लुम्बिनी विश्वविद्यालयकै कार्यक्रममा भारतीय प्रोफेसरले ‘भारतको कपिलवस्तु’को प्रचार गरेपछि विवाद

रुपन्देही । भारतले लुम्बिनी र कपिलवस्तुको नाममा गलत प्रचार गरेको विषय नयाँ होइन तर नेपालको तर्फबाट त्यसको संस्थागत प्रतिवाद कम भएको छ । भगवान गौतमबुद्ध लुम्बिनीमा जन्मेको र २९ वर्ष कपिलवस्तुको तिलौराकोटमा बिताएको विश्वले नै प्रमाणित गरेको विषय हो ।

सिद्धार्थ गौतमकी आमा मायादेवी रुपन्देहीको देवदहस्थित माइतीबाट कपिलवस्तु घरमा जाँदै गरेको समयमा अहिलेको लुम्बिनीमा उनको जन्म भएको विश्वका धेरै इतिहासमा उल्लेख गरिएको छ तर भारतले यसलाई माथ गर्नेगरी उत्तर प्रदेशकै सिमानामा नक्कली लुम्बिनी, नक्कली कपिलवस्तु र नक्कली तिलौराकोट बनाएर त्यहाँ आउने पर्यटकलाई गलत प्रचार गरिरहेको छ । तर नेपालबाट त्यसको प्रतिवाद कम भएको छ ।

विभिन्न राजनीतिक दलहरुले आफ्ना आन्तरिक फोरममा त्यो विषय फाट्टफुट्ट बोलेपनि सरकारमा गएको बेला र जिम्मेवारीमा रहेको बेला यसको तथ्यमा टेकेर बोल्नसकेका छैनन् । केही दिनअघि कपिलवस्तुको तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्न अन्तिम तयारीको समयमा भारतीय दवावमा युनेस्को र त्यसको प्राविधिक सल्लाहकार इकोमसका प्रतिनिधिलाई प्रभावित गरेर रोकिएको ताजा उदाहरण छ ।

अहिले बौद्ध शिक्षा अध्ययनका लागि विश्वको ध्यान केन्द्रीत गरेको छ लुम्बिनी विश्वविद्यालयले । यसको मुख्य कार्यालय नै लुम्बिनीमा छ । यहाँ विश्वका धेरै देशका विश्वविद्यालयहरुले सहकार्य गरेर अघि बढिरहेका छन् भारतका पनि विभिन्न विश्वविद्यालयले यहाँ सहकार्य गरेका छन् तर भारतीय विश्वविद्यालयका जिम्मेवार व्यक्तिहरुले नै लुम्बिनी र कपिलवस्तुबारे गलत प्रचार गरिरहेको रहस्य आइतबार लुम्बिनीमा आयोजित कार्यक्रममा देखियो ।

एशिया फाउन्डेसनको सहयोगमा गरिने यस्ता कार्यक्रममा भारतीय दाता नै बलियो भएका कारण त्यसको विरोध हुन नसकेको सहभागीहरुले गुनासो गरे ।

नेपालले बौद्ध शिक्षा अध्यापन हुने लुम्बिनी बौद्ध विश्वविद्यालय खोलेपछि भारतले सीमावर्ती क्षेत्रमै सिद्वार्थनगर विश्वविद्यालय संचालन गरेको छ । यही विश्वविद्यालयले लुम्बिनी, कपिलवस्तुबारे गलत प्रचार गरिरहेका छ ।

आज लुम्बिनी बौद्ध विश्वविद्यालयले आयोजना गरेको कुटनीति र वौद्ध शिक्षाः विश्व शान्ति र दीगो विकासका लागि एक मार्ग विषयक अन्तर्राष्ट्रिय संगोष्ठीमा विशेष अतिथिका रुपमा रहेकी सिद्वार्थनगर विश्वविद्यालय भारतका उपकुलपति प्रोफेसर कविता शाहले आफ्नो ठेगाना बताउने क्रममा कपिलवस्तु भनेर परिचय दिएकी थिइन् । उनले सम्बोधनकै क्रममा पटक पटक भारतको कपिलवस्तु र तिलौराकोट भनेर सम्बोधन गरेकी थिइन् ।

