जनार्दनको प्रहसन पीडादायी छ, टोपबहादुर हुने बाटोबाट फर्किनुस्

नेकपा माओवादी केन्द्रको गत साउन १६ देखि बसेको स्थायी समिति बैठकको आज तेस्रो दिनसम्म आइपुग्दा उपलब्ध ४१ जना सदस्यहरूले अध्यक्ष प्रचण्डले मौखिकरूपमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि धारणा राखे ।

स्थायी समिति सदस्यहरूले समग्र राजनीतिक परिस्थितिमा माओवादी केन्द्रको भूमिका र संगठनात्मक प्रश्नमा नै आफ्नो प्रस्तुति दिए । सबैजसो प्रस्तुतिको केन्द्रीय चासो भने पार्टीका उपमहासचिव जनार्दन शर्मा नै देखिए । त्यसो त अध्यक्ष प्रचण्डले कतिपय बुँदा छलफलका लागि प्रस्तुत नगरेका होइनन् । तर, चर्चाको मुख्य विषय भने शर्माका पछिल्ला गतिविधि र अभिव्यक्ति नै रहे ।

अघिल्लो स्थायी समिति र केन्द्रीय समितिको बैठकभन्दा नाटकीय रूपमा यसपालि फरक चाहिँ के रह्यो भने, यसअघि जनार्दन शर्माले उठाएका विषयका पक्षमा रहेका खगराज भट्टदेखि अन्य कतिपय स्थायी समिति सदस्य यसपटक भने शर्माको विरुद्ध देखिए । यतिमात्रै होइन, पार्टीभित्र कार्यशैलीका सन्दभमा अध्यक्षसँग असहमति राख्ने राम कार्कीदेखि परशुराम तामाङहरू समेत जनार्दन शर्माप्रति असहिष्णु नै देखिए । स्थायी समितिमा आफ्नो धारणा राख्ने ३९ जनाले पूर्णरूपमा प्रचण्डको प्रतिवेदनमा सहमति जनाए भने बाँकी तीनजनाले प्रचण्डमाथि मात्रै होइन, जनार्दन शर्मामाथि पनि प्रश्न तेर्स्याए ।

माओवादी केन्द्रभित्र प्रचण्डका पक्षमा पछिल्ला केही समयदेखि यो स्तरको समर्थन र ऐक्यवद्धता आफैमा अर्थपूर्ण त छँदैछ, त्यो भन्दा बेसी जनार्दन शर्माको शैली, गतिविधि र अभिव्यक्तिविरुद्ध सिंगो स्थायी समिति देखिनु पनि नवीन परिदृश्य हो ।

अबको बाटो जनार्दनले जनवादी केन्द्रीयताको मर्म अनुरूप आफूले भनेका कुराहरूको जवाफ खोज्दै जाने या शत् प्रतिशत सदस्यको धारणाविपरित फरक मत राखेर जानेमात्रै हो । यदि शत् प्रतिशतले ठहर गरेको कुरा पनि चित्त बुझेन भने उहाँका लागि पार्टी छोड्नेबाहेक विकल्प रहन्न । यो नै नैतिकता हो ।

योसँगै अर्को नाटकीय प्रसंग पनि देखियो । स्थायी समिति बैठक सुरू भएको दोश्रो दिनसम्म २५ जना सदस्य (अनुशासन आयोगसहित) ले जनार्दन शर्माको कार्यशैलीमाथि प्रश्न तेर्स्याए । विधि र पद्धतीको कुरा गर्ने जनार्दनले नै सबैभन्दा बढी विधि मिचेको, आत्मकेन्द्रीत व्यक्तिवादी चिन्तनले ग्रसित भएको, संगठनात्मक अराजकता प्रदर्शन गरेको, पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको उनीहरूको आरोप थियो ।

त्यसो त जनार्दन शर्माका गतिविधिहरूले यी २४ जना स्थायी समिति सदस्यहरूले उठाएका प्रश्नलाई नै समर्थन गरेको घटनाक्रमले पुष्टि नगरेको होइन । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि सरकारविरुद्धको संघर्षमा उत्रिएको बेला जनार्दन शर्माले पार्टीभित्र संगठनात्मक प्रश्न झिकेर विवाद सिर्जना गरेपछि सरकारविरुद्धको संघर्ष ओझेलमा परेको थियो । त्यसपछि उनले आफूलाई अझै क्रान्तिकरी साबित गर्न प्रचण्ड सरकारले भूकम्पपीडितका लागि केही नगरेको, तर ओली सरकारले धेरै कुरा गरेको भन्ने अभिव्यक्ति सार्वजनिक गरे ।

यी सबै कुराबीच पार्टीभित्र व्यापक बहस र माओवादी केन्द्रभित्र सरकारका जनविरोधी काम भन्दा आन्तरिक विवादमा आरोप प्रत्यारोप चल्यो । तर, यही बीचमा उनी केपीसँगै थाइल्याण्ड भ्रमणमा पुगे र अध्यक्ष प्रचण्ड र माओवादी पार्टीविरुद्धका षड्यन्त्रमा सामेल भए । केही समयपछि माओवादीले हुलाकी राजमार्ग र मध्यमहाडी लोकमार्गकेन्द्रीत अभियान चलाएपछि जनार्दनले उठाएका विषय ओझेलमा परे ।

यता सरकारका अलोकप्रिय कदमले एकपछि अर्को गर्दै सरकार कमजोर, नैतिकहीन र आधारहीन बनेको बेला अचानक जनार्दन शर्माले अध्यक्ष प्रचण्ड विरुद्ध नै फायर खोले । उनले प्रचण्डलाई समेत असुली धन्दामा रहेको गम्भीर आरोप लगाए । यो घटनाक्रमपछि भने सिंगो माओवादी पंक्ति जनार्दनप्रति सशंकित बन्यो । आखिर पार्टीले जनसमर्थनको उचाइ लिएको बेला, केपी सरकारको विरोध चुलिएको बेला मात्रै जनार्दनले किन पार्टीभित्रको विवाद अगाडि सार्छन् भन्ने गम्भीर प्रश्न उठ्यो । यसको प्रतिबिम्ब स्थायी समितिको बैठक बन्यो ।

स्थायी समिति सदस्यहरूले व्यक्त गरेका धारणाहरूको सार पनि यही थियो । यदि पार्टीमा केही समस्या छ भने त्यसको समाधानका लागि पार्टीभित्रै छलफल गर्न सकिन्थ्यो । विशेष फोरमको माग गर्न सकिन्थ्यो । तर, पार्टी संघर्षमा जुटेको बेला, सरकारका अलोकतान्त्रिक, निरंकुश र लोकतान्तिक गणतन्त्रविरुद्ध नै कतिपय निर्णय गरेर जनतामाझ आक्रोश फैलिएको बेला नै किन उनले पार्टीको विवाद सार्वजनिक गर्न थाल्छन् भन्ने प्रश्न स्थायी समिति सदस्यहरूले उठाए ।

पार्टीभित्र मात्रै राख्नुपर्ने विषय सार्वजनिक गरिरहेका छन् ? जनवादी केन्द्रीयता र कम्युनिष्ट पार्टीको मूल्य मान्यतावारे जनार्दनलाई जानकारी नहुने त कुरै होइन । तर उनले जसरी निरन्तर पार्टी बाहिरगएर नेतृत्वविरुद्ध प्रहार गरिरहेका छन्, यसले उनी माओवादी पार्टी कमजोर बनाउने अभियानमा छन् भन्ने स्पष्ट हुन्छ ।

आम जनतामा माओवादी पार्टी र यसको मुख्य नेतृत्वप्रति विश्वास बढिरहेको समयमा उनले पार्टी र नेतृत्वप्रति आशंका र अविश्वास बढाउने कार्य गरिरहनुबाट माओवादीको अस्तित्व मेटाउनु पर्छ भनेर लागिरहेका प्रतिक्रियावादी र दलाल विचौलियाको स्वार्थमात्रै पुर्ति हुने निश्चित छ ।

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि सरकारविरुद्धको संघर्षमा उत्रिएको बेला जनार्दन शर्माले पार्टीभित्र संगठनात्मक प्रश्न झिकेर विवाद सिर्जना गरेपछि सरकारविरुद्धको संघर्ष ओझेलमा परेको थियो ।

माओवादी केन्द्रका संसदीय दल नेता हितराज पाण्डेले संसदको प्रसंग उठाउँदै व्यवस्थापिक सदनमा शर्माको भूमिकामाथि नै प्रश्न गरे । सरकारको विरोध गर्नुको साटो आफू फरक हुँ भन्ने देखाउन जनार्दन सरकारले परोक्षरूपमा जनविरोधी सरकारलाई नै फाइदा पुग्ने हर्कत गरेको उनले आरोप लगाए । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) ले युद्धकालको जनार्दन देख्न चाहेको टिप्पणी गरे । शक्ति बस्नेतले त यी सबै कुरा उल्लेख गर्दै जनार्दन सामान्य अवस्थामा नरहेको र उनी कतैबाट परिचालित भएको गम्भीर आरोपसमेत लगाए ।

प्रश्न उठ्छ, स्थायी समितिका झण्डै शतप्रतिशत सदस्यले जनार्दनको आलोचना गर्दापनि, उनका गतिविधिले पार्टी र आन्दोलनलाई क्षति पुगेको स्पष्टरूपमा व्यक्त गर्दा पनि जनार्दनले भने यसको आत्मालोचना गर्नु आवश्यक ठानेनन् । बरु, उनले उल्टै अध्यक्ष प्रचण्डलाई प्रश्न गरे, ‘३२ लाख भोट थियो, अहिले घटेर १०, १२ भएको छ, यसको जिम्मा प्रचण्डले लिने कि नलिने ?’

यो प्रश्न गर्दा उनले के कुरा बिर्से भने, शान्ति सम्झौता गर्ने निर्णयदेखि पछिल्लो दुई बुँदे सहमतिसम्म प्रचण्डले कुनै पनि निर्णय एकलरूपमा कहिल्यै गरेका छैनन् । उनले हरेक निर्णय लिनुअघि आवश्यकताअनुसार पदाधिकारी (कार्यालय) र अन्य समितिको बैठक बसेर निर्णय गराएका छन् । आजका मितिसम्म प्रचण्डले एकल निर्णय गरेको कुनै औपचारिक घटना छैन । यो परिस्थितिमा कुनै पनि निर्णय हुँदा त्यसको समान हिस्सेदार जनार्दन आफैँ पनि थिए ।

यदि उनी प्रचण्डसँग अहसमत हुन्थे भने त्यतिबेला किन फरक मत राखेनन् ? अहिले पार्टीभित्र छलफलमा उनीबाहेक सिंगो स्थायी समिति जनार्दनले गल्ती गरेकै हुन् भन्ने निष्कर्षमा पुग्दा त्यसलाई आत्मसात् गर्नुको सट्टा उल्टो अध्यक्षमाथि आरोप लगाउने र पार्टी बाहिर पनि अनर्गल प्रचार गराउने कार्यमा जनार्दन किन संलग्न छन् ? उनका यस्ता गतिविधिले जनार्दनको शरीर यो पार्टीमा भए पनि उनको मन प्रतिक्रियावादी दलालहरूसँगै रहेको पुष्टि हुन्छ ।

