विद्या भण्डारीले देशकै अभिभावक बन्नुको सट्टा पार्टी अध्यक्षमा आँखा गाडेकाले यो निर्णयमा पुग्नुपर्‍यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध हुन निर्देशन दिएका छन् ।

शनिबार साँझ कर्णालीका केन्द्रीय सदस्यहरूलाई सामूहिक भेट दिँदै ओलीले भर्खरै सकिएको केन्द्रीय कमिटी बैठकमा कर्णालीको एकताबद्ध सन्देश प्रवाहमा धन्यवाद दिए ।

३ घण्टा लामो भेटमा ओलीले संघर्षपूर्ण इतिहासमा ठूल्ठूला तुफानहरूको सामना गरेर आएको एमालेका लागि पछिल्लो पटक देखाउन खोजिएको सानो हावाको झोक्काले केही असर नपार्ने प्रष्ट्याए ।

‘सिंगो एमाले पार्टी र हामी नेताहरू संघर्षपूर्ण इतिहासमा ठूला-ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं । अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्यरूपमा समाधान हुन्छ । तपाईँहरू यसमा अल्मलिनु भन्दा आ-आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’

एमालेले पछिल्लो समय लिएको नीति र देश विकासमा पार्टी नेतृत्वमा गठन भएको सरकारले गरेका लोकप्रिय काम देखेर अत्तालिएका शक्तिका कारण पार्टीभित्र अस्थिरताको हावा चलाएको भन्दै ओलीले त्यसको लहडमा सम्मानित व्यक्तित्व ९विद्या भण्डारी० लाग्नु सिंगो एमालेका लागि दुःखद कुरा भएको बताएको बालुवाटार भेटमा सहभागी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीले जानकारी दिए ।

‘पार्टीको महत्वपूर्ण जिम्मेवारीदेखि सिंगो देशकै अविभावकका रूपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं । लामो समय जारी राजनीतिक संघर्षको उपलब्धि संघीय लोकतान्त्रीक गणतन्त्रको प्रतिमाका रूपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ’, ओलीको भनाइ उद्धृत गर्दै बोगटीले सुनाए ।

देशकै अभिभावक बन्नुपर्ने व्यक्तिले पार्टी सदस्यता नवीकरणसँगै पार्टी अध्यक्षको पदमा आँखा गाडिएकै कारण केन्द्रीय कमिटीमार्फत एमाले पछिल्लो निर्णयमा पुग्नुपरेको ओलीले बताएको उनको भनाइ थियो ।

आफूले पार्टीको नेतृत्व सम्हालेको समयदेखि पार्टीलाई कसरी देश र जनताको पक्षमा उभ्याउने ? राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने ? भनेर लागेकै कारण पछिल्लो समय पार्टी र पार्टी नेतृत्व चौतर्फी घेराबन्दीमा परेको ओलीको जिकिर थियो । एमालेको अबको ध्यान ०८४ मा जनादेश प्राप्त पहिलो शक्ति कसरी बन्ने भन्नेमै हुनुपर्नेमा जोड दिएको पनि नेताहरूले बताएका छन् ।

Comments

One response to “विद्या भण्डारीले देशकै अभिभावक बन्नुको सट्टा पार्टी अध्यक्षमा आँखा गाडेकाले यो निर्णयमा पुग्नुपर्‍यो : ओली”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    झेमाले पार्टी एनजिओ आएनजिओ को हण्डी खाएर चलेको पार्टी हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *