‘हाम्रा विरुद्ध गोयवल्स शैलीमा सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई दुरुपयोग गरिरहेका छन्, दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ’
काठमाडौं । प्रधानमन्त्री समेत रहेको एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समयमा पार्टी र आफू विरुद्धमा सुनियोजित रूपमा हमला भइरहेको बताएका छन्।
पार्टीको हालै बसेको केन्द्रीय कमिटीको निर्णयसहित अन्तरपार्टी निर्देशन १२ जारी गर्दै पार्टीविरुद्ध किन हमला भइरहेको छ भन्ने बुझेर सशक्त प्रतिवाद गर्न निर्देशन दिएका छन्।
अपानिमा भनिएको छ, ‘हाम्रा विरुद्धमा चार प्रकारका शक्तिहरू केन्द्रित भएर कूप्रचारमा लागेका छन् । उनीहरू गोयवल्स शैलीमा आम सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई हाम्रा विरुद्धमा दुरुपयोग गरिरहेका छन् । पार्टी र नेतृत्वका विरुद्धमा रहेका यसप्रकारका शक्तिहरूले गरिरहेको षडयन्त्रपूर्ण र नियोजित हमलाको सिङ्गो पार्टीपंक्तिले दृढतापूर्वक प्रतिवाद गर्नुपर्दछ । गलत प्रवृत्तिको सशक्त प्रतिरोधबाट नै हामीले ‘मिसन ८४’ का लागि अनुकूल आधार तयार पार्न सक्दछौँ ।’
यस्तो छ ओलीको विश्लेषण
पहिलो – हाम्रो देशभक्तिपूर्ण अडान र भूमिका मन नपराउने शक्ति । जो आफ्नो प्रभुत्व र स्वार्थका लागि नेपालमा देशभक्त पार्टी र नेतृत्वलाई कमजोर बनाउन चाहन्छ । त्यसका लागि उसले आफ्नो प्रभावलाई हाम्रा विरुद्धमा परिचालित गरेको देखिन्छ । पार्टीले त्यसप्रकारको हमलाको सुरुदेखि नै प्रतिवाद गरेर नै पार्टीलाई यहाँसम्म ल्याउन सफल भएको हो ।
दोस्रो – नेपालमा राजसंस्था पुनः स्थापनाको सपना देखेका प्रतिगामी र प्रतिक्रियावादी शक्तिहरू । उनीहरू हाम्रा कारणले उनीहरूको चाहना पुरा नभएका ठान्दछन् र हाम्रा विरुद्धमा केन्द्रित छन् ।
तेस्रा – नेकपा (एमाले) नेपालको वामपन्थी आन्दोलनको मुख्य शक्ति बनेको र हाम्रा कारणले उनीहरूको सत्ता राजनीतिको ‘म्याजिक नम्बर’ औचित्यहीन बनेको र भूमिका खोसिएको ठानेर विछिप्त छन् । उनीहरू हाम्रा विरुद्धमा अराजनीतिक र आपराधिक तरिकाबाट छद्मरूपमा हमला गरिरहेका छन् ।
चौथो – नयाँ वैकल्पिक शक्ति निर्माणको आकांक्षा बोकेका शक्तिहरू । उनीहरू लोकप्रियतावाद र अराजकतावादको सहारा लिएर अघि बढ्न खोजिरहेका छन् । उनीहरू आफ्नो उद्देश्य पुरा गर्नका लागि नेकपा ९एमाले०ले बाधा पुर्याउने ठानेर हाम्रा विरुद्धको कूप्रचारमा केन्द्रित छन् । नीतिविहीन लोकप्रियतावाद र अराजकतावादले नेपाली समाजमा पुर्याउनसक्ने क्षतिका बारेमा हाम्रो पार्टी सचेत र स्पष्ट छ ।

Leave a Reply