रूपन्देही । रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहका नाइके रहेका बालकैदीले आत्महत्या गरेका छन् । शनिबार ती बालकले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाले जनाएका छन् ।
दिउँसो करिब २ बजे सिद्धार्थनगर नगरपालिका–७, तिनतारापथस्थित रहेको बाल सुधार गृहमा २१ वर्षीय सन्दिप गोसाईले भुण्डिएर आत्महत्या गरेको उनले बताए ।
गोसाई रुपन्देहीको सम्मरीमाई गाउँपालिका–४ का हुन् । उनी जवरजस्तीकरणी मुद्दामा कैदी जीवन कटाइरहेका थिए । प्रहरीका अनुसार मृतक गोसाईले विगत १ वर्षदेखि सुधारगृहमा मोनिटर (नाइके)को रुपमा जिम्मेवारी वहन गर्दै भित्रको रेखदेख गर्दै आएका थिए ।
‘दिउँसो सुधारगृहमा रहेका बालकहरुको गन्ती गरी चेकजाँच गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलामको पाइपमा नरिबलको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा गोसाईलाई फेला पारिएको हो’, डीएसपी सापकोटाले भने ।
भैरहवामा दुई बालकको डुबेर मृत्यु
भैरहवाको सिद्धार्थनगर–१ स्थित डण्डा खोलामा डुवेर दुई बालकको मृत्यु भएको छ । शनिबार दिउँसो करिब ३ बजे बालकहरुको डुवेर मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सिद्धार्थनगर–९, भट्टटोल बस्ने चण्डिप्रसाद अर्यालको छोरा १४ वर्षीया प्रज्वल अर्याल र नवलपरासीको बिनय त्रीबेणी गाउँपालिका–६ घर भई हाल सिद्धार्थनगर–७ बस्ने लीलाधर न्यौपानेका छोरा १५ वर्षीया दिनेश न्यौपाने छन् ।
रुपन्देहीका प्रहरीका अनुसार प्रहरीमा बालकहरु पौडी खेल्ने क्रममा हराएको भन्ने सूचनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी गर्दै जाँदा साढे चार बजे डण्डा खोलाको पानीमा डुबेर मृत अवस्थामा उनीहरु फेला परेका थिए ।
पक्लिहवा कृषि क्याम्पस पछाडि रहेको डण्डाखोलामा ५ जना बालकहरु पौडी खेल्न गएका थिए । जिल्ला प्रहरी कार्यालयका डीएसपी गणेश सापकोटाका अनुसार पाँचजना मध्ये ३ जना पौडी खेलेर निस्किएका थिए भने बालकहरु अर्याल र न्यौपाने खोलामा डुबेका थिए ।

Leave a Reply