तर, विडम्बना, उनले रियलाइजेसन या आत्मालोचना गर्न चाहेनन् । उल्टै प्रश्न गरे, ‘३१ लाख भोटको हिसाब खोई ?’ अनि स्थायी समिति सदस्यहरूले प्रतिप्रश्न गरे, ‘अचानक ३१ लाखको याद कसरी आयो । पार्टीका तर्फबाट पटकपटक सरकारमा जाँदा ३१ लाखलाई ३२ लाख, ३५ लाख बनाउन तपाईले के गर्नुभयो ?’ उपाध्यक्ष हरिबोल गजुरेलले त बिजुलीको पोल किन्ने बहानमा भ्रष्टाचार गरेको नै संकेत गर्नुभयो । यस्ता कैयन आरोप उहाँले लगाउनुभयो । आफूमात्रै चोखो अरु सबै भ्रष्ट भन्ने शर्माको अभिव्यक्तिपछि उनीबारे पोष्टबहादुर बोगटी आयोगको प्रतिवेदनको ठहर पनि अहिले चर्चामा छ ।

यथार्थ के हो भने ३१ लाख भोट आधाभन्दा बढी घट्नुमा जनार्दनदेखि प्रचण्ड र सिंगो माओवादी पार्टी नै जिम्मेवार छ । प्रचण्डको टाउकोमा दोष थुपारेर उम्किने छुट जनार्दनलाई छैन । बरु, उनको यही मानसिकताका कारण सिर्जना भएको गुटबन्दीले गर्दा कति भोटको क्षति भयो भन्ने हिसाब उनले दिन सक्छन् र ? उदाहरणका लागि कञ्चनपुरको झलारी नगरपालिकामा माओवादीले आधिकारिक उम्मेदवार घोषणा गरेका व्यक्तिविरुद्ध जनार्दन समूहले अर्को उम्मेदवार उठाएपछि के भयो ?

सुदूरपश्चिमलगायत देशका कैयन अरु स्थानमा जनार्दन पक्षधरले अनैतिक हस्तक्षेप गर्दा कति सीट गुमे ? कञ्चनपुरमा प्रदेश निर्वाचन जित्न सकिएको क्षेत्रमा स्थानीय तह हार्ने परिस्थित त्यसै सिर्जना भएको होइन । संघमा एकजना पनि प्रतिनिधित्व हुन नसक्नुमा उनकै गूटवालाहरूको भूमिका मुख्य छैन र ? यसको लेखाजोखा जनार्दनले गर्नुपर्दैन र ?

आम जनतामा माओवादी पार्टी र यसको मुख्य नेतृत्वप्रति विश्वास बढिरहेको समयमा उनले पार्टी र नेतृत्वप्रति आशंका र अविश्वास बढाउने कार्य गरिरहनुबाट माओवादीको अस्तित्व मेटाउनु पर्छ भनेर लागिरहेका प्रतिक्रियावादी र दलाल विचौलियाको स्वार्थमात्रै पुर्ति हुने निश्चित छ ।

यी सबै घटनाक्रमले के देखाउँछन् भने जनार्दन सुध्रिन चाहन्नन् । उनी क्रान्तिकारी आन्दोलनभन्दा निकै पर पुगिसकेका छन् । घटनाक्रमले माओवादीलाई कमजोर पार्न सक्रिय तत्वहरूको प्रभावमा उनी रहेको देखाउँछ । जब-जब माओवादी बलियो हुन्छ, जब-जब माओवादीले सरकार, बिचौलिया र दलालविरुद्ध चर्को आवाज बोल्छ, ठीक त्यही समयमा जनार्दनले संघर्षको मुद्दा ओझेलामा पार्ने गरी लफडा झिक्छन् ।

जतिबेला सरकारविरुद्ध, जनताका पक्षमा उभार आएको हुन्छ, ठीक त्यही बेला उनले बेमौसमी बाजा बजाउँछन् । यदि उनी परिचालित छैनन् भने यी पटकपटकका घटनाहरूले के पुष्टि गर्छन् त ? माओवादीको ओज बढेको बेला, माओवादी संघर्षको उचाइमा पुगेको बेला, जनतामाझ सघन सम्बन्ध विकास भइरहेको बेला उनले अचानक झैँ लाग्ने गरी पार्टीभित्र विवाद सिर्जना गर्छन् ।

यसले उनी माओवादीलाई छिन्नभिन्न पार्ने, कमजोर पार्ने, यथास्थितिवादलाई मलजल गर्न चाहने दलाल र बिचौलियाको प्रभावमा छैनन् भनेर कसरी पत्याउने ? तर, पछिल्लो समयमा, स्थायी समितिको बैठकमा सबैजसो सदस्यहरूले उनको कदमको विरोध गर्दा समेत उनले पार्टी र नेतृत्वमाथि प्रश्नको हमला गर्छन् । मानौं, किन उनी एकजना शुद्ध हुन, उनी एकजना क्रान्तिकारी हुन, उनी एकजनालाई संगठन, पार्टी र आन्दोलनको चिन्ता छ, बाँकी ९९ प्रतिशत बेबकूफ हुन्, बेकार हुन् जस्तो व्यवहार उनले प्रदर्शन गरेका छन् ।

सर्वसम्मतरूपमा जनार्दनको आलोचना हुँदा समेत आत्मबोध नगरी ‘म मात्रै सही हो’ भन्ने उनको व्यक्तिकेन्द्रीत अभिव्यक्तिले पार्टीमा ठूलो बहस निम्त्याउने निश्चित छ । तर, यसको केन्द्रमा जनार्दन हुनेछन् । पार्टीको निर्णय नमान्ने, पार्टीको बैठकमा माइन्यूट नगरी हिँड्ने, संसददेखि सडकसम्म पार्टीभन्दा पनि प्रमुख सचेतक हितराज पाण्डेकै शब्दमा आफू फरक देखिन जे पनि बोल्ने उनका गतिविधिहरूको हिसाब पार्टीले खोज्ने अवस्थामा जनार्दनको हैसियत के हुन्छ ? गलत भए एकजना हुन्छ, दुइजनाले पूर्वाग्रह राख्न सक्लान् ।

तर, झण्डै शतप्रतिशत सदस्यहरूले उनको विरोध गरेको अवस्थामा उनले आफूलाई कसरी प्रमाणित गर्न सक्छन् ? उनले आत्मालोचना गर्दैनन र उनी छोडेर बाँकी शतप्रतिशतको विरोध गर्दै हिँडछन् भने उनलाई माओवादी केन्द्रमा बस्ने नैतिक अधिकार रहन्छ कि रहन्न भन्ने गम्भीर प्रश्न समेत यहाँ उठेको छ । किनभने, सिंगो पार्टीपंक्ति गलत हुने, जनार्दन मात्रै सही हुने भन्ने कुरा वैज्ञानिक रूपमा कसैगरी पनि पुष्टि गर्न सकिन्न ।

माओवादीको जनतासँगको सम्बन्ध टुटेको छ, कार्यदिशा अनुरूप संगठन सक्रिय हुन सकेको छैन, समस्या छ भन्ने कुरा सबैले स्वीकार गरेको कुरा हो । तर, यसका लागि एकल प्रचण्डलाई मात्रै दोष दिनु जनार्दनहरूको ठूलो समस्या हो । जबकि, उनी आफैँ संगठन विभाग प्रमुख हुन् । उनलाई सबै थाहा छ, र पनि उनी फरक देखिन स्टण्ट, अराजकतामा उत्रिन्छन् भने उनलाई कारबाही गर्नुबाहेक कुनै विकल्प पार्टीसँग रहन्न ।

सुदूरपश्चिमलगायत देशका कैयन अरु स्थानमा जनार्दन पक्षधरले अनैतिक हस्तक्षेप गर्दा कति सीट गुमे ? कञ्चनपुरमा प्रदेश निर्वाचन जित्न सकिएको क्षेत्रमा स्थानीय तह हार्ने परिस्थित त्यसै सिर्जना भएको होइन । संघमा एकजना पनि प्रतिनिधित्व हुन नसक्नुमा उनकै गूटवालाहरूको भूमिका मुख्य छैन र ? यसको लेखाजोखा जनार्दनले गर्नुपर्दैन र ?

