सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोलामा एक जना पुरुषले श्रीमतीको हत्या गरेका छन् । वीरेन्द्रनगर–१३ करेखोलामा बसोबास गर्ने दानसिंह ठाडाले आफ्नै श्रीमतीको हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ४२ वर्षीय दानसिंह ठाडाले आइतबार बिहान १:३० बजेको आसपासमा ४१ वर्षीया रविना थापाको हत्या गरेका हुन्।
हत्यापछि ठाडाले वडा अध्यक्षसँग जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्बर मागेर आफैले श्रीमतीको हत्या गरिसके मलाई पक्राउ गर्न आउनुस् भनेर जानकारी दिएका थिए । त्यसपछि ठाडालाई बिहान २ बजेतिर नियन्त्रणमा लिइएको छ ।
ठाडा अवकाशप्राप्त नेपाली सेनाका पूर्व सैनिक हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधीर राज शाहीका अनुसार ठाडाले श्रीमतीको टाउको र छातीमा चिर्पट प्रहार गरी हत्या गरेको जानकारी दिए ।
अनुमानमा चिर्पट प्रहारबाट हत्या भएको देखिए पनि घटनाको वास्तविक कारण खुल्न बाँकी छ। घटनास्थलमा अहिले पनि अनुसन्धान जारी रहेको उनको भनाइ छ।
घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply