नेपालका बसील त्वायनाले विश्व सभात च्याम्पियनशिपमा रजत पदक जिते

काठमाडौं । उज्बेकिस्तानको ताशकेंटमा जुलाई २३ देखि २७ सम्म सम्पन्न वर्ल्ड यूथ सभात च्याम्पियनशिपमा नेपालका बसील त्वायना रजत पदक जित्न सफल भएका छन्।

८०—८५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका बसीलले लीग चरणमा आयोजक देश उज्बेकिस्तानका खेलाडी जिदिरोभ मोहम्मदलाई पराजित गर्दै ३ अंक जोडे। त्यसपछि अज़रबैजानका मेहमेद सुलेमनोभमाथि जित निकाल्दै थप ३ अंक बटुलेका बसीलले फ्रान्सका मलभिन पेरीईसँगको खेलमा वाकओभर पाएपछि कुल ९ अंकसहित फाइनलमा प्रवेश गरेका थिए।

फाइनल खेलमा भने फ्रान्सकै मलभिन पेरीईसँग भिडेका बसील तीव्र प्रतिस्पर्धात्मक प्रदर्शनका बाबजुद पराजित भई रजत पदकमा चित्त बुझाउनुपरेको थियो।

नेपालका लागि यो उपलब्धिलाई ऐतिहासिक मानेको नेपाल सभात संघका अध्यक्ष, मुख्य प्रशिक्षक तथा एशियन सभात कन्फिडेरेशनका कार्यकारी सदस्य लक्ष्मण बस्नेतले भने, ‘सिर्जनशील खेलशैलीका साथ बसीलले सभातको पावर हाउस मानिने देशहरू उज्बेकिस्तान, अज़रबैजानलाई हराउँदै फाइनल पुगे। फ्रान्सका उत्कृष्ट खेलाडीविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि पदक तालिकामा रजतमै रोकिनुपर्‍यो। तर यो नेपालका लागि गर्वको क्षण हो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *