काठमाडौं । जनस्वास्थ्यकर्मी तथा युवा समाजसेवी विशाल विश्वकर्माले वर्षौंदेखि पालेकाे कपाल क्यान्सर पीडितहरुकाे लागि दान गरेका छन् । ‘सेवा नै सर्वोच्च धर्म।’ यस मूल मर्मलाई आत्मसात् गर्दै आएका विश्वकर्माले आफ्नाे लामो कपाल क्यान्सर पीडितहरुको लागि दान गरेका हुन् ।
उनले आज आफ्नो वर्षौंदेखिको लामो कपाल क्यान्सर पीडित महिलालाई नेपाल क्यान्सर अस्पताल तथा रिसच सेन्टरमा अवस्थित नेपाल क्यान्सर सहयोग समुह (ललितपुर)मा दान गरेका हुन्।
कपाल दान गरेर मानवता, सहानुभूति र सामाजिक जिम्मेवारीको एउटा अनुपम उदाहरण प्रस्तुत गरेका छन्। यो केवल कपालको भौतिक दान मात्र नभई क्यान्सरसँग जुधिरहेकी एक महिलाको आत्मबल, आत्मसम्मान र मुस्कान फर्काउने एउटा संवेदनशील प्रयास भएको विश्वकर्मा बताउँछन् ।
उनी भन्छन्,‘महिलाका लागि कपाल केवल टाउको ढाक्ने माध्यम मात्र होइन, यो उनको सौन्दर्य, आत्मविश्वास र सामाजिक पहिचानको अमूल्य प्रतीक हो। जब कुनै महिलाको कपाल झर्छ, चाहे त्यो हर्मोनको गडबडी, पोषणको कमी वा कुनै गम्भीर रोगका कारण होस्, यसले उनको मनमा गहिरो पीडा र मानसिक संवेदनशीलता उत्पन्न गराउँछ।’
पुरुषको तुलनामा महिलामा कपाल झर्ने समस्यालाई अस्वाभाविक र चिन्ताजनक मानिने हुँदा छोरीहरूमा यसको असर अझ बढी पर्छ। ‘यहीँ पुरुषको महत्वपूर्ण भूमिका सुरु हुन्छ । हामीले हरेक महिना कपाल फाल्नुको सट्टा केही वर्ष पालेर क्यान्सर पीडित दिदीबहिनीहरूलाई दान गर्न सके, यो उनीहरूको लागि आशाको जीवन्त उपहार बन्नेछ, जुन शारीरिक अंगदानभन्दा कम छैन।’ उनी थप्छन् ।
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क लेखा कमिटीका अध्यक्षसमेत रहेका विश्वकर्माले ‘सेवा भाषण मात्र होइन, अभ्यास पनि हो’ भन्ने व्यवहारिक अवधारणा बनाएका छन् ।
दैलेखबाट राजधानी काठमाडौँ आइपुगेका विशालको प्रारम्भिक सपना चिकित्सक बन्ने नै थियो। तर, राजधानीमा बस्दा देश नै बिरामी र जनता उपेक्षित देखेका उनले आफ्नो मार्ग परिवर्तन गर्दै जनस्वास्थ्य सेवा र समाजसेवाको सहयात्रा रोजे। लिटिल बुद्ध कलेज अफ हेल्थ साइन्समा जनस्वास्थ्य विषय अध्ययन गरेर उनले आफ्नो शैक्षिक ज्ञानलाई समाजको हितमा रूपान्तरण गर्ने अभ्यास गरिरहेका छन्।
विशालका अनुसार कपाल दान क्यान्सरको प्रत्यक्ष उपचार होइन, तर यसले पीडितको आत्मबल बढाएर उपचार प्रक्रियामा सकारात्मक प्रभाव पार्छ। यसले स्वास्थ्य केवल अस्पतालमा सीमित नभई पारिवारिक, सामाजिक सहानुभूति र सहयोग पनि उपचारको अनिवार्य पक्ष हुनुपर्छ भन्ने सन्देश दिन्छ।
विश्वका विभिन्न कपाल दान अभियानहरूले आत्मबल अभिवृद्धिको सशक्त सन्देश फैलाइरहेका छन्। नेपालमा विशाल विश्वकर्मा जस्ता युवाहरूको यस प्रकारको कदमले सामाजिक चेतनाको लहर सिर्जना गर्ने सम्भावना प्रमाणित भएको छ।
विश्वकर्मा भन्छन्,‘हामी सबैसँग केही न केही दिन, गर्न सकिने क्षमता हुन्छ। कसैले रक्तदान गर्छ, कसैले शिक्षादान, मैले पनि गर्दै आएको छु, आज कपाल दान गरें। यदि मेरो यो सानो कार्यले एकजना क्यान्सर पीडित महिलाको आत्मबल फर्काउन सघाउँछ भने, त्यही नै मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि हुने मेरो विश्वास छ।’
विश्वकर्माको यो अभियान सामान्य देखिए पनि गहिरो सामाजिक सन्देश बोकेको छ। कपाल पाल्ने र गुमाएका महिलाहरूका लागि यो अभियानले कपालको मूल्य र आत्मबलबीचको सम्बन्धलाई अझै गहिरो रूपमा महसुस गराउने काम गरेको छ।
‘त्यस्तै पुरुषहरूका लागि यसले कपाल दानसम्बन्धी दृष्टिकोणलाई पुनः परिभाषित गर्न सक्ने शक्ति राख्छ। यो अभियान साहस, संवेदनशीलता, सहानुभूति र सेवा भावनाको प्रतीक बनेको छ। नेपालका युवाहरूका लागि यो अभियानको मूल सन्देश छोटो कपालबाट पनि ठूलो चेतना फैलाउन सकिन्छ।’ उनी भन्छन् ।

Leave a Reply