वामदेवले भने- मलाई संगठन विभाग दिएनन्, के गरौँ-गरौँ भा’छ (अडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा गत साउन २ गते समाहित भएका वामपन्थी नेता वामदेव गौतमले आफूले मागेबमोजिम संगठन विभाग प्रमुखको जिम्मेवारी नदिइएपछि दिक्दारी व्यक्त गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले त्यस्तो दिक्दारी पोखेका हुन् ।

विगतमा आफू संगठन विभागको सञ्चालन र परिचालनमा प्रमाणित भइसकेको भन्दै उनले पार्टी अध्यक्ष माधवकुमार नेपाल र उक्त विभागको प्रमुख रहेका बेदुराम भुसालसँग कुरा गरेको बताए । तर, जति अनुरोध गर्दा पनि जिम्मेवारी दिन नमानेको उनले सुनाए ।

‘संगठन विभागको प्रमुख हुँदा मैले त्यसलाई मात्रै हेरेको छैन, अरु थुप्रै काम गरेको छु । निर्माण गरेको छु । संघर्ष गरेको छु’, उनले अध्यक्ष नेपालसँग भनेको सुनाए । ‘त्यति भन्दा पनि उनीहरूले मानेनन्, अब के गरौँ, के गरौँ भा’छ’, गौतमले भने । तर, यही कारण पार्टी छाड्ने पक्षमा नरहेको गौतमले बताए ।

‘भर्खरै गएको पार्टी छोड्न पनि भएन । मैले छोडेँ भने त ‘यो कामै नलाग्ने रहेछ’ भन्छन् नि !’, उनले भने ।

वामदेवको भनाइ जस्ताको तस्तै

केही पनि जिम्मेवारी नदिई वरिष्ठ नेता भन्न तुरुन्त सक्ने रे, जिम्मेवारी दिन नसक्ने रे । २ गते त्यत्रो उत्साह थियो । त्यो उत्साह मर्दै गएपछि केही बाँकी रहन्नँ ।

अरु साथीहरूलाई पनि अहिलेसम्म जिम्मेवारी दिइएन । पदचाहिँ मैलेमात्र खोजेको हो ? संगठन विभाग खोजेको हो । म आएपछि काम गरेर देखाउनुपर्छ भनेर त्यो पद खोजेको हो । किनभने, संगठन विभागबाट एउटा ठूलो शक्ति निर्माण हुन्छ । तर, उहाँहरूले मान्नुभएन । त्यो जिम्मेवारी बेदुराम भुसाललाई दिइएको रहेछ ।

हिजो बिहान म बेदुरामलाई भेट्न सदनकै उहाँको अफिसमा गएँ । मैले भनेँ, ‘मलाई छोडिदिनुस् कामरेड । म ०८४ को निर्वाचनसम्म यो जिम्मा लिन्छु । उद्देश्यमूलक ढंगबाट काम गर्छु । त्यसपछि हामी निर्वाचनबाट ज्यादै ठूलो शक्तिका साथ बाहिर आउनेछौँ ।’

उहाँले मान्नुभएन । सोध्नुभयो, ‘तपाईंले संगठन विभागबाट पार्टी चलाउन खोज्नुभएको हो ?’ मैले भनेँ, ‘सिंगो पार्टी चलाउन खोजेको होइन, संगठन विभागमात्रै चलाउन खोजेको हो । पार्टीका कमरेडहरूलाई अत्यन्त शक्तिशाली बनाउन सकिन्छ । मसँग त्यस्तो अनुभव पनि छ ।’

बेदुरामले मान्नुभएन । उहाँले भन्नुभयो, ‘मेरो पनि अनुभव छ । मैले चाहिँ केही गरेको छैन र ? तपाईंले पो मैले गरेको देख्नुहुन्नँ त । त्यत्रो जेल बसेर आएँ । आएको केही समयमै म कपिलवस्तु गएँ, त्यहाँको जिल्ला कमिटी सदस्य भएँ । सचिव भएर काम गरेँ । इञ्चार्ज भएर काम गरेँ । कत्रो-कत्रो काम गरेको छु ।’

मैले ‘हो-हो, काम गर्नुभा’छ’ भनेँ । तर, उहाँ संगठन विभाग चलाउन एकदमै असफल हुनुभएको छ भनेर साथीहरूले भन्नुहुन्छ । तर, उहाँले ‘मैले काम गरेको छु, तपाईंले पो देख्नुहुन्नँ’ भन्नुभयो । उहाँले मलाई भन्नुभयो, ‘म कुनै पनि हालतमा संगठन विभागको प्रमुख छोड्ने छैन, तपाईं जानुस्…।’

‘झलनाथ खनाल, घनश्याम भुसालले पनि आ-आफ्नो जिम्मा छाड्दैनन्, माधव नेपालले जे जिम्मा दिन्छन्, त्यही लिएर बस्नुस्, रोजेर पाउनुहुन्नँ’ भन्नुभयो ।

मेरो कार्यक्षमतामा उहाँले किन त्यस्तो शंका गर्नुहुन्छ ? मैले भनेँ कि, ‘म त प्रमाणित भइसकेको मान्छे हुँ । संगठन विभागको प्रमुख हुँदा मैले त्यसलाई मात्रै हेरेको छैन, अरु थुप्रै काम गरेको छु । निर्माण गरेको छु । संघर्ष गरेको छु ।’ त्यति भन्दा पनि उनीहरुले मानेनन् । अब के गरौँ, के गरौँ भा’छ । भर्खरै गएको पार्टी छोड्न पनि भएन । मैले छोडेँ भने त ‘यो कामै नलाग्ने रहेछ’ भन्छन् नि !

अब त्यो विभाग मैले पाउनैपर्छ भनेर म लडिरहन्छु । म छोड्दिनँ । त्यो विभाग चलाएर नेकपा (एकीकृत समाजवादी) लाई ०८४ को निर्वाचनमा एकल बहुमतको शक्ति बनाउने इच्छा छ । म त्यो गर्न सक्छु । म आन्दोलनका रुपमा हाँक्छु । म पार्टीलाई साँच्चै नै त्यो ठाउँमा पुर्याउन सक्छु भन्ने संकल्प लिएर म त्यो पार्टीमा प्रवेश गरेको हुँ । त्यसैले मलाई त्यो विभाग दिनुपर्छ भन्ने मेरो मान्यता रहिरहन्छ ।

मैले माधवजीसँग पनि कुरा गरेँ । उहाँले भन्नुभयो, ‘म बेदुरामलाई रुवाएर तपाईंलाई कसरी हँसाउन सक्छु ?’ मैले भनेँ, ‘दुईटै हाँस्ने बनाउनुस् न !’ बेदुरामजीले रुनुपर्ने के आवश्यक छ र, अर्को जिम्मा लिए हुन्छ ।

मैले बेदुरामजीलाई सोधेँ कि, ‘यो समाजवादी पार्टीमा कुनै नैतिकता भन्ने कुरा हुँदैन ? तपाईँ संगठन विभागको प्रमुख हुनुभयो । तर, गएको निर्वाचनमा राम्रो परिणाम आएन । के तपाईंले आफ्नो मूल्यांकन गर्नुहुन्नँ ? मेरो कमजोरी छ । यसबाट शिक्षा लिनुपर्छ । म असफल भएँ भनेर महसूस गर्नुपर्दैन ?’

उहाँले मलाई भन्नुभयो, ‘तपाईंले नि, तपाईंले चाहिँ के गर्नुभयो त ? त्यो एकता अभियान चलाएर के गर्नुभयो ? उल्टै त्यो पार्टी त दुलाभित्र पस्यो ।’

हामीले त्यो पार्टी चुनावमा भाग लिन जाने भनेर बनाएकै होइन । त्यो त दुईटा पार्टीलाई एकीकृत गर्न सकिन्छ कि भनेर एउटा संरचना बनाइएको हो । दर्ता गर्नुपर्छ भनेर निर्वाचन आयोगमा दर्तासम्म गरियो ।

माओवादीसँग एकताको कुरा

मंगलबार समाजवादी मोर्चाको बैठकमा म पनि थिएँ । एकता गरेर जानुपर्छ, एउटै पार्टी बनाउनुपर्छ । जबसम्म एउटा पार्टी बन्दैन भने तबसम्म यही मोर्चाबाट जानुपर्छ भन्ने कुरा उठ्यो ।

मैले भनेँ, ‘यदि समाजवादी मोर्चा एउटा शक्तिका साथ निर्माण हुने हो भने यसले जबरजस्त तहल्का मच्चिने गरी नेपाली धर्तीमा एउटा प्रहार गर्नुपर्छ । ठूलो भूकम्प आएजस्तो प्रहार गरेर जानुपर्छ ।’ मैले यसो भन्दा विप्लवले समर्थन गर्दै ‘हो, यसरी नै जानुपर्छ भन्नुभयो ।’

तर, माओवादीसँग एकतामा जाने सम्बन्धमा त अहिले भर्खरै त्यस्तो कुरा छैन । एकीकृत समाजवादी पार्टीमा माओवादीसँग एकतामा जानुहुँदैन भन्ने ठूलो पंक्ति छ । अर्कोथरि माओवादीसँग हैन, माओवादी एकीकृत समाजवादीमा, माओवादी एकीकृत समाजवादीमा हुने गरी एकतामा जानुपर्छ भन्ने छन् ।

हामी एकीकृत समाजवादीसँग समानताका आधारमा एकता गरेर आएको होइन । जबरजस्त प्रवेश गरेका हौँ । भाषा अलिक सम्मानजनक बनाउन एकता भनेका हौँ ।

माओवादीसँग अहिले भर्खरै एकता गर्नहुन्नँ । एकता गर्ने भए म एकीकृत समाजवादीमा आएको के अर्थ भयो त ? माओवादीहरूले मलाई ‘आइज-आइज’ भनिराखेकै थिए । त्यहाँ त मलाई संगठन विभाग देऊ भन्दा खुशी भएर, उफ्रीउफ्री दिन्थे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *