लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा

रुपन्देही। बुद्धको शिक्षालाई आधुनिक विश्व कूटनीति, विकास र द्वन्द्व समाधानको व्यवहारिक रूपमा रूपान्तरण गर्न सकिने निचोड बौद्ध दर्शनका ज्ञाता र सोधार्थीहरुले निकालेका छन् ।

लुम्बिनी विश्वविद्यालयमा दुई दिनदेखि नेपाल–भारतसहित विभिन्न देशबाट सहभागी शैक्षिक तथा बौद्ध दर्शनका ज्ञाताहरुले लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाउने घोषणा गरेका हुन् । लुम्बिनीमार्फत विश्व शान्तिको सन्देश प्रवाह गर्ने र दिगो विकासमा बौद्ध दर्शनको भूमिकालाई प्रभावकारी बनाउन सकिने आधार उनीहरुले देखाएका छन् ।

‘कूटनीतिमा बौद्ध शिक्षाः शान्ति र दिगो विकासको पथ’ यो महत्वपूर्ण कार्यक्रममा नेपाल र भारतका विभिन्न विश्वविद्यालयका उपकुलपति, प्रोफेसर, प्राध्यापक, व्यवस्थापन हेर्ने अधिकारीहरु र सोधार्थी विद्यर्थीको सहभागिता थियो । उनीहरुले बौद्ध कुटनीतिमार्फत् विश्व शान्ति, विकास, आपसी सद्भाव कायम हुने कुराको सान्दर्भिकतासहितको निचोड निकालेका छन् ।

दीगो विकासका लागि बौद्ध शिक्षा र कुटनीति विषयक अन्तर्राष्ट्रिय सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गर्दै बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति कुटनीति विस्तारमा जोड दिएको छ ।

सम्मेलनले लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रुपमा विकास गर्ने घोषणा गोष्ठीमार्फत गरिएको छ । विश्वका सङ्घर्षग्रस्त संवेदनशील क्षेत्रहरूमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्रहरू स्थापना गर्नुपर्ने निष्कर्ष यहाँबाट निकालिएको छ ।

प्रकृतिप्रति करुणा र अन्तरनिर्भरता सम्बन्धी बुद्धका शिक्षामा आधारित पर्यावरणीय शान्तिको प्रवद्र्धन गर्ने, कूटनीतिज्ञहरूका लागि माइन्डफुलनेस आधारित तालिम कार्यक्रम सुरु गर्नुवर्ने घोषणा सम्मेलनले गरेको छ । जसको माध्यमबाट द्वन्द्व समाधान र ध्यान अभ्यासमा केन्द्रित हुन सकिने विज्ञहरुको धारणा छ ।

त्यस्तै बौद्ध मूल्य र नैतिक सिद्धान्तहरूसँग मेल खाने कूटनीतिक आचरणको मापदण्ड तय गर्ने विश्वव्यापी मान्यता प्राप्त बौद्ध नैतिक सम्बन्ध विकास गर्ने, नेपाल तथा भारतका बौद्ध तीर्थस्थलहरुमा एकीकृत शान्ति पर्यटनलाई प्रवद्र्धन गरी आपसी समझदारी र सांस्कृतिक सौहार्दता बढाउनुपर्ने निष्कर्ष विज्ञहरुले निकालेका छन् ।

बौद्ध दर्शन, शान्ति शिक्षा र दिगो विकासका लागि युवा सहभागितामा अन्तर्राष्ट्रिय बौद्ध शान्ति संस्थाहरु निर्माण, बौद्ध चिन्तनबाट प्रेरित भएर द्वन्द्वको पूर्वानुमान, गलत सूचना पहिचान, तथा ध्यान निर्देशित गर्ने उपकरणहरूसहित नैतिक कृत्रिम बौद्धिकता (एआई) प्रणालीहरूको विकासलाई प्रवद्र्धन गर्नुपर्ने निचोड निकालिएको छ ।

ग्लोबल पीस इन्डेक्सको नमुनामा आधारित ‘लुम्बिनी शान्ति सूचकांक’ स्थापना गरी बौद्ध मूल्यहरूमा आधारित शान्ति सूचकहरूको मूल्याङ्कन गर्नुपर्ने निष्कर्ष निकालिएको छ । विश्वविद्यालयहरू र सरकारी निकायहरूसँग सहकार्यमा बौद्ध भिक्षु थिङ्क ट्याङ्कहरू गठन गरी वैश्विक संकटमा दार्शनिक तथा नैतिक मार्गदर्शन प्रदान गर्ने घोषणा गरिएको छ ।

‘लुम्बिनी अन्तर्राष्ट्रिय डिप्लोम्याटिक रिट्रिट’ हरेक वर्ष गर्ने, अन्तर्राष्ट्रिय कानून र द्वन्द्व समाधानका लागि बौद्ध कानूनी दर्शनको अध्ययन र प्रयोग प्रवद्र्धन गर्ने घोषणामा उल्लेख छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई र दक्षिण एसियाली शान्ति अनुसन्धान तथा दिगो विकास केन्द्रको सहकार्यमा लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रको रूपमा विकास गर्ने, लुम्बिनी बौद्ध विश्वविद्यालयलाई कूटनीति, शान्ति स्थापना, र दिगो विकासको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कूटनीतिक, शैक्षिक संस्थाहरूसँग सहकार्य गरी एक उत्कृष्ट केन्द्रको रूपमा विकास गर्ने घोषणा गरिएको छ ।

त्यसैगरी बुद्ध शिक्षा र विश्व कुटनीति, करुणा र द्वन्द्व समाधान, बौद्ध सिन्द्धान्तमा आधारित दीगो विकास, सहकार्य र शान्ति निर्माण विषयमा व्यापक बहस भएको थियो । सम्मेलनमा कुटनीतिक एवं पूर्वराजर्दूत प्रा.डा. लोकराज बराल, भारतका पूर्व राजदूत डा. अमरेन्द्र खटुवा, पूर्व

राजदूत रुचि घनश्याम, पूर्व राजदूत टंक कार्की, पूर्व राजदूत दीपकुमार उपाध्यायलगायतका विज्ञहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ५८ जना विद्वानहरुले एजेण्डमा रहेर छलफल गरेका थिए । दुई दिनसम्म चलेको गोष्ठीमा पूर्व राजदूत, विश्वविद्यालयका उपकुलपतिहरु, बौद्ध विद्वान तथा अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाइएको छ ।

बौद्ध दर्शनमै थप नयाँ पाठ्यक्रमको तयारी
सोही कार्यक्रममार्फत लुम्बिनीबाट विश्व समुदायलाई शान्ति, सहिष्णुता र समन्वयको सन्देश प्रवाह गर्ने, बौद्ध कूटनीतिमार्फत विश्व शान्ति र दिगो विकासका कार्यक्रमलाई प्रभावकारी बनाउने गरी अहिलेको पुस्तालक्षित नयाँ पाठ्यक्रमको तयारीका विषयमा सहभागीले जोड दिएका छन् ।

अहिले विश्वका विभिन्न विश्वविद्यालयहरुमा बौद्ध दर्शनका विभिन्न आयामका बारेमा पठनपाठन हुँदै आएको छ । त्यसैमा अब नयाँ अर्को विषय थप गर्ने तयारीस्वरुप सरोकारवालाहरु जोड दिएका हुन् । विज्ञहरुमार्फत अलग अलग शिर्षकमा छ वटा विशेष कार्यपत्र प्रस्तुत गरी छलफलका सेशनहरु चलाइएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यले जानकारी दिए । कार्यक्रमकै अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतको सिद्धार्थ विश्वविद्यालयकाबीचमा शैक्षिक कार्यक्रमका विषयमा सम्झौतासमेत भएको छ ।

सो विशेष कार्यक्रममा भारतस्थित नालन्दा विश्वविद्यालय, सिद्धार्थ विश्वविद्यालय, राजाश्री जनक विश्वविद्यालयका उपकुलपति तथा प्राध्यापकहरू, भारतीय दूतावासका प्रथम सचिव वशिष्ठ नन्दन, साथै नेपाल र भारतका एक दर्जन जति विश्वविद्यालयका उपकुलपति, बौद्ध दर्शनमा क्रियाशील विद्वान्, विषयगत विज्ञहरु र सोधार्थीहरूको उपस्थिति थियो ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्ले, सुदूरपश्चिम विश्वविद्यालयका प्रा.डा.ध्रुवकुमार गौतम, नेपाल संस्कृत विश्वविद्यालयका प्रा.डा.धनिश्वर नेपाल, भारतको सिद्धार्थ विश्वविद्यालयकी प्रा।कविता शाह, पूर्वराजदूत लोकराज बराल, पूर्वराजदूत दीपकुमार उपाध्यायलगायतले उद्घाटन शत्रमै विषयकेन्द्रित मन्तव्य राखेका थिए ।

कार्यक्रममा योगमाया बिदुसी हिमालय आयुर्वेदिक विश्वविद्यालयका उपकुलपति प्रो.डा.रमेश ढुंगेल, नालन्दा विश्वविद्यालयका डिपुटी डीन डा.किशोरकुमार धवाला, प्रो.गोपाल सारंगी, प्रो.डा.विजय सिलवाल, प्रो.डा. जिबल सापकोटा, डा.कुमार खड्कालगायतका विज्ञहरूले वातावरणीय न्याय, सामाजिक उत्तरदायित्व र बौद्ध शिक्षाको प्रयोगमा आधारित दिगो विकासका दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको कार्यक्रमको सहजीकरण गरिरहेका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक राजेन्द्र घिमिरेले जानकारी दिए ।

यस्तै पूर्व राजदूत प्रा.डा.लोकराज बराल, डा.अमरेन्द्र खतुआ, जामिया मिलिया इस्लामियाका प्रो.महताब आलम रिजवी, बौद्ध दर्शन विभाग, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रमुख डा.निमा शेर्पा, ब्रिटेनका लागि भारतकी उच्चायुक्त रुचि घन्श्याम, पूर्व राजदूत जे.एस.मुकुललगायतले कूटनीतिक संवादमा बुद्धका शिक्षाको उपयोगिता, नेपाल–भारत सम्बन्ध, धार्मिक सहिष्णुता र शान्तिको सन्देशमाथि विश्लेषण प्रस्तुत गर्ने कार्यक्रम रहेको विश्वविद्यालयका सहायक निर्देशक चुडामणी पोखरेलले जानकारी दिए ।

यसैगरी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.उपेन्द्रकुमार कोइराला,  त्रिभुवन विश्वविद्यालयका प्रा.डा.शिव भुसाल, काठमाडौँ विश्वविद्यालयका डीन डा.उद्धव प्याकुरेल, लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रा.बसन्त बिडारी, आइसिसीआर अध्यक्ष प्रा.अरविन्दकुमार सिंह, इन्ट्याचका सदस्य सचिव रविन्द्र सिंह, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसीका संस्थापक सुनिल केसीलगायतले सहानुभूति, अहिंसा र मैत्री भावनाका माध्यमबाट द्वन्द्व समाधान र वैश्विक मेलमिलापमा बुद्ध दर्शनको योगदानको विषयमा धारणा राख्ने विषयगत सत्र तय भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलकराम आचार्यले यो कार्यक्रमले बौद्ध शिक्षा अध्ययन गराउने विश्वविद्यालयहरुबीच थप सामीप्यता र सहकार्यको वातावरण बनाएको बताए ।‘बौद्ध शिक्षा अध्यापन हुने विश्वविद्यालयहरुबीच मात्रै होइन, नेपाल भारतसहित विश्वका विभिन्न विश्वविद्यालयहरुमा यसले सहकार्य बढाएको छ, अन्य देशहरुबाट पनि यहाँ पढ्न आउने विद्यार्थीहरुलाई यसले सकारात्मक सन्देश दिएको छ’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *