राजनीतिमा आउन हिम्मत चाहिन्छ, म पनि हिम्मत गरेर आएकी हुँ : परराष्ट्रमन्त्री राणा

पोखरा । परराष्ट्रमन्त्री डा आरजू राणा देउवाले राजनीतिमा आउन हिम्मत चाहिने र त्यही हिम्मतका साथ आफू राजनीतिमा लागेको बताएकी छन् ।

बुधवार पोखराको लेकसाइडमा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा अध्यक्ष रहेको अंशुब्रम्हा ग्रुपले संचालनमा ल्यायको बगैंचा रिसोर्ट शुभारम्भमा बोल्दै मन्त्री राणाले आफू पनि राजनीतिमा ढिलो लागेको उल्लेख गर्दै सुरुमा व्यापार गरी सफलता कमाउने र पछि राजनीतिमा लाग्न सुझाव दिइन् । ।

वर्तमान सरकार र सत्ता गठबन्धनबारे आफ्नो धारणा राख्दै मन्त्री राणाले सरकार स्थिरता कायम गर्न सफल भएको बताउँदै कांग्रेस र एमालेको सत्ता समिकरणले देशलाई अगाडि बढाउन सफल भएको दाबी गरिन् ।

देउवा र ओलीको लिडरसिपले नै हामीलाई अन्तराष्ट्रिय जगतमा पत्याउने वातावरण बनेको राणाको भनाइ थियो । यो समीकरणबाट विश्वले नेपाललाई हेर्ने नजर सकारात्मक बनेको मन्त्री राणाको दाबी छ ।

नेपालमा केही भएन भन्ने नकारात्मक सोच बनेको भन्दै राणाले नेपालमा धेरै विकास र परिवर्तन भएको राणाको भनाइ छ । विदेशमा श्रम गर्नुभन्दा आफ्नै देशमा इज्जतका साथ काम गर्न उनले युवाहरुलाई आग्रह गरिन् ।

पछिल्लो समयमा जलवायु परिवर्तनका असर सबै क्षेत्रमा परिरहेको उल्लेख गर्दै मन्त्री राणाले उत्तर र दक्षिणतर्फका छिमेकमा बाढीको प्रभाव बढिरहेको समाचारहरू आएकाले हामी पनि सर्तक रहनुपर्नेमा जोड दिइन् । मन्त्री राणा बुधवार पर्टीका विभिन्न कार्यक्रममा सहभागी भएर बिहीबार राजधानी फर्किने छिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *