प्रधानमन्त्री कार्यालयको वासलात- ओली र प्रचण्ड कसको पालामा कति खर्च ? (विवरणसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वकालमा कार्यालय खर्चमा उल्लेख्य भिन्नता देखिएको छ । दुई आर्थिक वर्षमा भएको खर्च लेखाजोखा गर्दा प्रचण्डको पालामा भन्दा ओली प्रधानमन्त्री हुँदा २ करोड ६ लाख ६४ हजार ३५३ रूपैयाँ ८० पैसा कार्यालयको खर्च कम भएको हो ।

माओवादी पक्षले सामाजिक संजाल र निकट मिडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा प्रम र मन्त्रीहरुको स्वकीयको तलबमै मासिक ६३ लाख खर्च भएको प्रचार गरेपछि प्रधानमन्त्री कार्यालयले २ आर्थिक वर्षको खर्च विवरण सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको लेखा शाखाबाट प्राप्त विवरणमा ओलीको पालामा भन्दा प्रचण्डको पालामा २ करोड बढी खर्च सचिवालय संचालनमा भएको देखिएको छ ।

प्रचण्ड प्रधानमन्त्री हुँदा आव २०८०/०८१ मा कार्यालय खर्च ६ करोड २१ लाख ३५ हजार १२७ रूपैयाँ भएको थियो । गत आर्थिक वर्ष २०८१/०८२ मा ओलीको कार्यालय खर्च ४ करोड १४ लाख ७० हजार ८७३ रूपैयाँ ५० पैसा भएको छ ।

प्रधानमन्त्री कार्यालयको वासलातअनुसार विभिन्न शीर्षकहरूमा खर्चलाई तुलनात्मक रूपमा हेर्दा सबैभन्दा ठूलो अन्तर पारिश्रमिक, इन्धन, सवारीसाधन मर्मत र विविधमा देखिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा पारिश्रमिक शीर्षकमा २ करोड ४० लाख २६ हजार रूपैयाँ खर्च भएकोमा ओलीको पालामा २०८१/८२ मा उक्त शीर्षकमा एक करोड ६४ लाख ६० हजार रूपैयाँमात्रै खर्च भएको छ । प्रचण्ड प्रधानमन्त्री हुँदाको वर्षभन्दा ओली प्रधानमन्त्री हुँदाको वर्ष पारिश्रमिकमा ७५ लाख ६६ हजार रुपैयाँ कम खर्च भएको छ ।

त्यस्तै, इन्धन खर्चमा पनि उल्लेख्य कमी आएको छ । प्रचण्डको पालामा ७३ लाख ८१ हजार इन्धन खर्च भएकोमा ओली प्रधानमन्त्री हुँदाको आव २०८१/८२ मा १४ लाख ९८ हजार खर्च भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा यस शीर्षकमा ५८ लाख ८३ हजार रुपैयाँ कम खर्च भएको छ ।

अघिल्लो आवको तुलनामा गत आवमा सवारी साधन मर्मत खर्चमा २ लाख २७ हजार कम खर्च भएको छ । आव २०८०/०८१ मा सवारी साधन मर्मत खर्चमा ५९ लाख ५० हजार खर्च भएकोमा आव २०८१/०८२ मा ५७ लाख २२ हजार भएको छ ।

यी दुई आर्थिक वर्षको खर्च तुलना गर्दा मसलन्द तथा कार्यालय सामाग्री, सञ्चार महसुल र विविध शीर्षकमा पनि खर्च घटेको छ । प्रचण्डको पालामा ५१ लाख रुपैयाँ मसलन्द तथा कार्यालय सामाग्री शीर्षकमा खर्च भएकोमा ओलीको पालामा यस शिर्षकमा १४ लाख ३६ हजार मात्रै खर्च भएको छ । अघिल्लो आवको तुलनामा यस शीर्षकमा गत आवमा ३६ लाख ६३ हजार कम खर्च भएको छ ।

पोसाक र अनुगमन तथा मूल्यांकन शीर्षकमा हुने खर्चमा भने वृद्धि भएको छ । अघिल्लो आवमा ४ लाख ४८ हजारको पोसाक खरिद गरिएकोमा गत आवको ३ लाख ३९ हजार बराबरको खर्च भएको छ । यसका साथै अनुगमन तथा मूल्यांकनमा अघिल्लोमा आवमा २१ लाख ९४ हजार खर्च हुँदा ३३ लाख ५२ हजार खर्च भएको छ ।

आर्थिक वर्ष २०७९/०८० को अवधिमा देशको कार्यकारी प्रमुखको जिम्मेवारीमा दुई फरक प्रधानमन्त्री रहेका थिए । यस आर्थिक वर्षको सुरुवातमा शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने २०७९ पुस १० गतेबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसपछिको अर्थात् आर्थिक वर्ष २०८०/०८१ भर पुष्पकमल दाहाल नै प्रधानमन्त्री थिए ।

गत आर्थिक वर्षदेखि हालसम्म प्रधानमन्त्रीमा केपी शर्मा ओली छन् ।

Comments

3 responses to “प्रधानमन्त्री कार्यालयको वासलात- ओली र प्रचण्ड कसको पालामा कति खर्च ? (विवरणसहित)”

  1. Yadu Dhakal Avatar
    Yadu Dhakal

    त्यहाँ सबै पुराना गाडी मात्र हुन्छन् र ? मर्मत सम्भारमा किन यति धेरै खर्च लागेको हो ?

  2. bharat kumar thapa Avatar
    bharat kumar thapa

    मेरो विचारमा माओवादी झुटको पुलिन्दा सधै प्रयोग गर्छ उ जनताको लागि होइन स्वार्थमा रमेको पार्टी हो

  3. Nepali kanxo Avatar
    Nepali kanxo

    Malai pani maobadi bekar ko party lagxa

Leave a Reply

Your email address will not be published. Required fields are marked *