यहाँ भारत, नेपालसहित विश्वका विभिन्न देशमा रहेका विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, विद्यार्थी सहभागी थिए । उनले यसरी सम्बोधन गरेपछि पनि धेरै वक्ताहरुले उनको खण्डन गर्ने हिम्मत गरेनन् तर भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले आफ्नो मन्तव्यकै क्रममा विरोध गरे । कार्यक्रमा सहभागी रहेका धेरैले त्यो सम्बोधनकै क्रममा खासखुस गरे, केहीले बाहिर निस्केपछि कडा विरोध गरेका छन् । भारतीय कुप्रचारप्रति पूर्व उपाध्यायले भने मन्चबाटै प्रतिरोध गरेका हुन् ।

नेपालको कपिलवस्तु हुँदाहुँदै भारतले केही वर्ष सिद्वार्थनगरलाई कपिलवस्तु भनेर नामाकरण गर्नुबाट अनावश्यक भ्रम सृजना भएको बताउँदै यस विषयमा विश्वविद्यालयहरुले अनुसन्धान गरी स्पष्ट पार्न पनि अनुरोध गरे ।

उनले उपकुलपति शाहको जवाफमा खुलेरै जवाफ दिएपछि सहभागीहरुले ताली बजाएर उनको सम्मान गरेका थिए । भारतीय राजनीतिको अध्ययन गरेका उपाध्यायले नेपालको कपिलवस्तुमा कनकमनि र क्रकुच्छन्द वुद्वकोसमेत जन्म भएकोले तिनकोसमेत प्रचारमा जोड दिए ।

बुद्धको जन्मस्थल लुम्बिनी र कपिलवस्तुका बारेमा अनावश्यक विवाद तथा भ्रम सिर्जना हुनेगरी गतिविधि नगर्न बौद्ध दर्शनको अध्ययनरअध्यापन गराउने भारतीय प्रोफेसरहरुलाई पूर्वराजदूत उपाध्यायले आग्रह गरे ।

‘आज कूटनीतिमा बौद्ध शिक्षा, शान्ति र दिगो विकासको पथ विषयक अन्तर्राष्ट्रियस्तरको विशेष कार्यक्रममा उपाध्यायले यस्तो विषय बोल्नुलाई गम्भीर ढंगले लिनुपर्दछ, यसले राम्रो सन्देश गएको छैन’, उनले भने ।

कविताजीले भन्नुभयो, नेपालको कपिलवस्तु अहिलेको होइन, उता सुरु भएको कपिलवस्तु धेरै पछि बनेको हो, भनिएको हो, हामीले विरोध गरेका छैनौ तर आध्यामिकता र पवित्रतामा आँच आउन दिनेगरी बोल्नुहुँदैन, लुम्बिनीमा द्वन्द्व सृजना गर्ने काम नहोस्, यसले बुद्धको सिद्धान्तमा असर पार्नसक्छ, इतिहास तोडमोड गर्ने छुट कसैलाई छैन’, उनले भने ।

यो कार्यक्रममा भारतीय राजदूतावासका फस्ट सेक्रेटरी वशिष्ठ नन्दन, भारतमा रहेका नालान्द विश्वविद्यालय र नेपालको सीमावर्ती क्षेत्रमा रहेको सिद्धार्थ विश्वविद्यालयका उपकुलपति र प्राध्यापकहरूसहित नेपालका सातवटा विश्वविद्यालयका उपकुलपति एवम् प्रोफेसरहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, बौद्ध दर्शनको बारेमा सोध गरिरहेका र अध्ययन गरिरहेका नेपाल र भारतका विद्यार्थीसमेत सहभागी छन् । सोही विशेष र महत्त्वपूर्ण समारोहमा भारतका लागि नेपाली पूर्व राजदूत उपाध्यायले रामायण र बौद्ध सर्किटमार्फत दुई मुलुक नेपाल९भारतको धार्मिक, सांस्कृतिक र आध्यात्मिक सम्बन्धलाई मजबुत बनाउन सकिने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अवधारणालाई साकार पार्न जरुरी रहेकोमा जोड दिए ।

नेपाल भारतका एक दर्जन विश्वविद्यालयका पदाधिकारी तथा प्रोफेसरहरु, कुटनीतिक क्षेत्रका व्यक्तित्वहरु सम्मिलित गोष्ठीमा विभिन्न देशको तर्फबाट एक दर्जन कार्यपत्र रहेको यो कार्यक्रममा सहभागी प्रशिक्षक डा. कुन्दन अर्यालले भारतीय पक्षबाट यसको गलत प्रचार भएको जनाएका छन् ।

कार्यक्रममा सहभागी विश्लेषक डिआर घिमिरेले लुम्बिनी र कपिलवस्तुलाई कमजोर बनाउन इतिहासलाई बङ्ग्याउने र आफ्नो पक्षमा पार्ने भारतीयहरुको गलत सोच रहेपनि नेपालको तर्फबाट बलियो प्रतिरोध नभएको बताए ।

‘आज भारतीय विश्वविद्यालयका उपकुलपतिले यति धेरै बौद्धिक क्षेत्रको सहभागितामा भएको कार्यक्रममा गलत तथ्य राखेर बोलिन् तर धेरै नेपाली वक्ताले त्यसको विरोधसम्म गरेनन्, हामी हलमा रहेका धेरै जनाले यो गलत भयो, यो विषय भारतीयले बुझ्नेगरी उठाउनुपर्छ भनेर छलफल नै गर्यौ अब यसलाई नीतिगत तहमै बसेकाहरुको ध्यानाकर्षण हुनेगरी उठाउनुपर्छ’, उनले भने ।

कपिलवस्तुको इतिहासका बारेमा लामो समयदेखि अध्ययन गरिरहेका अग्रज पत्रकार नारायणप्रसाद पौडेलले यो विषयप्रति आक्रोश पोखेका छन् ।

‘कपिलवस्तुका बारेमा नेपालले र लुम्बिनीका बारेमा भारतले विवाद नगर्ने अलिखित समझदारी गरेका छन् दल र शाषकले। त्यसैले गतसाल दिल्लीमा भएको युनेस्को सम्पदा समितिको बैठकमा भारतले लुम्बिनीलाई खतराको सूचीमा नराख्न आग्रह गरेर एक वर्ष म्याद दिन लगाएको थियो। यसपाली तिलौराकोट मात्रै भनेर, कपिलवस्तु र लुम्बिनीसँग नजोडेर विश्वसम्पदा सूचीमा समावेश गर्न खोजेको भए पर्थ्याे ।

भारतले पनि सहयोग गर्थ्याे । यो कुरा त्यो गोष्ठीमा उपस्थित सबैलाई थाहा छ, तर बोल्दा साँचो भन्न सक्दैनन्। अनि कार्यक्रममा पनि त्यस्तै तोकिएका व्यक्तिले प्रतिनिधित्व गर्छन्। बाहिर हल्ला एउटा, भित्री सल्लाह र सहमति अर्को गर्नेले बिगार्ने चलनै चुनौती बनेको छ’, उनले भने ।

Comments

One response to “लुम्बिनी विश्वविद्यालयकै कार्यक्रममा भारतीय प्रोफेसरले ‘भारतको कपिलवस्तु’को प्रचार गरेपछि विवाद”

  1. ksp pyl Avatar
    ksp pyl

    भारत भनेको दुष्ट देश हो । यसले कहिल्यै नेपालको हित चाहादैन । बरू अहित मात्र चाहान्छ । पोखरा एयरपोर्टबाट बाराणसी उडान गर्छु भन्दा बुद्व एयरलाई अनुमति दिदैन । भैरहवा विमननस्थल चलाउन एयर रूट देउ न भन्दा दिदैन । अनि नेपालमा रहेका भारतले पालेका कुत्ताहरू चाहिँ पोखरा र भैरहवा एयरपोर्टको बारेमा गलत प्रचारमा व्यस्त छन् । भारतलाई दबाब पुग्ने गरि एयर रूट नदिएको विषयमा, उडान अनुमति नदिएको विषयमा कुरा उठाउदैनन। लुम्बिनी त नेपालको होईन भनेर लाजै नमानी दुष्टले उहिल्यैदेखि प्रचार गरिरहेको छ । त्यसैले त ओलिले उत्तरतर्फ पनि सम्बन्ध बढाउँ, सन्तुलन भएपछि हेप्न सक्दैन भनेर पारवहन सन्धि गरेको, कनेक्टिभिटीलाई जोड दिएका हुन् । तिनै भारतले पालेका कुत्ताहरू ओलिको विरोध गर्छन् । चिनतर्फ मात्र पनि भर पर्नु हुदैन । दुवैलाई सन्तुलनमा राख्नु पर्छ । जति भारततर्फमात्र भर परिन्छ उति भारतले हरेक क्षेत्रमा हेप्छ । लुम्बिनीको विषय पनि त्यहि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *