रुपन्देही । सरकार गठन भएको एक वर्ष ५ दिनपछि लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीमण्डललाई पूर्णता दिएका छन् ।
एक वर्षसम्म आफैले सम्हालेर राखेको युवा तथा खेलकुद मन्त्रालयमा लोसपा संसदीय दलका नेता सन्तोष पाण्डेयलाई मुख्यमन्त्री आचार्यले नियुक्त गरेका हुन् ।
आइतबार मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरसमक्ष पाण्डेलाई युवा तथा खेलकुद मन्त्री नियुक्तिका लागि सिफारिस गरेका हुन् ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम २०८१ साउन ९ गते गठन गरिएको र पछिल्लो पटक असार ७ गते पुनर्गठित मन्त्रिपरिषद्मा पाण्डेलाई युवा तथा खेलकुद मन्त्रीको रूपमा नियुक्त गर्न सिफारिस गरेको जनाइएको छ ।
पाण्डेले सोमबार दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालय बुटवलमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ । मुख्यमन्त्रीसहित हाल १२ सदस्यीय रहेको प्रदेश मन्त्रिपरिषद्मा रिक्त रहेको युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री स्वयम्ले सम्हाल्दै आएका थिए । वर्तमान मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित ५ जना मन्त्री एमालेबाट, ५ जना कांग्रेसबाट र जनता समाजवादी पार्टीबाट १ जना मन्त्री रहेका छन् ।
गतवर्ष साउन ७ गते मुख्यमन्त्री बनेका आचार्यसहित एमाले–कांग्रेसका ८ मन्त्रीहरुले साउन ९ गते पद तथा गोपनियताको शपथ लिएका थिए । १२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय लिने समझदारी भएपनि कांग्रेसमा विवाद भएपछि अन्तिममा जन्मजय तिमिलसिनाको नाम काटिएको थियो ।
साउन ९ मा एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा मन्त्री बनेका थिए । यसैगरी नेपाली कांग्रेसबाट ४ मन्त्रीले शपथ लिएका थिए।
गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी मन्त्री बनेका थिए । पछि विवादमा परेपछि मन्त्री बादशाह कुर्मीले राजीनामा दिएपछि खाली भएको थियो ।
मुख्यमन्त्री आचार्यले पहिलोपटक मन्त्रीमण्डल बनेको तीन महिनापछि बर्दियाबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास मन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवारलाई वन तथा वातावरण मन्त्री र बाँकेका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानूनमन्त्री बनाएका थिए ।
लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा अहिलेको सरकार बनेको थियो तर पछि यहाँ रहेका लोसपा, नाउपा, जनमत, जसपा, जसपा नेपालले समर्थन दिएका हुन् । तर केही समयअघि जसपाले समर्थन फिर्ता लिएको छ ।
८७ सदस्यीय प्रदेश सभामा अब माओवादीका १०, नेकपा एस, जनमोर्चा, जसपा र स्वतन्त्रका एक एक गरी १४ सांसद मात्रै विपक्षमा रहेका छन् । अब नाउपाका ४ सांसद पनि विपक्षमा गएपछि १८ सांसद विपक्षमा रहने भएका हुन् ।
सरकार गठनका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्तिमध्येबाट एक जना मन्त्री बन्ने भए पनि कुन पार्टीबाट पहिला भन्ने टुंगो नलाग्दा मन्त्रिपरिषद् अहिलेसम्म अधुरो रहेको थियो । लुम्बिनीका सत्तापक्षीय दलले नागरिक उन्मुक्तिलाई पहिलो चरणमै मन्त्री बनाउने प्रयास गरेपनि लामो समय रोकेर अन्यौलमा पारिएको नाउपा संसदीय दलका नेता धर्म चौधरीले बताए । ‘यति लामो समय हामीलाई अड्काएर राखियो अहिले त हामी विपक्षमा जाने भनिसकेका थियौं, तर एक वर्ष करिब हामीलाई दिने मन्त्रालय भनेर रोकेर राखियो, कुनै निर्णय गरिएन, यो एमालेकांग्रेसको चरित्रजस्तै भयो’ उनले भने ।
अहिले युवा तथा खेलकुद मन्त्री बनेका सन्तोष पाण्डेय यसअघि प्रदेशकै शक्तिशाली मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्री )पछि नाम फेरेर गृहमन्त्री उनैले बनाएको) बनेका थिए । सरकारमा उनले लामो समय यही मन्त्रालय मिलाउन हारगुहार गरेपनि नपाएपछि यो मन्त्रालय लिन राजी भएका थिए ।
सरकार गठनको सुरुवातदेखि सत्तापक्षमा रहेका पाण्डेसहित लोसपाका ३ सांसद प्रदेश सभामा असार १९ गते बजेट पास गर्ने समयमा सबै विपक्षी दलले बहिस्कार गरेर हिंडेपछि नाटकीय रुपमा विपक्षमा गएर बजेट पास गराएका थिए । सोही दिन नै धेरैले उनलाई मन्त्रीसँग बजेट पास गर्ने सहमति गरेको आंकलन गरेका थिए ।

Leave a Reply