कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाको केन्द्रीय समिति बैठकले तत्काल राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ । अध्यक्ष रन्जिता श्रेष्ठलाई शुक्रवार बहुमत केन्द्रीय सदस्यहरूले केन्द्रीय समितिको बैठक बोलाउन २४ घण्टे अल्टिमेटम दिएका थिए ।
त्यो समयसम्म पनि बैठक नबोलाएपछि आइतबार बहुमत केन्द्रीय सदस्यहरूको बैठक ज्येष्ठ सदस्य दामोदर पण्डितको अध्यक्षतामा बसेको हो ।
बैठकले अध्यक्ष श्रेष्ठप्रति खेद प्रकट गरेको छ । आफूहरूले बोलाउन आग्रह गर्दा पनि वास्ता नगरेको भन्दै अध्यक्ष श्रेष्ठप्रति खेद प्रकट गरिएको छ ।
त्यस्तै, राजनीतिक गतिविधिको कार्यदिशा, भावी रणनीति, सङ्गठनात्मक संरचना निर्माण, केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँड, रुपन्देही ३ को उपनिर्वाचन लगायतको छलफलको लागि १४ गते काठमाडौँस्थित बानेश्वरमा ११ बजे राष्ट्रिय भेला आह्वान गर्ने निर्णय गरिएको छ ।
केन्द्रीय सदस्य रामलाल डगौराको अध्यक्षतामा राष्ट्रिय भेला आह्वान गर्ने निर्णय गरिएको छ । बैठकमा दलका संस्थापक केन्द्रीय सदस्यहरू, निर्वाचित जनप्रतिनिधि तथा सांसदहरूलाई बोलाउने निर्णय गरिएको छ ।
उपनिर्वाचनको उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने अधिकार राष्ट्रिय भेला संयोजक रामलाल डगौरालाई दिने निर्णय समेत गरिएको छ ।
नाउपामा बहुमत केन्द्रीय सदस्यहरूले राष्ट्रिय भेलादेखि उपनिर्वाचनमा नाउपाको उम्मेदवारलाई टिकट दिनेसम्मको अधिकार प्रत्यायोजन गरेको बैठकमा अध्यक्ष रन्जिता श्रेष्ठ र उनले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका शिव बास्तोला भने सहभागी थिएनन् । बैठकमा संस्थापक २१ मध्ये १३ जना सहभागी थिए ।


Leave a Reply