अनिल सिंहको चिन्ताजनक अभिव्यक्ति: म हाइ डिप्रेसनमा छु, आत्महत्या गर्न सक्छु

काठमाडौं । चर्चित गायक अनिल सिंहले एक भिडियो सार्वजनिक गर्दै आफूलाई म्युजिक भिडियो र म्युजिक नेपालले मर्न बाध्य पारिरहेको आरोप लगाएका छन् । उनले म्युजिक नेपाल र म्युजिक डटकमका कारण आफू ठूलो डिप्रेसनमा रहेको बताएका छन् ।

फेसबुकमा एक छोटो भिडियो (रिल्स) सार्वजनिक गर्दै उनले भनेका छन्, ‘राजेश वंशलका कारण आत्महत्या गर्दैछु के दाइ । म हाइ डिप्रेसनमा छु । कुनै पनि बेला आत्महत्या गर्न सक्नेवाला छु । अब मेरो लागि जिन्दगीमा केही बाँकी छैन । राजेश वंशलले मलाई मर्न बाध्य बनाएको छ ।’

भिडियोमा स्पष्ट रूपमा विवादको सन्दर्भ नखुलाइएको भए पनि म्युजिक नेपाल र म्युजिक डटकमले सिंहलाई रोयल्टी नदिइएको बुझिन्छ । सिंहले ‘एग्रिमेन्ट मात्रै देखाएर भएन नि’ समेत भनेका छन् । राजेश वंशल म्युजिक भिडियो डटकमका सञ्चालक हुन् ।

सिंहले भिडियो क्याप्सनमा म्युजिक नेपाल र म्युजिक डटकमलाई मेन्सन गर्दै लेखेका छन्, ‘तिमीहरूले मलाई किन मर्न बाध्य पार्दै छौ ? किन मेरो करियर र सांगीतिक जीवन बर्बाद पार्दै छौ ? किन…? किन… ? किन…?’

सिंह एक समयका चर्चित पप गायक हुन् । उनका ‘इन्जिन गाडीमा’, ‘आइ लभ यु’ जस्ता सुपरहिट गीतहरू छन् । उनका अधिकांश हिट गीतहरू म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा छन् । म्युजिक डटकमले म्युजिक नेपाललाई उनका गीतहरू दिएका बुझिएको छ ।

अनिल सिंहले रिल्सको कमेन्ट बक्समा थप लेखेका छन्, ‘म्युजिक नेपाल र म्युजिक डटकम सबै माफिया हुन् । यिनीहरूलाई विश्वास नगर्नू १ म जम्माजम्मी न्याय चाहन्छु ।’

Comments

One response to “अनिल सिंहको चिन्ताजनक अभिव्यक्ति: म हाइ डिप्रेसनमा छु, आत्महत्या गर्न सक्छु”

  1. MR. LAMA Avatar
    MR. LAMA

    kina marnu bro tyo chor music nepal lai kanuni karbahi halnu parchha ni bro…

Leave a Reply

Your email address will not be published. Required fields are marked *