रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विकास योजना जनताले अनुभव गर्ने गरी सञ्चालन गर्न निर्देशन दिएका छन् ।
पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावकारितामा जोड दिएर ठेक्का प्रक्रिया छिटो सक्न र कामको गुणस्तरमा कुनै सम्झौता नगर्न उनले निर्देशन दिए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठक तथा आर्थिक वर्ष २०८१/०८२ को प्रगति समीक्षा कार्यक्रमलाई सोमबार राप्ती उपत्यका देउखुरीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पारदर्शिता, कार्यान्वयन क्षमता र योजनाको प्रभावकारितामा जोड दिएका हुन् । उनले ढलान सडकलाई प्राथमिकता दिन र जनसरोकारका योजनालाई जोड दिन आग्रह गरेका छन् ।
‘विकासे आयोजनाका हरेक योजनाको समयमै कार्यान्वयन र पारदर्शी ढंगले फरफारक गराउनुहोला,’ उनले भने, ‘देखावटीभन्दा जनघनत्वका आधारमा योजना छनोट गरेर दीर्घकालीन उपयोगिता र जनसरोकारको महत्व देखिने गरी काम गर्नुस् ।’
समपूरक, विशेष र सशर्त अनुदानको बजेट छिटो कार्यान्वयनमा ल्याई ठेक्का प्रक्रिया छिटो टुङ्ग्याउन निर्देशन दिँदै बहुवर्षीय योजनालाई प्राथमिकता दिनुपर्ने उनले धारणा राखे । कालोपत्रभन्दा प्राविधिक दृष्टिले बलियो ढलान सडक उपयुक्त देखिएको अवस्थालाई ध्यानमा राखी ढलान सडकलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।
भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले सरकारले बनाएको सडक गुरुयोजना र बजेटका आधारमा काम अघि बढाइने बताए ।

Leave a Reply