किनभने, कम्युनिष्ट पार्टीहरू जनवादी केन्द्रीयतामा विश्वास राख्छन् र सोही अनुरूप अभ्यासपनि गर्छन् । असहमति राख्ने ठाउँमा खुलेरै असहमति राख्ने, तर एकपटक निर्णय भइसकेपछि दृढताका साथ पालना गर्नु नै सच्चा लेनिनवादी संगठन सिद्धान्त मान्ने क्याडर हुन्छ । मन नपरे जतापनि जसरी पनि पार्टीलाई नै नोक्सान हुने गरी बोल्ने भनेको व्यक्तिगत महत्वांकाक्षी, आफूलाई फरक देखाउन गरिने स्टण्टबाहेक केही हुन सक्दैन ।

अबको बाटो जनार्दनले जनवादी केन्द्रीयताको मर्म अनुरूप आफूले भनेका कुराहरूको जवाफ खोज्दै जाने या शत् प्रतिशत सदस्यको धारणाविपरित फरक मत राखेर जानेमात्रै हो । यदि शत् प्रतिशतले ठहर गरेको कुरा पनि चित्त बुझेन भने उहाँका लागि पार्टी छोड्नेबाहेक विकल्प रहन्न । यो नै नैतिकता हो । यद्यपि, उनको बहिर्गमनले पार्टीले केही क्षति भने नपुग्ने होइन, तर त्यो भन्दा खुशी प्रतिक्रियावादी र प्रतिगामी तत्वहरूलाई नै हुनेछ ।

अन्तमा, जनार्दनका अगाडि जम्मा एउटा विकल्प छ । संगठनात्मक र वैचारिक प्रश्नमा केही फरक मत भए समितिमा राख्ने । या, पार्टीको नीति विपरीत आफूलाई लागेको कुरा सार्वजनिकरूपमा व्यक्त गर्दै पार्टी र आन्दोलनलाई नै कमजोर पार्ने । यदि यो अवस्था निरन्तर जारी भए पार्टीबाट निष्कासित हुन उनी तयार हुनुपर्ने हुन्छ ।

हामी आशा गरौं जनार्दन शर्माले स्थायी समितिको मर्म अनुरूप आफूलाई सच्याउनुहुनेछ । स्वार्थ समूह भत्काउनु हुनेछ । असहमतिहरू पार्टी बैठकमा राख्नुहुनेछ । कसैले होस्याएको, उक्साएको भरमा पार्टी, आन्दोलन र नेतृत्वविरुद्ध बोल्नु हुनेछैन । अन्यथा, उहाँको नियति टोपबहादुर रायमाझीबाहेक अरु हुन सक्ने देखिन्न । जनयुद्धका एकजना कमाण्डर, जुझारु, डाइनामिक कम्युनिष्ट क्याडरको यो दु:खान्त प्रहसन साँच्चिकै पीडादायी हुनेछ ।

(लेखक नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य हुन् ।)

Comments

One response to “जनार्दनको प्रहसन पीडादायी छ, टोपबहादुर हुने बाटोबाट फर्किनुस्”

  1. samir Avatar
    samir

    १७००० नेपालीको बर्बर हत्यारो प्रचण्डेको मुख्य काम नै असुली धन्दा हो भन्ने त गुरिल्ला शिबिरमा ८ अर्ब खाएको बेलादेखी नै छर्लङ्ग भएकै हो!
    माओवादी भनेकै अपराधीहरुको गिरोह हो। कृष्ण महरा भन्ने माओवादी सभामुख हुँदैमा रातिराती अरुको स्वास्नी बलात्कार गर्दै हिड्ने गर्थ्यो।
    अर्को हत्यारा नन्दे पुन उपराष्ट्रपति हुँदा पुरै सचिवालय सुन तस्करीमा लगायो।
    अर्को जनार्दन शर्मा त मध्यरातमा देशको ढुकुटी प्वाल पार्ने मुसो हो।
    त माओवादीहरु सबै अपराधीहरु हौ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *