छायांकन नै नसकी दयाहाङ राई अभिनित चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा

काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति तय भएको छ। निर्माण पक्षले नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर छायांकन सेटबाटै माघ १ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरेको हो।

चलचित्रको छायांकन नै नसकी निर्माण टिमले प्रदर्शन मिति तय गरेको हो। ‘हामीले माघ १ गते आउने निर्णय गर्‍यौँ । वितरक र प्रदर्शकसँगको सल्लाहमा यो मिति फाइनल भएको हो,’ निर्देशक शेर्पाले बताए ।

यो चलचित्रको अहिले मकवानपुरको चित्लाङमा छायांकन भइरहेको छ। असार २१ गतेबाट छायांकन सुरु भएको चलचित्रको सुटिङ अबको करिब दुई सातामा सकिने निर्माण टिमले बताएको छ । चलचित्रको अधिकांश छायांकन काभ्रेपलाञ्चोक र केही दृश्य चित्लाङमा भएको छ ।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् ।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि, यम स्वयंले लेखेका छन् । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *