चलचित्र ‘रियाल रिङ्गेट’को प्रिमियर : देशको पीडा पर्दामा झल्किँदा दर्शक भावुक

काठमाडौं । यही शुक्रवारबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘रियाल रिङ्गेट’ को प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौंमा आयोजित प्रिमियर कार्यक्रममा चलचित्र युनिटका सदस्य, राष्ट्रिय स्तरका कलाकारहरु, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

चलचित्रले नेपाली समाजको एउटा गम्भीर यथार्थको रूपमा रहेको रोजगारीको खोजीमा खाडी मुलुक पुग्न बाध्य नेपालीहरूको पीडा र सङ्घर्षलाई पर्दामा प्रस्तुत गरेको छ । निर्देशक विभोर पोखरेलको निर्देशन र निर्माता गगनलाल प्रधानको निर्माणमा तयार भएको चलचित्रले प्रवासी श्रमिकहरूको कथालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरेको छ ।

प्रिमियरमा उपस्थित धेरैले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए। ‘रियाल रिङ्गेट’ केवल एउटा चलचित्र नभई लाखौँ नेपालीहरूको अन्तर्मनको कथा रहेको दर्शकले बताए। चलचित्रले इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटना सम्झाउने गरी यथार्थपरक र सशक्त दृश्यहरू पस्किएको दर्शकहरूले सुनाए ।

‘नेपाली चलचित्रले पनि रुवाउन सक्छ भन्ने अनुभूति भयो। मरुभूमिमा सपनाको भारी बोकी पुगेका नेपालीहरू कसरी जीवन त्याग्न बाध्य हुन्छन् भन्ने कुराको भयावह चित्रण यो चलचित्रले गरेको छ’, एक दर्शकले भने ।

प्रीमियरमा पुगेका कलाकार मदनकृष्ण श्रेष्ठ पनि चलचित्र हेरेपछि भावुक बने । उनले भने, ‘यो चलचित्र हेर्दा देश दुख्ने रहेछ । इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन । ‘रियाल रिङ्गेट’ हेर्दा त्यो दिन सम्झिएँ। राज्यले जाने ढोका मात्र खोल्ने होइन, फर्कने ढोका पनि खोल्नुपर्छ, देशमै फर्किने वातावरण बनाउनुपर्छ, नत्र लाखौँ नेपाली अझै पनि विदेश जान बाध्य भइरहनेछन् र फर्किने छैनन् ।’

त्यस्तै, गायक प्रेमराजा महतले पनि चलचित्रको खुलेर प्रशंसा गरे। उनले भने, ‘धेरैपछि यसरी कुनै नेपाली चलचित्र हेरेँ। चलचित्रको कथा, अभिनय, सङ्गीत सबै उत्कृष्ट छन्।राजनीतिज्ञहरूले पनि यो चलचित्र हेर्नुपर्छ, यसले देशको वास्तविक अवस्था बुझ्न सहयोग पुर्याउँछ।’

चलचित्रमा कलाकारहरू प्रमोद चौलागाईं र निता ढुङ्गाना मुख्य भूमिकामा देखिएका छन्। छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायत दर्जनौँ कलाकारहरूको पनि चलचित्रमा सशक्त अभिनय छ ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रको छायाङ्कन भारतको राजस्थान, चितवन, काठमाडौं र लेटाङमा गरिएको छ । चलचित्रको द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायाङ्कन हरि घले र सम्पादन विपिन मल्लले गरेका छन्।

यसैबिच चलचित्रको अग्रिम टिकट बुकिङ खुलेको छ भने देशभर चलचित्रले एक सय हाराहारीमा शो प्राप्त गरेको छ । रेबेल फिल्मसको ब्यानरमा बनेको ‘रियाल रिङ्गेट’ काफिया फिल्म्सले देशव्यापी रूपमा वितरण गर्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *