एबी डिभिलियर्स भन्छन्ः नेपाल खतरनाक टीम हो, भविष्यमा एनपीएल खेल्न सक्छु (भिडिओ)

काठमाडौं । दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर एबी डिभिलियर्सले नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । नेपालले लामो यात्रा तय गरेर यहाँसम्म आएको उनको टिप्पणी छ ।

भारतीय युट्यूवर शुभांकर मिश्रले आफ्नो पोडकास्टमा हालै डिलियर्ससँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा उनले गत टी २० विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाबीचको भिडन्तको प्रसंग निकाले ।

‘नेपालले टी-२० विश्वकपमा साउथ अफ्रिकालाई झण्डैले हराएको थियो होइन ?’ भन्ने प्रश्नमा डिभिलियर्सले हाँस्दै भने- नेभर (बिल्कुलै होइन) । त्यसपछि उनले फेरि थपे, म जोक गर्दै थिएँ । उनीहरु वास्तवमा गज्जबको टिम हुन् जो लामो यात्रा तय गरेर आएका छन् । उनीहरू खतरनाक टीम हुन् ।’

डिभिलियर्सले नेपाली टीम अझै बढी कन्सिस्टेन्ट हुनुपर्ने सुझाव दिए । यसका लागि नेपालले धेरै भन्दा धेरै क्रिकेट खेल्ने अवसर पाउनुपर्ने उनको भनाइ छ ।

‘उनीहरूले धेरै मौकाहरू पाउनुपर्छ । तर, यस निम्ति अरु कोही उत्तरदायी छ । नेपाल र नेपालजस्ता देशका खेलाडीहरूलाई बढी अवसर दिनका लागि क्रिकेटका आयोजकहरूले सोचुन्,’ उनले भने ।

मिश्रले सोधे, ‘तपाईंले नेपाल क्रिकेट लिग खेल्दै हुनुहुन्छ भन्ने हल्ला पनि थियो, के सत्य हो ?’

डिभिलियर्सले आफूलाई नेपालबाट प्रस्ताव आएको तर व्यस्तताले नभ्याएको बताए । भविष्यमा एनपीएल खेल्न सक्ने उनको भनाइ थियो ।

उनले भने, ‘मलाई इन्भाइट गरिएको थियो । तर, म अलिकति व्यस्त थिएँ । मेरो तालिकासँग मिलेन । म आजकाल छोटा प्रतियोगिताहरू खेलिरहेको छु । अहिले युकेमा परिवारसहित छु । भविष्यमा (एनपीएल खेल्ने सम्भावना) हुन सक्छ । नेभर से नेभर ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *