धरानमा संघीय सरकारको ‘कोशी खानेपानी आयोजना’ स्वीकृत : ऋण नस्वीकार्ने भन्दै मेयर साम्पाङ सम्पर्क बाहिर

विराटनगर । खानेपानीको हाहाकार रहेको सुनसरीको धरानमा सुरु हुन लागेको ‘कोशी खानेपानी आयोजना’ अन्यौलमा परेको छ । एसियाली विकास बैकको ऋण सहयोगमा सप्तकोशीको पानी धरान ल्याउने गरी अगाडि बढेको ‘कोशी खानेपानी आयोजना’को काम धरानका मेयर हर्क साम्पाङ्गको असहमतिका कारण अन्यौलता परेको हो ।

नेपाल सरकारले एसियाली विकास बैकको ऋण सहयोगमा सो खानेपानी आयोजनको काम अगाडि बढाएको छ । यसका लागि भदौ पहिलो साता टेन्डर आव्हान गर्नु पर्ने समय सीमा रहेको छ । तर मेयर साम्पाङले आयोजना प्रति सहमति जनाउँदै सङ्घीय सरकारको आयोजनालाई असहयोग गरेका छन् ।

सङ्घीय सरकारको खानेपानी मन्त्रालयले एसियाली विकास बैकमा सो खानेपानी आयोजनाको प्रस्ताव पेस भएको छ । सङ्घीय सरकारले पेस गरेको प्रस्ताव स्वीकृत भए पनि मेयर साम्पाङले भने आयोजनाका विषयमा असहमति जनाएका छन् ।

सङ्घीय सरकारले पेस गरेको प्रस्ताव अनुसार सो खानेपानी आयोजना ६ अर्बको लागतमा निर्माण हुने छ । आयोजनाको लागत मध्ये ८५ प्रतिशत रकम सङ्घीय सरकारले धरान उप महानगरपालिकालाई अनुदान दिने छ । बाँकी १५ प्रतिशत भने धरान उपमहानगरले लागत साझेदारी गर्नु पर्ने छ ।

धरानका मेयर साम्पाङ लामो समयदेखि सप्तकोशीको पानी धरान ल्याउनु पार्ने माग राख्दै अभियान चलाइरहेका छन् । उनी मेयर हुनुभन्दा अगाडि बाटै सप्तकोशीको पानी धरान ल्याए मात्रै धरानमा देखिएको खानेपानीको दिगो समाधान हुनु पर्ने माग राख्दै आएका थिए ।

उनले सप्तकोशीको पानी धरान ल्याउन अभियान चलाएका साम्पाङ्गको मुद्दामा काकाकुल धराने जनता सहमत भएका थिए । उनको सोही मुद्दाका आधारमा स्वतन्त्र रूपमा उम्मेदवार भएका उनले धराने जनताको मत पाएको देखिन्छ ।

खानेपानीको दिगो समाधानका लागि उनले चालेको अभियानबाटै मेयरमा निर्वाचित भएपछि पनि उनी खानेपानीको लागि विभिन्न खाले अभियान चलाइरहेका छन् । उनले श्रमदानबाट ४१ किलोमिटर पर कोकाह खोलाबाट धरानमा खानेपानी झारेका छन् ।

यस्तै स्थानीय खोला र मुहानबाट समेत धरानको खानेपानीको मूल श्रोतमा उनले पानी खसालेका छन् । उनी ८१ साल माघमा रित्तो गाग्री बोकेर सप्तकोशीको पानी ल्याउन बजेट माग राख्दै सिंहदरबार समेत पुगेका थिए ।

धरानको खानेपानी समस्या दिगो रूपमा समाधानको माग राख्दै सिंह दरबार पुगेका मेयर साम्पाङले प्रधानमन्त्री र खानेपानी मन्त्रीसँग भेट गरेका थिए । उनले भेटमा धरानमा देखिएको खानेपानीको दिगो समाधानका लागि सप्तकोशीबाट पानी ल्याउनु पर्ने माग राखेका थिए ।

आयोजना अगाडि बढेपछि सम्पर्क बाहिर

मेयरको मागका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा एसियाली विकास बैकमा कोशी खानेपानी आयोजनाको प्रस्ताव पेस भई पास भएको छ । प्रस्ताव पास भएपछि भने मेयर साम्पाङ खानेपानी मन्त्रालयको सम्पर्क भन्दा बाहिर रहेका छन् ।

खानेपानी मन्त्री प्रदीप यादवले पटक पटक फोन गर्दा पनि सम्पर्कमा नआए पछि मन्त्री यादव शुक्रवार धरान आएका थिए ।

धरानमा आउँदा पनि मेयरले भेट नदिएपछि यादव उद्योग वाणिज्य सङ्घको सभा हलमा कार्यक्रम गरेर फर्किएका छन् । कार्यक्रममा मेयर बाहेक उप मेयर सहित अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो । सो कार्यक्रममा मन्त्री यादवले मेयरका कारण कोशी खानेपानी आयोजनाको काम अन्यौलता परेको बताएका थिए ।

मन्त्री यादवले ले प्रधानमन्त्रीसमेतको पहलमा एडीबीसँगको सहकार्यमा ६ अर्ब रुपैयाँ रकम विनियोजन गरी धरानवासीलाई खानेपानी समस्याबाट मुक्त गराउन सङ्घीय सरकारले आयोजनाको काम अगाडि बढाउन खोजेको बताए । उनले सो आयोजना सम्पन्न भए दैनिक ४ करोड ८४ लाख लिटर पानी धरान आउने बताए ।

सरकारले धरानको खानेपानी समस्या समाधान गर्न पहल गरे पनि मेयर भागेको बताए ।

उनले भने, ‘धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लाई नमस्कार गर्दै किस्तीमा पैसा बोकेर पैसा लिनुस्, भनेर खोज्दै धरान आइपुग्दा समेत इन्कार गरेका छन् मैले मात्र होइन मन्त्रालयका महानिर्देशक, आयोजना निर्देशक र कर्मचारीले समेत फोन गरे तर मेयर सावले फोन उठाउनु भएन ।’

मन्त्री यादवले भदौ ७ गतेभित्र खानेपानी आयोजनाको टेन्डर आह्वान गरेर काम सुरु गर्ने तय भएको बताए । उनले भने, ‘सबै प्रक्रिया पूरा भएपछि मेयर साम्पाङको सहमति नहुँदा काम अगाडि बढाउन सकिएको छैन ।’ मेयर साम्पाङले नै रित्तो गाग्री बोकेर सिंहदरबारमा गरेको प्रदर्शनपछि सरकारले यो आयोजना अघि बढाएको थियो ।

यसका लागि प्रस्ताव स्वीकृत भएपछि मन्त्रालयले असार १७ गते आयोजनाका लागि जग्गाको स्वामित्व माग गर्दै धरान उप महानगरमा पत्र पठाएको थियो । सो पत्रको जवाफ असार १९ गते मेयर साम्पाङले मन्त्रालयलाई पठाउँदै ऋण नलिने बताएका थिए । यसपछि कोशी खानेपानी आयोजनाको प्रक्रिया अवरुद्ध बनेको छ ।

मेयर भन्छन्- ऋण लिने कुरै हुँदैन

धरानका मेयर हर्क साम्पाङले विदेशी ऋणमा बन्ने खानेपानी आयोजना स्वीकार नगर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै धरानेलाई ऋणको भारी बोकाउन आफू मेयर नभएको बताएका छन् । उनले सामाजिक सञ्जालमा आज मात्रै लेखेका छन् ‘जसले जे बोल्नु छ बोल्दा हुन्छ । लोकतन्त्र बोल्नकै लागि हो । तर विदेशी ऋण ल्याई ल्याई पानी खाइन्नँ । कुरा त्यति ।

उनले खानेपानीको लागि सरकारले बजेट नहालेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमै सरकारले आयोजना बनाउनु पर्ने बताउँदै आएका छन् ।

उनी लेख्छन्, ‘सबै पार्टी र जनप्रतिनिधिहरूले एडिबीको को ऋण लिने कि लिने भनेर रोइलो गरिराछन् । म एक्लो उभिएर भन्दै छु लिनु हुन्न विदेशी ऋण । के भन्नु हुन्छ जनता रु तपाईँ कुन पक्षमा, मेरो कि उनीहरूको ?

उनले कोशी खानेपानी आयोजनाको बारेमा कुरा गर्न मन्त्री आउँदा भेट नदिएको स्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘हिजो म दिन भरी धरान ५ र १५ को बस्तीलाई जोगाउन श्रमदान गर्दै थिएँ । उद्योग वाणिज्य संघमा विदेशी ऋण लिनै पर्छ भन्दै कुर्लँदै धरानमा केही भएकै छैन, मेयरले धरानको बेइज्जत गरो भन्दै भएभरका पार्टीकाहरु भेटेर मलाई सरापेछन् । के भन्नु हुन्छ जनता बोल्न चाहन्छन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *