एक राजावादीले फेसबुकमा भद्दा गालीगलौज गरेपछि भड्किइन् ऋचा, भिडिओ डिलिट गर्न चेतावनी

नेपाल प्रेस । आफूलाई राजावादीको रूपमा चिनाउने एक व्यक्तिले सामाजिक सञ्जालमा अपशब्दसहित गालीगलौज गरेपछि अभिनेत्री ऋचा शर्माको पारो तातेको छ । कञ्चनपुरका फउजी शाही नामका ती व्यक्तिमाथि उनले कानूनी कारबाहीको चेतावनी दिएकी छन् ।

उनले लेखकी छन्, ‘मेरो कामलाई लिएर जस्तोसुकै प्रतिक्रिया दिन सक्नुहुन्छ । मेरो सिनेमा बहिष्कार गर्न पनि सक्नुहुन्छ । तर, मेरो व्यक्तिगत अभिव्यक्तिलाई लिएर जे मन लाग्यो त्यही गाली र अपशब्द बोल्न र लेख्न पाइन्न ।’

शाहीले एउटा रिल पोस्ट गरेका थिए, जसमा ऋचाको फोटो राखेर उनको नयाँ चलचित्र ‘बलिदान’ बहिष्कारको अपिल गरिएको छ । त्यसमा ऋचामाथि घृणित अपशब्दहरू लेखिएको थियो ।

‘यो… ले खेलेको फिल्म सबै राष्ट्रभक्त साथीहरूले बहिष्कार गरौँ, राजाको अपमान गर्ने असुरक्षाको गुणगान गाउने यही… हो,’ उक्त भिडिओमा लेखिएको छ ।

यो भिडिओको स्क्रिन सट राख्दै ऋचाले तत्काल डिलिट गर्न चेतावनी दिएकी छन् । अन्यथा कानूनी प्रक्रियामा जाने उनको भनाइ छ ।

ऋचामाथि यस्तो भिडिओ बनाउने व्यक्तिले फेसबुकमा आफूलाई राजाप्रेमी र कट्टर हिन्दूका रूपमा चिनाएका छन् ।

केही समयअघि अर्की अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज पारस शाह र उनका छोरा हृदयेन्द्र शाहबारे गरेको टिप्पणी विवादित बनेको थियो । पन्तको टिप्पणीलाई लिएर राजावादीहरूले उनलाई लखेट्न सुरु गरेका थिए ।

आफूमाथि भइरहेको ‘भर्चुअल अब्युज’बारे पन्तले प्रतीकात्मक कविता लेखेर विरोध जनाइन् । त्यसबेला सुरक्षालाई साथ दिँदै सामाजिक सञ्जालमा लेखेपछि ऋचामाथि पनि राजावादीहरू खनिन थालेका हुन् ।

ऋचाले त्यतिबेला पनि त्यसबेला पनि आफूमाथि भद्दा गालीगलौज गर्नेहरूलाई सामाजिक सञ्जालमा स्क्रिनसटसहित एक्सपोज गर्न थालेकी थिइन् । उनीपछि गायिकाद्वय एलिना चौहान र समीक्षा अधिकारीले पनि यही बाटो अपनाए । यद्यपि गालिगलौजको क्रम रोकिएको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *