काठमाडौं । नेपाली कांग्रेसे बागमती प्रदेशमा उत्पन्न आन्तरिक विवाद र सरकारको समस्या चाँडै समाधान हुने भन्दै एमालेको साथ खोजेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार भएको दुई दलका शीर्ष नेताको बैठकमा कांग्रेसले आजै बेलुकासम्म निकास दिने बताएको हो ।
बैठकमा सहभागी एक एमाले नेताका अनुसार आजै मुख्यमन्त्री बहादुरसिंह लामालाई बोलाएर सभापति शेरबहादुर देउवाले राजीनामा दिन भन्दैछन् । लामालाई काठमाडौं बोलाई सकिएको जानकारी बालुवाटारमा कांग्रेस नेताहरूले दिएका थिए ।
बैठकमा सहभागी नेताले भने- बागमतीको समस्या कांग्रेसको आन्तरिक विषय हो । एमालेले कांग्रेसको संस्थागत निर्णय जे हो त्यसमा साथ दिन्छ । अर्को वर्ष नभई हामी सरकारको नेतृत्व दाबी गर्दैनौं । उहाँहरुले आजै बेलुका वा भोलि विहानसम्म निकास दिन्छौं भन्नुभएको छ । मुख्यमन्त्री लामालाई बोलाइसकेको बुझियो ।
कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानिया जितेसँगै मुख्यमन्त्री लामामाथि राजीनामाको दबाब छ । तर, उनले संवैधानिकरुपमा आफू मुख्यमन्त्रीबाट हट्ने ठाउँ नरहेको भन्दै पद नछाड्ने अडान लिँदै आएका छन् । उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न संविधानले नै दिदैन ।
एमालेले समर्थन फिर्ता लिए पनि विश्वासको मत लिन पाउने संवैधानिक सुविधा लामालाई छ । उनलाई माओवादीलगायत विपक्षी दलले विश्वासको मत दिनसक्छन् । तर, सांसदहरूलाई संसदीय दलको ह्वीप लाग्ने भएकाले लामाले त्यो बाटो नलिई राजीनामा दिने सम्भावना छ ।

Leave a Reply