निर्यात घटे पनि अलैँचीको भाउ १० वर्ष यताकै उच्च 

विराटनगर । कोशी प्रदेशमा उत्पादन भएका चिया, फलामे पाता, भेनियर सिट, प्लाइउड, मोलासिको निर्यात बढेको छ । मेची भन्सार कार्यालयका अनुसार यो वर्ष सबैभन्दा बढी मोलासिसको निर्यात २४७ प्रतिशतले वृद्धि भएको छ ।

मोलासिस उखुबाट उत्पादन भएको पदार्थ हो । यसको प्रयोग गाईवस्तुको दाना बनाउन प्रयोग हुने गरेको छ । मेची भन्सार कार्यालयका अनुसार ५१ करोड रुपैयाँ बराबरको मोलासिस निर्यात भएको हो ।

मोलासिस पछि भेनियर सिटको निर्यात बढेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष ७२.३ प्रतिशतले भेनियर सिटको निर्यात बढेको छ । मेची भन्सार कार्यालयका अनुसार नौ करोड ४५ लाख ६६ हजार मूल्य बराबरको भेनियर सिट निर्यात भएको छ । अघिल्लो वर्ष ५ करोड ४८ लाख ७६ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो ।

यसै गरी भारतीय व्यापारीले चिया निर्यातमा अवरोध गरे पनि चिया निर्यात बढेको छ। अघिल्लो वर्षको तुलनामा मेची भन्सार कार्यालयबाट ३२.५ प्रतिशतले चिया निर्यात बढेको हो । पूर्वी नाका काँकडभिट्टाबाट यो मात्रै  चार अर्ब २१ करोड ३५ लाख ९२ हजार रुपैयाँको चिया निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

सो नाकाबाट अघिल्लो वर्ष ३ अर्ब १७ करोड ९५ लाख २७ हजार रुपैयाँको चिया निर्यात भएको थियो । सिटिसी चिया भारत र अर्थोडक्स चिया तेस्रो मुलुक निर्यात हुन्छ । अहिले नेपालको चिया भारतसहित अमेरिका, अस्ट्रेलिया, चीन, चेक गणतन्त्र, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, जापान, कोरिया, नर्वे, फिलिपिन्स, कतार, साउदी अरेबिया, सिंगापुर, स्विजरल्याण्ड, थाइल्यान्ड, बेलायतसम्म निर्यात भइरहेको छ ।

चिया तथा कफी विकास बोर्डको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार नेपालमा वार्षिक एक करोड ६४ लाख किलो चिया उत्पादन हुन्छ भने २० हजार हेक्टर क्षेत्रफलमा चिया खेती छ । पूर्वी नेपालको सङ्खुवासभा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, धनकुटा, इलाम, झापालगायत जिल्लामा चियाको व्यावसायिक खेती हुन्छ । पश्चिम नेपालमा पनि केही वर्षयता चिया खेती हुन थालेको छ ।

यसै गरी प्लाइउडको निर्यात ७.६ प्रतिशतले वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार ३ अर्ब ३२ करोड ८९ लाख रुपैयाँको प्लाइउडको निर्यात भएको छ । अघिल्लो वर्ष सो कार्यालयबाट ३ अर्ब ९ करोड ३८ लाख रुपैयाँको प्लाइउड निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यसै गरी मेची भन्सार कार्यालयबाट अघिल्लो वर्षको तुलनामा फलामे पाता निर्यात १.८ प्रतिशत रुपैयाँले बढेको छ । कार्यालयका अनुसार ४ अर्ब ४२ करोड २७ लाख रुपैयाँ बराबरको फलामे पाता निर्यात भएको जनाएको छ । अघिल्लो वर्ष ३ अर्ब २७ करोड लाख ३५ लाख रुपैयाँ बराबरको फलामे पाता निर्यात भएको थियो ।

निर्यात  घटे पनि आम्दानी बढ्यो 

अलैँची,अम्लिसो र अदुवाको निर्यात अघिल्लो वर्षको तुलनामा घटे पनि किसानहरूले मूल्य पाउँदा उनीहरू उत्साहित भएका छन् । यो वर्ष अलैँचीको भाउ १० वर्ष यताकै उच्च भएको छ । अहिले अलैँची प्रतिमन ९० देखि ९५ हजार रुपैयाँमा बिक्री भइरहेको छ ।

इलाम उद्योग वाणिज्य सङ्घ अध्यक्ष कृष्ण पौड्यालले अलैँचीको भाउ  १० वर्ष यताकै राम्रो भएको बताए । १० वर्षअघि प्रतिमन एक लाख रुपैयाँ  अलैँचीको कारोबार भएको थियो । त्यसपछि ०७९ सालमा प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको थियो,’ अध्यक्ष पौड्यालले  भने, ‘यो साल मङ्सिर–पुसतिर प्रतिमन एक लाख १० हजारसम्ममा किनबेच भयो ।

खोल्सीको सुन, कालो सुन भनिने अलैँचीको मुख्य बजार भारत मानिन्छ । काँकडभिट्टा भन्सारले दिएको जानकारी अनुसार अलैँची निर्यातबाट एक वर्षमा कुल ७ अर्ब ६७ करोड रुपैयाँ आम्दानी भएको छ । यो वर्ष काँकडभिट्टा भन्सार नाकाबाट निर्यात गरिएका सामानहरूमध्ये सबैभन्दा बढी प्राप्त रकम हो ।

अलैँची पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा र भोजपुर जिल्लाहरूमा उत्पादन हुने मुख्य कृषि वस्तु हो । अलैँची उच्च मूल्यको कृषि उत्पादन हो । कोशी प्रदेशका पहाडी जिल्लाहरूमा उत्पादन हुने अलैँची प्रशोधनपछि काँकडभिट्टा भन्सार हुँदै भारत निर्यात गरिन्छ ।

नेपालका सबैभन्दा धेरै चिया, अदुवा र अलैँची खेती कोशीमै हुने गरेको छ । मेची भन्सार कार्यालयका अनुसार अलैँचीको निर्यात ३.२ प्रतिशतले घटेको छ । अम्रिसोको भने १४ प्रतिशतले निर्यात घटेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *