् ।

‘हामी राष्ट्र बैकको मर्जर प्रक्रियाको विरोधी होइनौ तर समान हैसियतको बैक वा वित्तीय संस्थासँग मर्जर गरिनुपर्ने हो, आफ्नो निजी स्वार्थका लागि सो मर्जर प्रक्रिया गर्न खोजिएको प्रस्ट देखिन्छ’ढकालले भनिन्,‘यहि भाद्र ५ सकिदै गरेको संचालक समितिको समयावधी र आफ्नो समयावधी स्वतः थप गर्नका लागि मात्र मर्जर गर्न खोजिएको हो, यो संस्थाको हितमा छैन ।’

नेपाल राष्ट्र बैंकले सिईओ कटुवाललाई आफ्नो कार्यशैली सच्याउन भन्दै पटक पटक नैसियत पत्र पठाई कारबाही गरेको जानकारी गराउँदै ढकालले यस्तो व्यक्तिलाई संस्थाको जिम्मा लगाउन नहुने बताउँदै आफूहरुको माग सुनुवाई नभए कडा आन्दोलनमा जाने चेतावनी दिइन् ।

शेयरधनी महिला पुनम लिगलको धारणा पनि उस्तै छ । ‘नेपाल राष्ट्र बैंकलाई समेत गुमराहमा पारेर गरिएको सामान्य एउटा बित्तीय संस्थाको साधारण सभामा प्रहरीहरु तैनाथ गरेर, संस्थासँग असम्बन्धित व्यक्तिहरु भाडामा ल्याएर गुण्डागर्दी शैलीमा सभास्थललाई घेराबन्दी गरेर, कर्मचारी र शेयरधनीहरुलाई प्रबेशमा रोक लगाएर के गर्न खोजिएको हो ?’

उनले भनिन् ‘संचालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतमाथि तत्काल छानविन गरी कारबाही गरिनुपर्दछ ।’

संस्थाका प्रमुख कार्यकारी अधिकृत कटुवालले हालै ५५० जना कर्मचारी नियुक्ति गर्दा गैरकानुनी र अपारदर्शी ढंगले भर्ना गरेको, महंगा गाडी खरिद गरेको आदि विषयमा छानबिन हुनुपर्ने माग उनीहरुको छ ।

त्यसैगरी संस्थाको संचालक समितिको बैठक केन्द्रीय कार्यालय बुटवलमा नगरी काठमाडौंका तारे होटेलहरुमा गर्ने, प्रमुख कार्यकारी अधिकृत काठमाडौं जाँदा आफू जहाजबाट जाने र गाडी सडक मार्गबाट पठाउने गरेको लगाएत संस्थाको हित विपरीत आर्थिक अपचलन गरेको, तत्काल मर्जर नगरे संस्थालाई पिसिए लाग्छ भन्दै धम्काउने गरेको आरोप पनि लगाएका छन् ।

तर संस्थाले यसअघि नै कानूनी प्रकृया पूरा गरेर साधारण सभा गरेको आफ्नो धारणा सार्वजनिक गरेको छ । देशभरका ५ वटा ग्रामीण विकास मर्ज भएर अहिले यो बैंक बनेको हो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *