सल्यानमा पहिरोले दुई मुख्य सडक ठप्प, जनजीवन अस्तव्यस्त

सल्यान। लगातारको वर्षासँगै आएको पहिरोका कारण सल्यानको दुई मुख्य सडक ठप्प भएको छ ।

राप्ती राजमार्ग र लुहाम सुर्खेत सडक खण्ड दुई स्थानमा पहिरो खस्दा पूर्णरूपमा बन्द हुँदा जनजीवन अस्तव्यस्त बनेको हो।

कपुरकोट गाउँपालिका–३, चोरखोलामा आएको ठूलो पहिरोले आइतबार बिहान राप्ती राजमार्गको प्रमुख खण्ड अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिएका छन् ।

उनका अनुसार, सडक पूरै पुरिएपछि सवारी साधन बिच बाटोमै अलपत्र परेका छन्। साना गाडीहरू वैकल्पिक बाटो प्रयोग गरेर गन्तव्यतर्फ लागे पनि ठूला सवारीहरू अझै फसेका छन्। यात्रुहरू घण्टौँसम्म बाटोमा अलपत्र परिरहेका छन् भने तत्कालै सडक खुल्ने सुनिश्चितता छैन।

त्यसैगरी, सुर्खेत र दाङ जस्ता महत्वपूर्ण गन्तव्यहरू जोड्ने लुहाम, काभ्रा, कालीमाटी, सुर्खेत सडक पनि दलपुरे भन्ने स्थानमा आएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको छ।

कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रबिलाल बस्नेतका अनुसार, पहिरो अझै खसिरहेकाले आवतजावत जोखिमपूर्ण बनेको छ। स्थिति नियन्त्रणबाहिर जान सक्ने भएकाले सम्बन्धित प्रहरी इकाइलाई जानकारी दिइएको छ।

स्थानीयहरूले वैकल्पिक बाटो खोज्दै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। कतिपय बिरामी, वृद्धवृद्धा र विद्यार्थीहरू गन्तव्यमा पुग्न नसकी घरमै थुनिएका छन्। यो अवस्था अझै केही दिन जस्तोसुकै वर्षा भएमा झन जटिल बन्ने चिन्ता व्यक्त गरिएको छ।

यसै सडकमार्गमार्फत त्रिवेणी गाउँपालिका स्थित लुहामबाट सुर्खेत तथा पश्चिम दाङको नियमित आवागमन हुँदै आएको थियो। छोटो दूरीको यस सडक बन्द हुँदा व्यापार, स्वास्थ्य सेवा, शिक्षा र आपतकालीन यात्रामा समेत प्रभाव परेको छ।

स्थानीय प्रशासन र सुरक्षाकर्मीले सडक खुलाउने प्रयास जारी राखेको भए पनि पहिरो नरोकेसम्म ठूला सवारी चल्न असम्भव हुने देखिन्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *