१४ वटा मौलिक तीज गीतको एकैपटक विमोचन

काठमाडौं। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा एकै स्टेज बाट १४ वटा मौलिक तीज गीत सार्वजनिक भएको छ। राष्ट्रिय नाचघर जमलको हलमा आयोजित सामूहिक तीज गीत विमोचन समारोहमा एकै साथ १४ गीतको पोस्टर र भिडिओ विमोचन गरियो।

कार्यक्रमका सभापति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतम, संस्थापक अध्यक्ष गोविन्द गिरी, प्रमुख अतिथि सांसद सोविता गौतमको साथमा अतिथि कलाकारहरू गायक राजु परियार, घमेश दुलाल, बद्री पङ्गेनी, प्रकाश कटुवाल, गायिका लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सीता थापा, टिका पुन, मञ्जु थापाले सामूहिक विमोचन गरे ।

विमोचन हुने गीतहरूमा भगवान् भण्डारीको ‘धनमाया मनमाया’, विशाल महरको ‘तीज मनाउँछौँ’, भीमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुनी हो’ , भिमकुमार ओझाको ‘नौगेडी’,कस्तुप पन्तको ‘पापी तीज भाग – २, सचिन भट्टराईको ‘जय जय शिव भोला’, खुश्बु सुनारको ए आमा ु, यामप्रसाद निहुरेको चोली फाटेको, गोविन्द पौडेलको माछा मासु केहि खाँदिन , मुना सुवेदी तिवारीको मेरो त देशै माइती भयो , माया पार्दे को चाहिँदैन रानी हार , मदन ढकालको माइतीको दैलो , विजय अनुरागी ए मैयाँ, सन्जु न्यौपानेको निलो आकाशैमा बादलु रहेका छन्।

प्रमुख अतिथि सांसद गौतमले गीत सङ्गीतमा विकृति, विसङ्गति बढ्नु चिन्ता जनक विषय भएको भन्दै नेपालको मौलिकता देखाउने काम नै गीत सङ्गीतले गर्ने भएकाले सम्पूर्ण सर्जकलाई मौलिकतामा ध्यान दिन आग्रह गरिन्। ‘पछिल्लो समय भ्युजका लागि पनि गीतहरु केन्द्रित छन्।

दीर्घकालीन सोचेर सर्जक आफैले ध्यान दिनु पर्ने हुन्छ।’ गौतमले भनिन्। ‘सेन्सर बोर्डको चर्चा पनि धेरै कलाकारले गर्दै आउनु भएको छ। तर कसैको बन्धनमा रहनुभन्दा सर्जक आफैले संवेदनशील भएर उत्तरदायी भइयो भने त्यो धेरै राम्रो हुन्छ।’ उनले विमोचन भएका १४ गीतलाई बधाई दिइन्।

समारोहमा वरिष्ठ लोक गायिका लक्ष्मी न्यौपानेलाई लोक गायनको क्षेत्रमा लामो योगदान पुऱ्याएको भन्दै मौलिक गायन सम्मान प्रदान गरियो । सम्मान ग्रहण गर्दै गायीका न्यौपानेले खुसी व्यक्त गरिन। उनले मौलिक गायनलाई आफूले सधैँ आत्मसाथ गर्ने बताइन्।

उनी भन्छिन्,‘धेरै बाट समय परिवर्तन सँगै परिवर्तन हुनुपर्छ भन्ने कुरा सुनिन्छ । हो, परिवर्तन हुनुपर्छ तर लोक, मौलिक पनलाई परिवर्तन गर्नुहुँदैन । ’ यस्तै अतिथि कलाकार गायक राजु परियारले कुनैपनि गीत सिर्जना गर्ने क्रममा सर्जकले लोक रसलाई भुल्न नहुने बताए। उनले लोक छ र त संस्कृति छ, लोकसंस्कति छ र त लोकगीत छ भन्दै सर्जकले नै सिर्जना गर्ने समयमा ध्यान दिन आग्रह गरे ।

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष गायक प्रकाश कटुवालले गीतसङ्गीतकै कारण कलाकार साइबर ब्युरो सम्म पुग्ने स्थिति नआओस् भन्दै सबै कलाकारलाई अश्लीलतामा भन्दा मौलिकतामा जोड दिन आग्रह गरे ।

साथै उनले मिडियाहरूले पनि कतिपय गीतहरूको बारेमा समाचार नबनाइदिने हो भने त्यस्ता गीतको चर्चा पनि नहुने र हराएर जाने भन्दै मिडिया लाई पनि महत्त्वपूर्ण भूमिका खेल्न आग्रह गरे। समारोहमा गायक बद्री पङ्गेनी, गायिका शर्मिला गुरुङ, मञ्जु थापा लगायतले पछिल्लो समयका गीतहरू मा मौलिकता हराउँदै गएको र सर्जकहरूले ध्यान दिनुपर्ने धारणा राखे।

सभापति संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मौलिक गीत निर्माण गर्ने कलाकर्मीलाई थप हौसला प्रदान गर्न का लागी गीत छनोट गरेर १४ मौलिक तीज गीतलाई सामूहिक विमोचन गरिएको बताए। आगामी दिनमा संस्थाले मौलिकताका लागी थप विभिन्न कार्यक्रम गर्दै जाने जानकारी दिए।

उनले भनेका छन्, ‘कतिपय कलाकर्मीहरूले समाजमा अपाच्य गीतहरू सार्वजनिक गरेका कारण प्रशासन लाई त्यस्ता कुरामा ध्यान दिन आग्रह गरेका छौ, त्यसैले गृह मन्त्रालय सम्म पुगेका हौँ। यो हाम्रो दायित्व पनि हो।’
यस्तै संस्थापक अध्यक्ष गोविन्द गिरीले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले विकृति फैलाउने गीतको बन्देजका लागि मात्र आफूहरू गृह मन्त्रालय नगएको र सङ्गीत सेन्सर बोर्डको अवधारणाका लागी पनि पहल गर्नका लागि पुगेको जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *